कोरोना भाइरस: स्पेनमा आशको सञ्चार, लगातार घट्दो क्रममा मृत्यु

0

काठमाण्डौं – स्पेनमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या लगातार चौथो दिन घटेको छ । सोमबार स्पेनमा कोभिड–१९ का कारण ६३७ जनाको ज्यान गएको स्वास्थ्य आपतकाल कमिटिले जनाएको छ ।

सोमबार लगातार चौथो दिन मृत्यु हुनेको संख्या घरेको र पछिल्लो १३ दिन यताकै सबै भन्दा कम व्यक्तिको ज्यान गएको हो । योसँगै देशमा महामारी अब बिस्तारै कम हुने तर्फ लागेको आश गरिएको छ ।

स्पेनमा कोभिड–१९ बाट मृत्यु हुनेको कुलसंख्या १३ हजार ३४१ रहेको छ । स्पेनमा अहिलेसम्म कुल संक्रमितको संख्या एक लाख ३६ हजार ६७५ रहेको छ । विश्वमै सबैभन्दा बढी प्रभावित भएको इटालीमा सोमबार मृत्यु हुनेको संख्या अघिल्ला दिनको तुलनामा केही बढेको छ । सोमबार कोभिड–१९ बाट ६३६ जनाको मृत्यु भएको इटाली सरकारले जनाएको छ ।

यो संख्या आइतबारको भन्दा १११ ले बढी हो । आइतबार मार्च १९ यता इटालीमा सबैभन्दा कम मानिसको मृत्यु भएको थियो । तर सोमबार मृत्यु हुनेको संख्या शनिबारको भन्दा कम हो ।

इटालीमा अहिलेसम्म १६ हजार ५२३ जनाको कोरोना भाइरसको संक्रमणपछि मृत्यु भएको छ । नयाँ संक्रमणको दर इटालीमा लगातार कम हुँदै गएको छ । अहिलेसम्म इटालीमा कुल संक्रमितको संख्या एक लाख ३२ हजार ५४७ रहेको छ । कोरोना भाइरसको संक्रमणका कारण विश्वभर अहिलेसम्म ७४ हजार ६३५ जनाको मृत्यु भएको छ । त्यसमध्ये ५० हजार भन्दा बढी युरोपका छन् ।

इटाली र स्पेनपछि युरोपको सबैभन्दा बढी प्रभावित देश फ्रान्समा मृत्यु हुनेको संख्या ८ हजार ९११ पुगेको छ । यस्तै बेलायतमा पाँच हजार ३७३, जर्मनीमा १८ सय १०, बेल्जियममा १६ सय ३२ तथा नेदरल्याण्डमा १८ सय ६७ जनाको मृत्यु भएको छ ।

विश्वभर कुल संक्रमितको संख्या १३ लाख ४४ जहार भन्दा बढी पुगेको छ । अहिलेसम्म दुई लाख ७८ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण निको भएको छ ।

Leave A Reply

Your email address will not be published.