कोरोनाको चपेटामा इटाली, ६ करोड नागरिक क्वारेन्टाइनमा

0

काठमाण्डौं – चीनबाट सुरु भएर विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड – १९) को संक्रमण उच्च गतिमा फैलिएसँगै इटाली सरकारले पूरै देशलाई क्वारेन्टाइनमा बदलेको छ ।

यसअघि इटालीको लोम्बार्ड क्षेत्रका करिब एक करोड ६० लाख नागरिकलाई क्यारेन्टाइनमा राख्ने निर्णय गरिएकोमा त्यसलाई विस्तार गरेर देशव्यापी बनाइएको इटालीका प्रधानमन्त्री ज्युसेप्पी कोन्टेले बताएका छन् ।

प्रधानमन्त्री कोन्टेले देशका ६ करोड मानिसहरुलाई अत्यावश्यक काम र आपतकालीन अवस्थामा बाहेक घर बाहिर ननिस्कन अपिल गरेका छन् ।

उनका अनुसार खेलकुद लगायत मानिसहरुको जमघट हुने सार्वजनिक कार्यक्रमहरु रद्द गरिएको छ । यो निर्णय नागरिकहरुको सुरक्षाको लागि गरिएको उनले बताएका छन् । अप्रिल ३ सम्मका लागि यो निर्णय लिइएको बताइएको छ ।

उनले भनेका छन्, ‘आजको सही निर्णय भनेको घरभित्र बस्नु हो । हाम्रो भविष्य र इटालीको भविष्य हाम्रो हातमा छ । यी हातहरु पहिलेभन्दा अझ बढी जिम्मेवार हुनुपर्छ ।’

कोन्टेका अनुसार अप्रिल ३ सम्म देशभरका विद्यालयहरु बन्द रहनेछन् भने रेष्टुरेन्टहरु र बारहरु साँझ ६ बजेसम्म बन्द गरिसक्नुपर्नेछ ।

इटालीको यो घोषणालाई कोरोना भाइरस फैलन नदिन चीनभन्दा बाहिर गरिएको सबैभन्दा ठूलो प्रयासकाे रुपमा लिइएकाे छ ।

इटालीको लोम्बार्डी क्षेत्र कोरोनाबाट सबैभन्दा प्रभावित क्षेत्र हो ।

इटाली चीनपछि कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश हो । यहाँ हालसम्म ९ हजार १ सय ७२ जनामा कोरोनाको संक्रमण भएको छ भने ४ सय ६३ जनाले ज्यान गुमाएका छन् ।

पछिल्ला केही दिनमा चीनमा कोरोनाको संक्रमण दर उल्लेख्य रुपमा घटिरहँदा इटालीमा भने तीब्र रुपमा बढिरहेको छ ।

हालसम्म कोरोनाको संक्रमणबाट संसारभर करिब ४ हजार जनाको मृत्यु भएको छ, जसमध्ये ३ हजार १ सय ३६ जनाको मृत्यु चीनमा मात्रै भएको छ ।

संक्रमितको संख्या संसारभर १ लाख १४ हजार भन्दा बढी पुगेको छ ।

गत डिसेम्बरको अन्त्यतिर चीनको वुहान क्षेत्रमा पहिलो पटक देखिएको कोरोनाको संक्रमण १ सय १५ देशमा फैलिसकेको छ ।

चीनमा संक्रमण दर घटेपनि इटाली, दक्षिण कोरिया, इरान, फान्स, स्पेन, जर्मनी, अमेरिका लगायतका देशहरुमा कारोनाको संक्रमण दर निरन्तर रुपमा बढिरहेको छ ।

Leave A Reply

Your email address will not be published.