सरकार परिवर्तन बारे ठोस कार्ययोजना बनाउन प्रचण्ड सुकुटे रिसोर्टमा !

0

काठमाण्डौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आराम गर्न भन्दै सिन्धुपाल्चोकको सुकुटे रिसोर्टमा पुगेका छन् । कुनै महत्त्वपूर्ण राजनैतिक निर्णय लिनु अगाडि प्रचण्ड हरेक पटक आराम गर्न भन्दै सुकुटे रिसोर्ट पुग्ने गर्छन् ।

अघिल्लो पटक पार्टीभित्र सभामुख चयनलाई लिएर विवाद चल्दा समेत हालका सभामुख अग्निप्रसाद सापकोटालाई लिएर प्रचण्ड सुकुटे रिसोर्ट पुगेका थिए । यसपटक पनि पार्टीभित्र उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने वा नबनाउने विवाद चलेर सरकार परिवर्तनको सम्म हल्ला चलिरहेका बेला प्रचण्ड सुकुटे पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

‘कामको चापले गर्दा आराम गर्न नभ्याउनु भएका अध्यक्ष आराम गर्न र शनिबार सुरु हुने सुकुटे महोत्सव आयोजनाको उद्घाटन गर्न सिन्धुपाल्चोक आउनु भएको हो ।’ प्रचण्डको सचिवालयले दावी गरेको छ ।

पार्टीका महत्त्वपूर्ण राजनैतिक दस्तावेज लेख्नुपरे वा महत्त्वपूर्ण निर्णय गर्नु अगाडि प्रचण्ड आराम गर्न भन्दै रिसोर्टहरूमा धाउने पुरानै बानी हो । पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्रीसँगको विवाद उत्कर्षमा पुगेका बेला प्रचण्ड आराम गर्न मात्रै त्यहाँ पुगेको भनेर बुझ्न नमिल्ने जानकारहरूको भनाइ छ ।

सरकार परिवर्तनको हल्ला चलिरहेको समयमा सरकार परिवर्तनबारे ठोस कार्ययोजना बनाउन प्रचण्ड सुकुटे पुगेको हुनसक्ने जनाइएको छ । आजै मात्र नेकपाका प्रभावशाली नेताहरूलाई आफ्नै निवासमा बोलाएर छलफल गरेका प्रचण्ड त्यसको कार्यान्वयनको योजना बनाउन त्यहाँ पुगेको र त्यो सरकार परिवर्तन सँग सम्बन्धित भएको जानकारहरूको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.