कोरोना भाइरसबाट नेपालसहित दक्षिण एसियामा कहाँ, कति सङ्क्रमण ?

0

गत वर्षको डिसेम्बरमहिनादेखि चीनको वुहानबाट सुरु भएको भनिएको कोभिड – १९ वा कोरोनाभाइरसको सङ्क्रमणले विश्वव्यापी त्रास र अन्योल सिर्जना गराइसकेको छ ।

हालसम्म चीनमा असी हजार सहित विश्वभर झण्डै एक लाख मानिस उक्त नयाँ रोगबाट सङ्क्रमित भइसकेका छन् । ती मध्ये आधाजसोलाई निको भइसकेका विवरण आएका छन् । पछिल्लो विवरण अनुसार तीन हजार तीन सय जनाको भने ज्यान गइसकेको छ ।

दक्षिण एसियामा कहाँ कति ?

नेपाल अवस्थित दक्षिण एसियाली क्षेत्रमा पनि कोरोनाभाइरसको सङ्क्रमण ठाउँठाउँमा देखा परिसकेको छ । नेपालमा सुरुवाती चरणमै चीनबाट फर्किएका एकजना नेपाली नागरिकमा उक्त सङ्क्रमण पुष्टि भएको थियो। ती व्यक्ति निको भइसकेका छन् ।

त्यसयता कैयौँमा परीक्षण गरिएपनि हालसम्म अन्यमा कोरोनाभाइरस सङ्क्रमण फेला नपरेको नेपाली स्वास्थ्य अधिकारीहरूले बताउँदै आएका छन् । तर नेपालसँग खुला सिमाना भएको दक्षिणी छिमेकी भारतमा केही दिनयता कोरोनाभाइरसका थुप्रै सङ्क्रमणका घटना बाहिर आएका छन् ।

त्यहाँ हालसम्म ३० जनामा सङ्क्रमण भेटिएको छ जसमध्ये ३ जनालाई निको भइसकेको र बाँकीको उपचार भइरहेका विवरण आएका छन्।श्रीलङ्कामा पनि एकजना सङ्क्रमित भेटिएको र ती निको भइसकेको विवरण आएका छन् ।

पाकिस्तानमा पाँचजना सङ्क्रमित भएका विवरण आएका छन् । अफगानिस्तानका एकजना भेटिएको छ।भुटानमा पनि एकजना सङ्क्रमित भएको भेटिएको विवरण आएका छन् । त्यहाँ भारत हुँदै आइपुगेका एकजना अमेरिकी पर्यटकमा उक्त सङ्क्रमण भेटिएको जनाइएको छ ।

बाङ्लादेश र माल्दिभ्समा कोरोनाभाइरस सङ्क्रमण भेटिएका विवरण आएका छैनन् । दक्षिण एसियाली मुलुकमा हालसम्म कोरोनाभाइरसका कारण कसैको ज्यान गएको खबर आएको छैन ।

नेपाली श्रमिक भएका ठाउँमा कति ?

नेपाली श्रमिकहरू धेरै जाने गरेका विभिन्न देशमा पनि कोरोनाभाइरसको सङ्क्रमण पाइएका छन् । दक्षिण कोरियामा ६ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने जापानमा साढे तीन सय सङ्क्रमित छन् ।

मलेशियामा ५० जना जतिलाई सङ्क्रमण देखिएको विवरण छन्। खाडी देशहरूमध्ये कुवेतमा ५८, युएइमा २९, कतारमा ८ र साउदी अरेबियामा ५ जनामा सङ्क्रमण भेटिएको बताइएको छ ।

अमेरिकामा दुई सयभन्दा धेरैलाई सङ्क्रमण भएको र त्यहाँ १२ जनाको ज्यान गएको पछिल्लो विवरण आएका छन् ।

बीबीसी 

Leave A Reply

Your email address will not be published.