ट्रम्पको नयाँ ‘शत्रु’ डब्लुएचओः सहयोग रोक्ने चेतावनी, चीनको पक्ष लिएको आरोप

0

काठमाण्डौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो नयाँ ‘शत्रु’ सिर्जना गरेका छन् । उनले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि कमजोर प्रयास गरेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को गम्भीर आलोचना गरेका छन् ।

ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको मंगलबारको ब्रिफिङ्गको क्रममा ट्रम्पले डब्लुएचओको आलोचना गर्दै अमेरिकाले प्रदान गर्दै आएको सहयोग रोक्ने चेतावनी दिएका हुन् ।

विश्वको प्राथमिक स्वास्थ्य संगठनमाथि आक्रामक रुपमा प्रस्तुत भएका ट्रम्पले चेतावनी दिँदै भने, ‘डब्लुएचओका लागि दिइँदै आएको रकम रोक्ने तयारीमा छौँ । हामी अति प्रभावकारी रुपमा सहयोग रोक्का गर्दै छौँ ।’

कोरोना भाइरसबाट उत्पन्न हुने खतराको सामनाका लागि पर्याप्त काम गर्न नसकेको अभियोग ट्रम्पले डब्लुएचओमाथि लगाएका हुन् ।

ट्रम्पले भने, ‘उनीहरुले यसलाई खराब तरिकाले ह्याण्डल गरे । दे कल इट रङ्ग । दे रिअल्ली मिस्ड द कल ।’ ट्रम्पले अमेरिकामा अहिले फैलिएको कोरोना भाइरसको महामारीका लागि डब्लुएचओले आफूलाई दिएको गलत सूचना रहेको आरोप लगाउने प्रयास गरेका हुन् ।

अमेरिकामा अहिले सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित छन् । तर ट्रम्पले भने विश्वमा धेरै संक्रमित भएको देश अरु नै कुनै रहेको बताएका छन् । ट्रम्प प्रशासनमाथि कोरोना भाइरसको संक्रमण रोक्का लागि पर्याप्त प्रयास गर्न नसकेको अभियोग लाग्दै आएको छ । त्यसको कारक डब्लुएचओ रहेको ट्रम्पले बताउन चाहे मंगलबारको ब्रिफिङ्गमा ।

तर वास्तविकता भने डब्लुएचओले सुरुवाति चरणतिरै चेतावनी दिएको थियो र सचेत बनाएको थियो । अमेरिकाका स्वास्थ्य मन्त्रीले देशमा सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गर्नु पूर्व नै डब्लुएचओले अन्तर्राष्ट्रिय चासोको स्वास्थ्य आपतकाल भनेको थियो कोरोना भाइरसको संक्रमणलाई ।

राष्ट्रपति ट्रम्पले डब्लुएचओले चीनको पक्ष लिएको आरोप लगाएका छन् । गएको जनवरी ३१ मा चीनका केही स्थानबाट हुने यात्रामा ट्रम्पले प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । डब्लुएचओले त्यसको समर्थन गरेको थिएन । सोही कारण संक्रमण अहिलेको अवस्था आएको ट्रम्पको आशय थियो ।

Leave A Reply

Your email address will not be published.