संकटमा ट्रम्प: अमेरिकी अस्पताल भित्रको कहालीलाग्दो कथा

0

काठमाण्डौं – एउटा इमर्जेन्सी वार्ड । न्यूयोर्कस्थित ब्यस्तमध्येको ब्रुकलिन अस्पताल । त्यहाँ भित्रको चालीस मिनेटको कहाली लाग्दो गतिविधि ।नयाँ ६ जना विमारीलाई इमर्जेन्सी वार्डमा ल्याइन्छ । ती ६ मध्ये चारजनालाई वार्डभित्र प्रवेश गर्नेवित्तिकै ह्दयघात हुन्छ । बाँकी दुईलाई कोरोना संक्रमित भएनभएको जाँच गरिन्छ ।

कोरोना भएको आशंकामा अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना हुन आएका चारजनाको ह्दयघातका कारण अचानक ज्यान गएपछि अस्पताल प्रशासनले साइरन बजाउंदै ‘मास क्याजल्टी’ अर्थात संकटपूर्ण अवस्थाको घोषणा गर्छ ।

इमर्जेन्सी वार्डमा बजेको साइरनले अस्पतालभरिका चिकित्सक र नर्सलाई अलर्ट बनाउँछ । यो संकेत जस्तोसुकै अवस्थाको सामना गर्न तयार रहन दिइएको संकेत हो ।

यसरी त्यो कहालीलाग्दो चालीस मिनेट सकिन्छ । तर अमेरिकी अस्पतालहरुमा कोलाहलको वातावरण भने विगत दुई महिनायता उस्तै छ । यो अवस्थाको साक्षी बनिरहेका चिकित्सकका अनुसार नर्क जस्तो छ, अस्पतालको अवस्था ।

यतिसम्मकी त्यो दिन इमर्जेन्सी वार्डमा ह्दयघात भएर ज्यान गुमाएका ती चारजनामा कोरोना संक्रमण थियो या थिएन भन्ने जानकारी कसैलाई पनि छैन । न त अस्पताललाई, न त मृत्यु हुने विरामीका परिवारलाई नै ।
हो, यस्तै हाल छ, अहिले त्यहाँका अस्पतालहरुमा ।

दैनिक हजारौं संक्रमित भइरहेका छन् । अरु कति संक्रमित थपिनेहुन् कसैलाई थाहा छैन । संक्रमित भएकाहरुलाई स्वास्थ्य स्वयंसेवीले एम्बुलेन्समा राखेर अस्पताल लाने गरेका छन् । अस्पताल जान संक्रमित विरामीका आफन्तलाई बन्देज छ । किनभने उनीहरुमा पनि संक्रमण सर्ने उत्तिनै खतरा हुन्छ ।

अमेरिकाको सबैभन्दाबढी प्रभावित न्यूयोर्क राज्यका सबै ठूला साना अस्पताललाई अहिले कोरोना उपचार केन्द्रका रुपमा परिणत गरिएको छ । भाइरस संक्रमित विमारीलाई मात्र यी अस्पतालहरुले भर्ना लिने गरेका छन् ।

पछिल्लो दुइ महिना यता दैनिक सरदर पाँच हजार भन्दा बढी संक्रमित न्यूयोर्कका यी अस्पतालहरुमा आइपुग्छन् । अमेरिकाभरी मात्रै करीब साढे चारलाख मानिस संक्रमित छन् । कहालीलाग्दो अवस्थाबाट अमेरिका गुज्रिरहेको छ ।

त्यसैले त विश्व स्वास्थ्य संगठनले बताइसकेको छ कि, यो मानव सभ्यताकै सबैभन्दा कठिन मोड हो ।

संकटमा ट्रम्प प्रशासन

अमेरिका यतिवेला महासंकटबाट गुज्रिरहेको छ । तर त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्प यसलाई मान्न तयार छै्रनन् । उनी त महामारीमाथि राजनीति गरिरहेका छन् ।

हिजोमात्र उनले विश्व स्वास्थ्य संगठन चीनका लागि काम गरिरहेको आरोप लगाए । यतिमात्र होइन, संगठनलाई अमेरिकाले दिने गरेको फण्ड रोक्ने चेतावनी नै दिए ।

विश्व स्वास्थ्य संगठनका प्रमुखले अमेरिकालाई लक्षित गर्दै संकटको घडीमा राजनीति नगर्न सुझाव दिए । उनले संकटबाट सबैभन्दा बढी गुज्रिरहेको अमेरिका बढी सचेत हुनुपर्ने औंल्याए ।

संगठनको तथ्यांक अनुसार अमेरिकामा सबैभन्दा बढी प्रभावित न्यूयोर्क राज्यका २५ प्रतिशत कोरोना संक्रमितको ज्यान गइसकेको छ । अन्य शहर र मुलुकको तुलनामा यो धेरै माथि हो । यूरोपमा सबैभन्दा बढी प्रभावित देखिएको लोम्बार्डी क्षेत्रमा समेत मृतकको सख्या १५ प्रतिशतको हाराहारीमा रहेको छ ।

यस्तो निर्दयी समयमा समेत ट्रम्पले किन रोगमाथी राजनीति गरिरहेका होलान् ?

किनभने कोरोना रोगलाई लिएर विश्व स्वास्थ्य संगठनले चालेकका कदम चीन केन्द्रित छन् भन्ने बुझाइ ट्रम्पको रहेको छ । जब चीनको हुवेई प्रान्तस्थित वुहान शहरमा गत डिसेम्बरमा रोग फैलन शुरु गर्यो, त्यही वेला देखिनै संगठन गम्भिर नबनेको ट्रम्पको आरोप छ ।

भाइरस फैलिएर यूरोपसम्म आइपुग्दा समेत संगठनले महामारी घोषणा नगरेकोमा ट्रम्पको चित्तदुखाइ छ । भाइरस चीनभित्रै सिमित रहँदा महामारी घोषणा गरेको भए बाँकी विश्वमा यसरी फैलन नपाउने ट्रम्प प्रशासनको बुझाइ छ ।

आफुले भनेको समयमा महामारी घोषणा नगरेर विश्व स्वास्थ्य संगठनले चीनको अन्तराष्ट्रिय सम्बन्ध जोगाइदिएको आरोप ट्रम्पको छ । त्यसैले संगठन चलाउन सबैभन्दा बढी पैशा दिंदै आएको अमेरिकाले ‘फण्डिङ’ रोक्ने चेतावनी दिएको हो ।

युद्धग्रस्त भूमिजस्तो देखिने अमेरिकाका अस्पतालहरु यतिवेला निरीह बनेका छन् । त्यहाँ कार्यरत हजारौं स्वास्थ्यकर्मी निरास छन् । तर पनि राष्ट्रपति ट्रम्प सबैकुरा आफ्नो कावूमा रहेको बताइरहेका छन् ।

किनभने उनी आफैं राजनीतिको यस्तो कठिन मोडमा छन् की, आउँदो नोभम्बरमा अमेरिकामा राष्ट्रपतिको चुनाव हुँदैछ । महामारी अगाडि दोस्रो कार्यकाल पनि चलाउने ढुक्क जस्तै बनेका ट्रम्पको लोकप्रियता यतिवेला ह्वात्तै घटेको छ ।

ग्राफ यतिसम्म आरालो लागेको छ की, यो महामारी अझै केही महिना रहे त्यसले उनी र उनको रिपब्लिकन पार्टीलाई मात्र क्षति पुर्याउने छैन, विश्व महाशक्ति राष्ट्र अमेरिकाको वैश्विक छवी नै संकटमा पार्नेछ ।

एजेन्सी

Leave A Reply

Your email address will not be published.