नागरिकले अटेर गर्दा यी देशमा आगोसरी फैलिएको थियो कोरोना भाइरस

0

काठमाण्डौं – चीनमा सन् २०१९ को डिसेम्बर अन्ततिर कोरोना भाइरसको संक्रमणको जानकारी आएको थियो । शुरुमा यो भाइरस जनावरबाट फैलिएको भन्दै मानिसबाट मानिसमा नसर्ने भनियो । तर, चीनमा अकल्पनीय तरिकाले भाइरस सल्कियो ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार १८ फेब्रुअरीमा चीनबाहिर जम्मा ९२५ जनालाई कोरोना भाइरसको संक्रमण भएको थियो । सबैभन्दा बढी डाइमन्ड प्रिन्सेस जहाजमा ५४२ जनालाई थियो । त्यसपछि संक्रमण फैलिएका देशहरुमा एशियाली मुलुकहरु थिए । इटाली संक्रमित भेटिएको देशमा थिएन । अमेरिका, फ्रान्स, स्पेन, ब्राजिललगायतका देशहरुमा कुनै संक्रमण भेटिएको थिएन । जर्मनीमा १६ र अष्ट्रेलियामा १५ जना संक्रमित भेटिएका थिए ।

२४ फेब्रुअरीमा चीनबाहिर कोरोना भाइरस संक्रमितको तथ्यांक

२२ फेब्रुअरीमा इटालीमा ६२ जनालाई संक्रमण देखियो । इरानमा २८ जना संक्रमित भेटिए । २४ फेब्रुअरीमा इटालीमा २२९ र इरानमा ६१ जना संक्रमित भेटिए । दुई दिनमै इटालीमा चार गुनाले र इरानमा तीन गुनाले संक्रमित बढेका थिए । यी दुवै देशमा दुई दिनमै संख्या दोब्बर बन्दै गयो । प्रतिष्पर्धामा अमेरिका पनि देखियो । जहाँ २६ फेब्रुअरीमा ५७ जना संक्रमित भेटिए ।

मार्च १ मा इटालीमा १६९४ र इरानमा ९७८ संक्रमित भेटिए । फ्रान्समा १३० जना भेटिए । स्पेनमा ८४ र अमेरिकामा ७४ जना संक्रमित रहेको खुल्यो । जर्मनीमा सुस्त गतिमा बढेको संख्या १३० पुगेकोे थियो । दश दिनपछि ११ मार्चमा इटालीमा संख्या सात गुनाले बढिसकेको थियो । इरानमा दश गुना र फ्रान्समा १५ गुना संक्रमित बढे । आगो सरी संक्रमण फैलिइसकेको थियो । इटालीमा ११ मार्चमा १२४६२ संक्रमित संख्या पुग्यो । इरानमा ९०००, फ्रान्समा २२८१, स्पेनमा २२७७, जर्मनीमा १९०८, अमेरिकामा १२८१ संक्रमित संख्या पुग्यो ।

१ मार्चमा चीनबाहिर कोरोना भाइरस संक्रमितको तथ्यांक

फेरि दश दिनपछि २१ मार्चमा इटालीमा संख्या फेरि पाँच गुनाले वृद्धि भई ५३५७८ जना संक्रमित संख्या पुग्यो । अमेरिकामा संख्या ह्वात्तै बढ्यो । अमेरिकामा २० गुनाले बढेर संख्या २५४५० पुग्यो । स्पेनमा त्यही अनुपातमा बढेर २५३ठद्ध पुग्यो । जर्मनीमा २२२१३, इरानमा २०६१०, फ्रान्समा १४२८९, बेलायतमा ५०१८ पुग्यो ।

अमेरिकामा दुई दिनमै अर्थात् २३ मार्चमा संख्या झण्डै दोब्बर पुगेर ४१४४५ पुग्यो । अहिले चीनपछि इटाली अनि अमेरिका बढी संक्रमित हुने देशमा परेको छ । स्पेनमा ३३०८९ र जर्मनीमा २८८६५ संक्रमित संख्या पुगेको छ ।

२३ मार्चमा चीनबाहिर कोरोना भाइरस संक्रमितको तथ्यांक

२३ मार्चमा चीनबाहिर कोरोना भाइरस संक्रमितको तथ्यांक

अहिले अमेरिका र युरोपका सबैजसो मुलुक लकडाउनको अवस्थामा छन् । आवागमनमा बन्देज लगाइएको छ । तर, ती देशहरुले समयमै सावधानी नअपनाउँदा स्थिति भयावह बनेको हो । लकडाउनमा ढिलाई भएको थियो । युरोपमा संक्रमित मुलुकबाट उडान रोकिएको थिएन । अमेरिकाले पनि हेलचेक्राईं गरेको विषय उठ्यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई त्यहाँको खुफिया एजेन्सीले जनवरीमै भाइसको संक्रमण बढ्न सक्ने रिपोर्ट बुझाएपनि उनले हल्का रुपमा लिएको विषय अमेरिका मिडियाले खुलाएका छन् ।

इटालीमा लकडाउनको बेवास्ता भयो । मानिसहरु डान्स, डिस्को र भोजमा जान छाडेनन् । जसका कारण कोरोना भाइरसको संक्रमण फैलियो । अहिले जुन जुन देशमा सावधानी अपनाउन ढिलाई भयो ती देशमा ह्वात्तै कोरोना भाइरसका संक्रमित बढे । केही नागरिकले सावधानी नअपनाउँदाको सिंगो देशले मूल्य चुकाउनुपर्यो । विश्वमा कोरोना भाइरसको संक्रमण मानिसबाट मानिसमा सरिरहेको र यसको मुख्य कारण सम्पर्कमा आउनु रहेको देखिएको छ । यसलाई हल्का रुपमा लिंदा धेरै देशले क्षति भोग्नुपरेको छ । –तथ्यांक स्रोतः जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक बीबीसीमा आधारित

Leave A Reply

Your email address will not be published.