कोरोना भाइरस: रोकियो लामो दूरीका सवारी आवागमन

0

ढुवानी सेवा सञ्चालन गर्न आग्रह

काठमाण्डौं – कोरोना भाइरसको सम्भावित जोखिमलाई ख्याल गर्दै आज (१० चैत) देखि लामो दूरीका सवारीसाधन आवागमन रोकिएको छ ।

आजदेखि लामो दूरीका सवारीसाधन रोक्ने सरकारको निर्णयलाई कार्यान्वयन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको आइतबार बसेको बैठकले लामो दूरीका सवारीसाधन आवागमन रोक्ने निर्णय गरेको थियो ।

सवारीसाधनमा हुने भीडभाडका कारण सो भाइरसको सङ्क्रमणको जोखिम बढ्ने जनाउँदै सरकारले चैत २१ गतेसम्म सार्वजनिक सवारीसाधन रोक्ने निर्णय गरेको थियो । महासङ्घका महासचिव सरोज सिटौलाले सरकारले गरेको निर्णयअनुसार नै लामो दूरीका सवारीसाधन आइतबार राति १२ बजेदेखि रोकिएको जानकारी दिए ।

काठमाडौं उपत्यकामा र छोटो दूरीमा चल्ने सवारीसाधन भने रोकिएका छैनन् । लामो दूरी कतिलाई मान्ने भन्नेबारे आज (१० चैत) मन्त्रालयमा बैठक बस्न लागेको जानकारी पनि सिटौलाले दिए भने कलङ्कीका स्थानीय व्यवसायी वीरेन्द्र घिमिरेलाई उद्धृत गर्दै राससले जनाएअनुसार पोखरा, चितवन, गोेरखा, धादिङ, लमजुङ जाने सार्वजनिक सवारीसाधन फाट्टफुट्टरुपमा सञ्चालन भइरहेको छ ।

ढुवानी सेवा सञ्चालन गर्न आग्रह

नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले ढुवानी सेवालाई निर्वाध रुपमा सञ्चालन गर्न सम्पूर्ण व्यवसायीलाई आग्रह गरेको छ । महासङ्घले एक विज्ञप्ति जारी गरी ढुवानी सेवा अत्यावश्यक सेवाअन्तर्गत पर्ने भएकाले यसलाई निर्वाध रुपमा सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेको हो । गत शुक्रबार सरकारले अत्यावश्यकबाहेक अरु सेवा सञ्चालनमा आइतबारदेखि रोक लगाउने घोषणा गरेको थियो ।

महासङ्घका महासचिव राजेन्द्रविक्रम बानियाँले कोरोना भाइरसको सम्भावित जोखिम विरुद्ध एकजुट हुँदै महासङ्घले आफ्नो तवरबाट सरकारलाई साथ र सहयोग गर्ने बताए । महासङ्घले आफ्नो संस्थामा आबद्ध करिव ६५ हजार व्यवसायीलाई आपूर्ति व्यवस्थालाई सहज पार्नका लागि सबैसँग अनुरोध गरेको उनको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.