कोरोनाको असरः अमेरिकामा दुई गुणा, अस्ट्रेलियामा ४० प्रतिशतले घरेलु हिंसा बढ्यो

0

काठमाण्डौं – कोरोनाका कारण जारी लकडाउनको असर विश्वभरको अर्थतन्त्रका साथै घरेलु हिंसामा पनि प्रत्यक्ष रुपमा देखिएको छ । लकडाउनसँगै विश्वभरमा घरेलु हिंसाका घटनाहरुमा पनि वृद्धि भइरहेको बताइएको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को प्रभावलाई नियन्त्रण गर्ने प्रयास स्वरुप विश्वका कयौँ देशहरुमा लकडाउन लागू भएसँगै विश्व जनसंख्याको ठूलो हिस्सा घरभित्र सीमित हुन पुगेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एंटोनियो गुटेरेशले यस्तो अवस्थामा महिला तथा केटीहरुमाथि घरेलु हिंसाका घटनामा भयावह बढोत्तरी भएकोमा चिन्ता व्यक्त गर्दै सम्बन्धित देशको सरकारद्वारा ठोस कारबाहीका लागि अनुरोध गरेका छन् ।

अमेरिका, बेलायत, अस्ट्रेलिया समेत यूरोपका कयौँ देशहरुमा यस्ता हिंसाका घटनाहरुमा तीव्रता आइरहेको छ । विशेषज्ञहरुले महामारीको समाजिक असरलाई लिएर चेतावनी जारी गरेका छन् ।

हिंसा केबल रणक्षेत्रमा मात्र सीमित नभई उनीहरुको आफ्नै घरभित्र छ। कयौँ महिला तथा केटीहरुका लागि सबैभन्दा धेरै खतरा त्यहाँ छ जहाँ उनीहरु सबैभन्दा सुरक्षित हुनुपर्ने हो ।

महामारीका कारण आर्थिक र सामाजिक चुनौतीहरु बढ्नुका साथै मानिसहरुको आवातजावतमा प्रतिबन्ध लगाइएसँगै विश्वका अधिकांश देशहरुमा महिला तथा केटीहरुका साथ दुव्र्यवहारका घटनाहरुमा अधिक वृद्धि भइरहेको छ ।

विश्वभरमा करिब एक तिहाई महिलाहरु आफ्नो जीवनमा कुनै न कुनै रुपमा हिंसाको शिकार भइरहेका हुन्छन्। यो मुद्दाले धनी तथा गरिब दुबै प्रकारका अर्थव्यवस्थालाई प्रभावित गर्दछ ।

विश्व स्वास्थ्य संगठनको विश्लेषण अनुसार, महिलाहरुमा शारीरिक, यौन, प्रजनन र मानसिक स्वास्थ्यमाथि हिंसाको गहिरो असर पर्दछ । शारीरिक र यौन हिंसा भोगेका महिलाहरुमा गर्भपात हुने वा उनीहरु डिप्रेशनमा जाने स्थिति दुई गुणा बढी हुने गर्दछ ।

संयुक्त राष्ट्रसंघका अनुसार, कोभिड–१९ महामारी शुरु भएपछि लेबनान र मलेशियामा हेल्पलाइनमा आउने फोन कलको संख्या दोब्बर भएको छ, जबकि चीनमा यो संख्या तीन गुणा पुगेको छ । यसैगरी अस्ट्रेलियामा यस्ता घटना ४० प्रतिशतले बढेको छ ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार, चारमध्ये एक महिला र सातजनामा एक पुरुषले आफ्नो पार्टनरद्वारा गम्भीर शारीरिक हिंसाको सामना गर्नुपरिरहेको छ ।

चीनपछि यूरोपले कोरोनाको ठूलो संकट झेलिरहेको छ। यूरोपका कयौँ शहरमा घरेलु हिंसा पीडितको सहायताका लागि कार्यरत संस्थाले हिंसाको खतरालाई लिएर चेतावनी समेत दिएका छन् ।

फ्रान्सको पेरेन्ट्स फेडरेशन प्रमुखका अनुसार, कोरोनाको सबैभन्दा अधिक असर घरेलु जीवनमा परिरहेको छ ।

अस्ट्रेलियाको सर्वाधिक जनसंख्या भएको राज्य न्यू साउथ वेल्समा कोरोनाका क्रममा घरेलु हिंसाका घटना ४० प्रतिशतले बढेको छ । यसमा एक तिहाई मामला संक्रमणको विषयलाई लिएर भएको बताइएको छ । कयौँ प्रहरी चौकीमा हिंसाका घटना दर्ता संख्या दुई गुणा पुगिसकेको छ । यस्तो स्थितिलाई मध्यनजर गर्दै गत हप्ता मात्र त्यहाँको सरकारले १५ करोड डलर केबल घरेलु हिंसाको सामना गर्नका लागि छुट्याएको छ । -एजेन्सीको सहयोगमा

Leave A Reply

Your email address will not be published.