काठमाण्डौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको कम्युनिष्ट सरकार आमूल परिवर्तनको नारा लिएर लुटतन्त्रमा सिमित भएको बताएका छन । देशको लागि अहिलेको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार भएको उनको भनाइ छ ।
आज (शनिबार) धनगढीमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष थापाले अहिले गणतन्त्र र लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाउन अहिलेको कम्युनिष्ट सरकार सकृय रहेको उनको भनाइ छ । तत्कालीन माओवादीले लडाकुको पैसा खाएर सुरू गरेको भ्रष्टाचार यात्रा गोकुल बाँस्कोटा सम्म पुगेको उनको भनाइ थियो ।
बाँस्कोटा प्रकरणमा प्रधानमन्त्रीले तत्काल एक्सन लिएकोमा धन्यवाद दिंदै थापाले अब यस बिषयमा अख्तियारले अध्ययन गरि दोषीलाई कार्वाही गर्नुपर्ने बताए ।
‘अनियमितता र लुटलाई कायम गर्न कुनै कानून बाधा भए बहुमतको आधारमा कानून नै परिवर्तन गर्ने गरेका छन्’ अध्यक्ष थापाले भने, ‘भ्रष्टाचारमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको पनि संलग्नता रहेको छ ।’
उनले भने, ‘अहिले संस्थागत, नितिगत र व्यवस्थागत रुपमै भ्रष्टाचार भइरहेको छ, यसलाई रोक्न जनता जाग्ने बेला आएको छ ।’
एमसीसी बारे पत्रकारको जिज्ञासामा अध्यक्ष थापाले भने, ‘प्राय सबै राजनितिक दलको सहमतिमा तयार पारिएको सम्झौता हो, अहिले सत्तारुढ दलको आपसी बिवादले यो समस्यामा परेको छ, अब यसको सबै जिम्मेवारी सरकारले लिनुपर्छ ।’ उनले एमसिसी नेपालको हितमा रहेकाले यसमा विवाद गर्नुको कुनै औचित्य नरहेको समेत बताए ।
आफ्नो पार्टी राप्रपाको एजेण्डा हिन्दु राष्ट्र र राजसंस्थासहितको लोकतन्त्र यथावत रहेको उल्लेख गर्दै अध्यक्ष थापाले भने, ‘एजेण्डा राम्रो हुँदाहुँदै पनि संगठन कमजोर रहेकाले विगतका चुनावमा पराजित भएका हौँ, अब संगठन बिस्तारको अभियानमा अघि बढेका छौँ ।’
राप्रपा संयुक्त र राप्रपा पार्टीबिच एकीकरण बारे अध्यक्ष थापाले आफू सधैँ एकीकरणको पक्षमा रहेको बताए ।