कोरोना भाइरस: न्यूयोर्कमा अवस्था पुनः खराब, एकै दिन ७३१ जनाको मृत्यु

0

काठमाण्डौं – अमेरिकामा कोरोना भाइरस महामारीको इपिसेन्टर न्यूयोर्कमा अवस्था अहिलेसम्मकै खराब देखिएको छ।

मंगलबार एकै दिन न्यूयोर्कमा महामारी फैलिए यताकै सबैभन्दा धेरै व्यक्तिको नोवेल कोरोना भाइरसका कारण हुने कोभिड–१९ बाट मृत्यु भएको छ । मंगलबार एकै दिन न्यूयोर्कमा कोरोना भाइरसबाट संक्रमित भएका ७३१ जनाको मृत्यु भएको हो ।

योसँगै न्यूयोर्कमा अहिलेसम्म मृत्यु हुनेको संख्या पाँच हजार ४८९ पुगेको छ । यस्तै संक्रमितको संख्या पनि राज्यमा एक लाख ३८ हजार ८३६ पुगेको छ ।

न्यूयोर्कका जेलहरुमा पनि संक्रमण फैलिएको छ । गरै फौजदारी अभियोगमा जेलमा रहेका र संक्रमणको उच्च जोखिममा रहेका ५३ वर्षका माइकल टाइसनको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

सुनुवाईको पर्खाईमै रहँदै उनको निधन भएको हो । यसले उच्च जोखिममा रहेका व्यक्तिहरुको सुरक्षाका लागि भएको कमजोर प्रयासलाई लिएर सरकारी अधिकारीको आलोचना भएको छ ।

सोमबार न्यूयोर्क सिटीको जेलमा रहेका २८६ जना कैदी तथा ३३१ कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

आइतबार र सोमबार संक्रमण तथा मृत्यु कम भएकोमा न्यूयोर्क मंगबार कोभिड–१९ बाट अहिलेसम्मकै धेरै व्यक्तिको निधन भएको हो । तर नयाँ संक्रमण भने केही कम देखिएको न्यूयोर्कका गभर्नर एन्ड्रयू कुओमोले बताएका छन् । उनले सबै न्यूयोर्करलाई स्वास्थ्य सम्बन्धी निर्देशन पालना गर्न आग्रह गरेका छन् ।

न्यूयोर्कमा जस्तै समग्र अमेरिकाभरमा पनि मंगलबार एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिको कोभिड-१९ बाट मृत्यु भएको छ ।

अमेरिकामा मंगलबार एकै दिन १९ सय २४ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १२ हजार ७९५ पुगेको छ ।

न्यूयोर्कपछि सबैभन्दा बढी प्रभावित भएको राज्य न्यू जर्सीमा मंगलबार २२९ जनाको मृयु भएसँगै राज्यमा कुल मृत्यु हुनेको संख्या १२ सय ३२ पुगेको छ ।

यस्तै मंगलबार मिसिगनमा ११८, क्यालिफोर्नियामा ५४, लुजियानामा ७०, मासासुचेट्समा ९६, फ्लोरिडामा ४२, पेन्सिलभेनियामा ६१, इलिनोइसमा ७३ र जर्जियामा ११९ जनाको मृत्यु भएको छ।

अमेरिकामा अहिलेसम्म कुल संक्रमितको संख्या तीन लाख ९५ हजार ६७५ पुगेको छ । मंगलबार मात्रै २८ हजार भन्दा बढी संक्रमित थपिएका छन् ।

विश्वभर अहिलेसम्म मृत्यु हुनेको संख्या ८१ हजार ९७७ पुगेको छ । यस्तै विश्वभर कुल संक्रमितको संख्या १४ लाख २५ हजार भन्दा बढी पुगेको छ ।

Leave A Reply

Your email address will not be published.