फ्रान्सबाट कतार हुँदै नेपाल आएका एकजनामा कोरोना संक्रमण: स्वास्थ्य मन्त्रालय

0

काठमाण्डौं – नेपालमा थप एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको सरकारले बताएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।

फ्रान्सबाट कतार हुँदै नेपाल आएका ती युवतीकाे टेकु अस्पतालमा परीक्षण गरिएको थियो । परीक्षणको रिपोर्ट आइतबार आएकोमा उनमा कोरोना पुष्टि भएको देवकोटाले बताए ।

उनी नेपाल आएपछि ‘होम क्वारेन्टाइन’ मा बसेकी थिइन् । तर कोरोना भाइरसको संक्रमणको आशंका लागेपछि उनी टेकु अस्पताल आएकी थिइन् ।

संक्रमित युवतीलाई टेकु अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको उनले जानकारी दिए । ती युवतीको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राखिएको उनले बताए । उनीसँगै विमानमा आएकाहरुलाई खोजेर व्यवस्थित गर्ने प्रक्रिया सुरु भएको सरकारले बताएकाे छ ।

फ्रान्समा अध्ययनका लागि गएकी १९ वर्षकी ती युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको हो।

उनी चैत ४ गते कतारबाट नेपाल आएकी थिइन् । यसअघि चीनबाट स्वदेश आएका एक नेपालीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् ।

पत्रकार सम्मेलनमा मन्त्री ढकाल तथा मन्त्रालयका प्रवक्ता डा. देवकोटाले तत्कालका लागि अस्पतालका सबै सेवाहरु कोरोना भाइरसविरुद्ध केन्द्रित गर्ने निर्णय भएको जानकारी दिए । नियमित फलोअपमा नआउँदा असर नपर्ने बिरामीहरुलाई तत्काल अस्पताल नआउन मन्त्रालयले आग्रह गरेको छ ।

यस्तै नियमित शल्यक्रिया पनि स्थगित भएका छन् । यस्तै देशभरका ५० भन्दा बढी शैय्याका अस्पतालमा फिवर क्लिनिक स्थापना गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.