चौतारा, ३१ असार । बिनाशकारी भूकम्पबाट कमजोर भएको भू–भागमा गएरातिको अविरल बर्षाले सिन्धुपाल्चोक जिल्लाका विभिन्न गाविसका १० स्थानमा पहिरो गएको छ ।
पहिरोले मानविय क्षति नभएपनि अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी, सडकखण्ड र साँखु–मेलम्ची, सडकखण्डको काउले दोवानमा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।
पहिरोबाट पटकपटक अवरुद्ध भई खुलाइएको बाह्रबिसे–तातोपानी सडकखण्डमा पर्ने धुस्कुन, गातीको बसेरी, तातोपानीको लिपिङ, घट्टेखोला र मिनिभ्यान पार्क छेउमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो । त्यसैगरी लामो खडेरी पछि गएराति परेको अविरल बर्षाले जिल्लाको पश्चिम क्षेत्रमा पर्ने थकनी–३ को खनाल गाउँ, सिन्धुकोट गाविसको २६ किलो र बाँसवारी गाविसको तामाखानीमा समेत पहिरो गएको छ ।
यसैबीच भूकम्पको कारण पहिरोको उच्च जोखिममा परेका एक सय घरपरिवारका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । बराम्ची, जलबिरे गाविसलगायतका विभिन्न बस्तीका जोखिममा परेको एक सय घरपरिवारलाई जलविरे गाविसको कोइरला डाँडामा अवस्थित व्यक्तिको जग्गा भाडामा लिएर स्थानान्तरण गरिएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताउनु भयो ।
पहिरोको उच्च जोखिममा परेका बाह्रबिसे गाविसस्थित बाहुन डाँडाका बाह्र घर परिवारलाई पनि सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । अति उच्च जोखिममा परेका केही ठाउँका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न हेलिकप्टरको आवश्यकता परेकोले पहल भइरहेको प्रनाउ अधिकारीले उल्लेख गर्नु भयो ।
त्यसैगरी जोखिममा परेको मार्मिङ–१ त्याङ्थलीका २५ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक व्यवस्था मिलाइएकोमा उनीहरुले अन्यत्र सर्न नचाहेको प्रहरीले जनाएको छ ।