बेलायती वैज्ञानिकको चेतावनी: ‘कोरोना भाइरस सय वर्षकै ठूलो महामारी’

0

काठमाण्डौं – विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभीड – १९) को संक्रमणको नयाँ इपिसेन्टरका रूपमा अमेरिका विकसित भएको अवस्थामा धेरैलाई झण्डै दुई हप्ता पहिले बेलायतको लण्डनस्थित इम्पेरियल कलेजका वैज्ञानिकले गरेको आकलनको स्मरण गराएको छ ।

इम्पेरियल कलेजका वैज्ञानिकहरुले प्राप्त तथ्यांकको विश्लेषणमार्फत भविष्यमा निम्तन सक्ने उच्च तहको जोखिम सम्बन्धी प्रतिवेदन मार्च १६ अर्थात ११ दिन पहिले प्रकाशित गरेका थिए ।

इम्पेलियन कलेजका लेखक तथा वैज्ञानिक नाइल एम फर्ग्युसनको नेतृत्वमा वैज्ञानिकहरुको समूहले गरेको विश्लेषणात्मक अध्ययन प्रतिवेदनमा अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण हुने कोभिड १९ बाट अधिकतम २२ लाख तथा बेलायतमा अधिकतम पाँच लाख १० हजार जनाको मृत्यु हुन सक्ने उल्लेख गरिएको थियो। प्रतिवेदन नाइलसहितको वैज्ञानिकहरुले इम्पेरियल कलेज कोभिड १९ रेस्पोन्स टिम मार्फत गरेको अध्ययन प्रतिवेदन सरकारका अधिकारीहरुलाई बुझाइएको थियो ।

उनीहरुले गरेको अधिकतम मृत्युको आँकलन कोरोना भाइरसको संक्रमण रोक्नका लागि कुनै पनि प्रयास नगर्ने र यत्तिकै फैलिन दिएको अवस्थामा मात्रै लागू हुने उल्लेख छ ।

अध्ययन प्रतिवेदन तयार गर्ने बेलासम्म प्राप्त तथ्यांक तथा संक्रमण दर र रोक्नका लागि भएको प्रयासलाई विश्लेषण गरेर केही पनि प्रयास नगरी मुकदर्शक बनेको अवस्थामा आउँदो अगस्टसम्म अमेरिकामा २२ लाख तथा बेलायतमा पाँच लाख १० हजारको ज्यान जाने आँकलन गरिएको वैज्ञानिक नाइलले बताए ।

अमेरिकामा बुधबार एकै दिन १५ हजार भन्दा बढी नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्या बढी हुने देशको सूचीमा चीन भन्दा पनि अघि पुगेको छ। चीनमा गएको डिसेम्बरमा नोवेल कोरोना भाइरसको संक्रमण पहिलो पटक देखिएको थियो। अहिले भने चीनमा यसको संक्रमण लगभग रोकिएको छ।

तर भयावह अवस्था सिर्जना हुँदै गएको छ इटाली, स्पेन, जर्मनी, फ्रान्स, इरान हुँदै अमेरिकामा अहिले । वैज्ञानिकहरुले कोरोना भाइरसका कारण मानव स्वास्थ्यमा उत्पन्न भएको जोखिम सन् १९१८ को फ्लू महामारी अर्थात स्पेनिस फ्लूपछिकै सबैभन्दा ठूलो रहेको बताउँदै आएका छन् ।

तर इम्पेलियल कलेजका वैज्ञानिकले सार्वजनिक गरेको सो अध्ययन प्रतिवेदन डरलाग्दो भन्दै आलोचना पनि भएको छ। उनीहरुले भने संक्रमण रोक्नका लागि कुनै पनि प्रयास नगरेमा निम्तन सक्ने जोखिमको माथिल्लो तह जानकारी गराएको बताएका छन् ।

सो अध्ययनको नेतृत्व गरेका वैज्ञानिक नाइल अहिले कोरोना भाइरसको संक्रमणका कारण आइसोलेसनमा छन्। उनले आफूहरुको प्रवेदन सार्वजनिक भएपछिको अवस्था मूल्यांकन गरेको र विश्वभरका सरकारले संक्रमण फैलिन नदिनका लागि गरेको प्रयासबाट जोखिमको तह आँकलन गरिए भन्दा कम रहेको उल्लेख गरेका छन् ।

उनले न्यु साइन्टिस्टसँग भनेका बिहीबार गरेको कुराकानीको क्रममा पछिल्ला दिनमा बेलायत, अमेरिकासहितका विश्वभरका देशले गरेको प्रयास हेर्दा कोरोना भाइरसका कारण मृत्यु हुने संख्याको माथिल्लो तह मार्च १६ मा सार्वजनिक भएको अध्ययन प्रतिवेदनमा चेतावनी दिइए भन्दा निकै कम हुने देखिएको बताएका छन् ।

उनले अहिलेको जस्तै प्रयास जारी रहने र अहिलेको संक्रमण तथा मृत्युदर विश्लेषण गर्दा बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको अधिकतम संख्या २० हजार वा त्यो भन्दा कम हुने देखिएको वासिंग्टन इग्जामिनरले उल्लेख गरेको छ । यसको प्रमुख कारण अहिले भइरहेको लकडाउनसहितका प्रयास रहेको उनको भनाइ छ ।

आफूहरुको उद्देश्य उच्चतम जोखिमको अवस्था अवगत गराएर सचेत गराउनु र त्यो अवस्था आउन नदिनका लागि सरोकारवाला निकायलाई उपयुक्त काम गर्न झक्झक्याउनु रहेको वैज्ञानिक नाइलले बताएका छन् । त्यसका लागि आइसोलेसन, प्रभावकारी स्वास्थ्य व्यवस्था अत्यावश्यक रहेको वैज्ञानिकहरुले बताएका छन् ।

विश्वभर हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच लाख ३२ हजार सात सय भन्दा बढी रहेको छ। यस्तै मृत्यु हुनेको संख्या २४ हजार ७७ पुगेको जोन हप्किन्स युनिभर्सिटी एण्ड मेडिसिनले उल्लेख गरेको छ ।

अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी ८५ हजार ९९१ जना संक्रमित भएका छन् । यस्तै इटालीमा सबैभन्दा बढी ८ हजार २१५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । विश्वभर हालसम्म एक लाख २२ हजार ६७२ जनामा कोरोना भाइरसको संक्रमण निको भएको छ ।

Leave A Reply

Your email address will not be published.