पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटक पनि भारतबाट ठूलो धोका पाएको दरबारियाहरू बताउन थालेका छन् । पुनर्बहालीको अभियानअन्तर्गत पूर्वराजा शाहले गत चैतको अन्तिम साता भारत गएर धेरै नै गृहकार्य गरेका थिए ।
समाचार स्रोतका अनुसार विभिन्न चरणमा भएको कुराकानीपछि भुटानी राजाको जस्तै हैसियतमा बस्ने गरी पुनर्बहालीका लागि पूर्वराजा शाह तयार भएका थिए । भुटानको जस्तै रक्षा र परराष्ट्र मामिला भारतलाई दिने सर्तमा पुनर्बहालीको प्रयास गरिदिने वातावरण करण सिंहले मिलाइदिएका थिए । पूर्वराजा शाह सुरुमा यसका लागि असहमत हुँदै स्वदेश फर्केका थिए । तर स्वयं करण सिंह, प्रभाकरशमशेर राणालगायतको दबाबपछि भारतको त्यो प्रस्ताव मान्न पूर्वराजा शाह तयार भए । तर पछिल्लो समयमा भारतले कुरा फेरेको एकथरि दरबारियाको बुझाइ छ । पुनर्बहाली त गरिदिने, तर यसका लागि कम्तीमा १० वर्षको समय लाग्ने जवाफ लिएर एक महिनाअघि भारतीय जनता पार्टीका वरिष्ठ नेता नारायण पाल राणा नेपाल आएको बताइन्छ । भारतको सुटिङ संघका अध्यक्षसमेत रहेका नारायण पाललाई काठमाडौंमा बोलाउन पूर्वराजदरबारले नेपाल सुटिङ संघलाई प्रयोग गरेको थियो । भारतीय गृहमन्त्री राजनाथ सिंहका सम्धीसमेत रहेका नारायण पालले पुनर्बहालीका लागि जनमत अझै बढाउनुपर्ने भएकाले केही वर्ष पर्खनुपर्ने आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश पूर्वराजा शाहलाई सुनाएको उनीहरुको भनाइ छ ।
समाचार स्रोतका अनुसार भारतको सत्तारुढ बीजेपी राजसंस्था पुनर्बहालीका लागि लचक छ, तर उसले आफ्नै स्रोतबाट गरेको अध्ययनले राजसंस्था पुनर्बहालीका लागि पुग्ने जनमत नभएको देखिएको छ । जनमत नै नभएको अवस्थामा पुनर्बहालीका लागि प्रयास गर्दा नेपालमा भारत विरोधी अभियान झन् हाबी हुने भएका कारण पर्खन भनिएको हो । उनले यसबारे प्रधानमन्त्री मोदीसँग थप कुरा गर्न आफ्ना नातेदार एवं कश्मीरका पूर्वराजा करण सिंहलाई प्रयोग गरेको बताइन्छ । यस विषयमा करण सिंह र मोदीबीच दुई साताअघि लामो कुराकानी भएको स्रोतले जनाएको छ । तर करण सिंहसँग पनि मोदीले तत्कालका लागि राजसंस्था पुनस्र्थापना गर्न जनमत नभएको कुरा नै राखेको दरबारियाहरुको भनाइ छ ।
समाचार स्रोतका अनुसार पूर्वराजा शाह पर्खन राजी नहुनुको मुख्य कारण उनको उमेर हो । त्यसैले पर्खने समय आफूसँग नभएको जवाफ मात्रै होइन कि पाहुनाको रूपमा बोलाइएका नारायण पाललाई उनले राम्रो व्यवहारसमेत नगरेको स्रोतले बताएको छ । नारायण पालले यसको खुलासा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग गरेको बताइन्छ । काठमाडौं आएको भोलिपल्ट उनले ओलीकहाँ लन्च खाएका थिए ।
यता देशभित्र हिन्दू राष्ट्र कायम गराउन आन्दोलन चल्ने स्थिति देखिएपछि भारतीय जनता पार्टी (विजेपी) का नेताहरु उत्साहित देखिएका छन् । नेपाल मात्र होइन, यो रिजन नै हिन्दू राष्ट्र हुनुपर्छ भन्ने आरएसएसले आफ्ना कार्यकर्ता व्यापकरुपमा नेपालभित्र परिचालन गरेको छ । नेपालका राजनीतिक दलहरु कमजोर हुँदै जानु, राजनीतिक अस्थीरता बढ्नु र क्रिश्चियन धर्मका लागि पश्चिमाहरुले लगानी गर्नुले मात्र होइन, नेपाल भारतका लागि ‘सुरक्षाथे्रड’ हुँदै गएकाले हिन्दू राष्ट्र र राजसंस्था पुनर्वहालीका लागि अनुकूल बन्दै गएको दरबारियाहरुको विश्लेषण छ ।