डोल्पा, ३१ असार । यस वर्ष जिल्लाका उच्च हिमाली भेगका पाटनमा बीसौँ हजार सर्वसाधारण यार्सागुम्बा सङ्कलनका लागि आएका थिए ।
यसवर्ष यार्सागुम्बा कम भेटिएकाले यसको मूल्य धेरै पाउने आश गरेका डोल्पालीले अहिलेसम्म बेच्न पाएका छैनन् । व्यापारी नआएपछि सङ्कलकले यार्सागुम्बा बेच्न नपाएका हुन् । गतवर्ष व्यापारीहरु पाटनमै यार्सा सङ्कलन गर्दागर्दै आउने गरे तापनि यसवर्ष भने घरमा पनि व्यापारी नआएपछि घरमै थन्किएको गुनासो स्थानीयवासी भीमप्रसाद शर्माले गर्नुभयो ।
उहाँका अनुसार गत वर्ष प्रतियार्सा रु एक हजारभन्दा बढीमा कारोबार भएको थियो । यसवर्ष प्रतियार्सा रु पाँच सयमात्रै भएकाले समेत सङ्कलकले यार्सा नबेचेको शर्माको भनाइ छ । गतवर्ष प्रतियार्सा रु सातसयका दरले ३० वटा बिक्री गरे तापनि यसवर्ष रु दुईसय घाटा खाएर ५० वटा बेचेको त्रिपुराकोटका स्थानीयवासी जनक थापाले बताउनुभयो । त्यस्तै आफूले भेटाएको एक सयवटा यार्सागुम्बा बिक्री नभएको मोतिपुरका स्थानीयवासी अमरसिंह कडायतले बताउनुभयो ।
यसवर्ष यार्सागुम्बा व्यापारी नआएपछि भनेजस्तो मूल्य नपाएकाले सबैजसो डोल्पालीको यार्सागुम्बा घरमै थन्किएको हो ।