सभासद्हरु आ–आफ्ना निर्वाचन क्षेत्रमा जादै

0

काठमाडौँ, ३१ असार । संविधानको पहिलो मस्यौदाको प्रचारप्रसार एवम् जनताबाट राय सुझाव सङ्कलनका लागि भोलिदेखि सभासद्हरुलाई ७५ जिल्लाका २४० निर्वाचन क्षेत्रमा पठाइने भएको छ । मस्यौदाको वितरण र प्रचारप्रसारबारे जानकारी गराउन नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा समितिका सभापति प्रमिला राणाले सभासद् जिल्ला र क्षेत्रमा पुगेपछि प्रचारप्रसार र सुझाव सङ्कलनकार्यले थप उचाइ लिने बताउनुभयो ।
“समितिले तयार गरेको संविधानको विधेयकको पहिलो मस्यौदा प्रचारप्रसार र सो बारे नेपाली नागरिकको सुझाव सङ्कलन कार्ययोजना, २०७२ असार २४ गतेदेखि कार्यान्वयनमा आएसँगै प्रचारप्रसार र सुझाव सङ्कलनकार्यले तीव्रता पाएको छ ।,” उहाँले भन्नुभयो ।
समितिअन्तर्गत गठन भएका आन्तरिक कार्यविधि तथा कार्ययोजना, विदेशमा बसोवास गरेका नेपाली नागरिकको सुझाव सङ्कलन, प्रचारप्रसार तथा प्रकाशन, समन्वय तथा अनुगमन र प्रतिवेदन मस्यौदा गरी पाँच उपसमितिले आ–आफ्नो जिम्मेवारी अनुसारको काम गरिरहेको उहाँले जानकारी गराउनुभयो ।
असार २५ गतेदेखि प्रत्येक जिल्लामा दुइदुई जना सचिवालयका कर्मचारीले सम्पूर्ण निर्वाचन क्षेत्रमा मस्यौदा वितरण र प्रचारप्रसारको काममा समन्वय गरिरहेका छन् । सभासद् राजिवविक्रम शाहीका अनुसार संविधानको मस्यौदामा स्वदेश र विदेशमा बसोवास गरेका नेपाली नागरिकको राय सुझाव प्राप्त भइरहेका छन् ।
आजसम्म एक हजार ५० टोल फ्रि नम्बरबाट, वेभसाइटमार्फत एक हजार ५००, इमेलबाट एक हजार ११०, फ्याक्सबाट २८ वटा र हुलाक तथा सोझै सचिवालयमा १६ वटा लिखित सुझाव प्राप्त भएका छन् । सभासद् पे्रम गिरीले प्राप्त सुझावहरुमा अधिकांश नागरिकता, समावेशिता, सीमाङ्कनलगायतका विषयमा रहेको जानकारी गराउनुभयो ।
सभासद् प्रभादेवी वज्राचार्यले यही साउन ४ र ५ गते सञ्चालन हुने सुझाव सङ्कलनको सार्वजनिक राष्ट्रिय अभियानमा जनताको व्यापक सहभागिता रहने अपेक्षा गरिएको बताउनुभयो । केन्द्रीय तहमा सुझाव सङ्कलनको कार्यक्रमलाई अनुगमन र समन्वय गर्नका लागि संविधानसभाका महासचिवको नेतृत्वमा केन्द्रीय अनुगमन तथा समन्वय समिति रहेको छ ।
उक्त समिति अन्तर्गत सचिवालयका सहसचिवहरुको नेतृत्वमा पाँच विकास क्षेत्र समेट्ने गरी अनुगमन टोली बनाइएको समितिले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.