गगन थापाद्वारा संसदमा कोरोनाबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत

0

काठमाण्डौं – प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको संवेदनशीलतालाई ध्यान दिई सरकारले हालसम्म गरेका प्रयासबारे संसदलाई जानकारी गराउन र पूर्वतयारीका लागि छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भएको छ ।

नेपाली कांग्रेसका सांसद गगन थापाले प्रस्तुत गरेको सो प्रस्तावमा सांसद सञ्जयकुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्रकुमार केसी र डा. नारायण खड्काले समर्थन गरेका थिए । सो प्रस्तावमा कोभिड–१९ को जोखिमका हिसाबले १५औँ संवेदनशील मुलुकमा रहेकाले यस स्थितिमा पूर्वतयारी र रोकथामका लागि पर्याप्त काम हुन नसकेको, तर सरकारबाट उच्चस्तरीय समन्वय समिति गठन हुनु सराहनीय रहेको उल्लेख छ ।

प्रस्तावमा उक्त भाइरसबारे आमजनतामा सही ढंगले सूचना दिई नेपालबाहिर रहेका नेपालीको व्यवस्थापन र नेपाल भित्रिने पर्यटकको व्यवस्थापन गर्न माग गरिएको छ । ‘यो कुनै एउटा मन्त्रालय र सरकार वा निकायको मात्र जिम्मेवारी होइन, व्यक्ति समुदाय सबै तहका सरकार गैरसरकारी र साझेदार संस्था सबै एक ठाउँमा रहेर यस चुनौतीको सामना गर्नुपर्छ,’ प्रस्तावमा भनिएको छ, ‘विश्वव्यापी जनस्वास्थ्य आपतकालको यस अवस्थामा नेपालको सम्भाव्य जोखिमसँग जुध्नका लागि सबै तह र निकाय एकजुट हुनुपर्ने भएकाले यसलाई साझा अभियान र राष्ट्रिय संकल्पका रूपमा अगाडि बढाउन आवश्यक छ ।’

जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै सांसद थापाले तयारी गर्दा गर्दै पनि संक्रमण फैलियो भने अहिले नै गर्नुपर्ने काम केहो भन्ने विषयमा तयारी गर्नु जरुरी रहेको बताए । उनले भाइरस संक्रमण हुन नदिन सबैको आ–आफ्नो जिम्मेवारी रहेको बताए । यसका लागि एकीकृत कार्ययोजना आवश्यक भएको सांसद थापाको भनाइ छ ।

कसले के काम गर्ने भन्ने कुरा स्पष्टरुपमा व्यवस्थापन गर्नुपर्छ भन्दै थापाले संसदबाट विशेष नीति बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । बाहिरबाट आएका केही विदेशी सहज रूपमा नेपाल प्रवेश भएको र उनीहरू कहाँ छन् भन्नेबारे सरकारले ध्यान दिन नसकेको भन्दै उनले सरकारलाई गम्भीर हुन आग्रह गरे ।

सो प्रस्तावमा सत्तापक्ष र प्रतिपक्षका सांसदले छलफलमा भाग लिँदै कोरोना भाइरसको संवेदनशीलतालाई मनन गरी सम्भाव्य जोखिमको न्यूनीकरणका लागि व्यवस्थापकीय प्राविधिक तयारीमा जुट्न आग्रह गरे ।

Leave A Reply

Your email address will not be published.