पीडाले बनायो अस्पतालको बास

0

बेसहाराको जिन्दगी जीउन कसलाई पो गाह्रो नहोला र ! त्यसमाथि पनि विदेशमा । स्वदेशमै भए पनि सहारा पाउन धेरैलाई हम्महम्मे पर्छ । बाजुराका अर्जुनबहादुर सिंह यस्तैमध्येका एक हुन् । सिंह बेसहारा मात्रै होइनन् नेपालीबाटै पीडित पनि हुन् । विदेशमा अधिकांश जसोलाई त एक मिनेट समय निकाल्नसमेत कठिन हुन्छ । त्यसमाथि पनि जापानमा । यही कठिनाइका कारण सिंहको लगातार अस्पतालको बास भएको छ ।
पीडितकै भनाइअनुसार मोटो रकम खर्चेर धेरै कमाउने आशमा यहाँ आएका थिए । नेपालमा खाँदै आएको अहेबको जागिर छाडेर बिराने देशमा कमाउने सपना देखेका थिए । तर भाग्यमा अर्कै रहेछ । उनका लागि जापान न त सोचे जस्तो भयो न त देखेजस्तो नै रह्यो ।
प्रशस्तै पैसा कमाउने आशामा रु १६ लाख खर्चेर सन् २०११ मा जापान आएका सिंह बिदामा नेपाल गएर फर्किदा आफू कार्यरत होटल बिक्री गरी सञ्चालक बेपत्ता भइदिए । त्यसपछि उनले यहाँ आफ्नो एक मात्र सहारा गुमाए । विदेशमा अलपत्र भएका उनी अन्ततः उनी रोगले थलिए र अस्पतालको शरण पुगे ।
“सहयोगको आशमा नागोयाबाट टोकियो त आए तर सहारा नपाउँदा अलपत्र परेँ,” अस्पतालको श्ययाबाट सासैका भरमा सिंहले भने । जापान प्रहरीले नेपाली राजदूतावासको जिम्मा लगाएपछि यहाँस्थित नेपाली राजदूतावासको अनुरोधमा सिंहलाई एनआरएन जापानको सहयोगमा अस्पताल भर्ना गरिएको थियो । श्रीमती र दुई छोरी भएका सिंह नेपालीबाटै ठगिएको घटना सार्वजनिक भएपछि जापानमा व्यापक सोधखोज भइरह्यो तर केही उपलब्धि हुन नसकेको नेपाली दूतावासले जनाएको छ । ठग्ने र ठगिने नेपाली नै भए पनि पीडितको बोल्न सक्ने अवस्था नरहेका कारण वास्तविकता खुल्न सकेको छैन । एनआरएन जापानका उपाध्यक्ष सुदन थापाले सिंह कार्यरत होटल सञ्चालकले नेपाली भएकै कारण थारै भए पनि सहयोग गर्नुपर्ने बताए ।
अलपत्र अवस्थामा अस्पताल भर्ना गरिएको पनि दुई साताभन्दा बढी भयो । स्वास्थ्यमा सुधार आएको छैन । रोगले गालेपछि भर्ना भएका कारण उपचारको प्रभाव नदेखिएको भन्दै अस्पतालले नेपालबाट आफन्तलाई बोलाउन आग्रह गर्दै आएको छ । उपचार जारी रहेपनि अवस्था भने दिनप्रतिदिन गम्भीर बन्दै गएको छ । टाउकोमा जमेको पानीको असरले समस्यालाई अरु जटिल बनाएको छ । अस्पतालले तुरुन्त शल्यक्रिया गर्न परिवारको हस्ताक्षर चाहिने भएर शल्यक्रिया रोकिएको जनाएको छ ।
सिंहलाई प्रारम्भिक चरणमा टोकियो सिटी अस्पतालमा भर्ना गरिए पनि उपचार सम्भव नभएपछि टोकियोकै ठूलो र महँगो अस्पताल नेसनल अस्पताल पठाइएको थियो । टोकियो अस्पतालले एन्टिबायोटिक औषधिको प्रयोग गर्दासमेत सुधार नदेखिएपछि उपचार प्रक्रिया कम्तीमा पनि तीन महिना लम्बिने सङ्केत दिइसकेको छ । सिंह क्षयरोग र मेनेन्जाइटिस रोगबाट सङ्क्रमित छन् । आर्थिक अवस्था कमजोर भएकाले नेपालबाट परिवारजनलाई बोलाउन समय लागेको एनआरएन जापानका उपाध्यक्ष थापाले जानकारी दिनुभयो ।
यद्यपि जापान आउँदा लाग्ने टिकट र बस्ने व्यवस्थासमेत एनआरएनको पहलमा भइसकेको छ । उपचार गरिरहेको अस्पतालले मानवीय नाताले सिंहको उपचारमा लाग्ने कुनै किसिमको रकम नलिने जनाइसकेको छ ।
उपचारमा संलग्न जापानी डाक्टरदेखि लगातार रेखदेखमा खटिएका एनआरएन जापानका पदाधिकारी तथा सहयोगीले समेत सिंहको शीघ्र स्वास्थ्यलाभ नै अहिलेको ठूलो विषय भएको बताउँछन् । बिरामी बोल्न नसकेका कारण अस्पतालले अरुसँगको भेटघाट पनि रोकिदिएको छ । जापानमा सिंहको आफन्त कोही चिनिएका छैनन् । यता महिना दिनसम्मको तलबसमेत नदिएर पीडितलाई प्रताडित बनाउने होटल सञ्चालक बागलुङका भक्त शेरचनले अहिलेसम्म कुनै सहयोग गरेका छैनन् । फोन सम्पर्कमा समेत आउन नचाहने शेरचनले सिंहबाट आफूले रु १६ लाख नलिएको बताएका छन् ।
यद्यपि नागोयामा होटल व्यवसाय गर्दै आएका शेरचनले सिंह जापान आउँदा मोटो रकम खर्च भएको स्वीकार्दै त्यो रकम अर्कैले लिएको बताउँछन् । रकम लिने को र कहाँ बस्छन् भनेर नबताउँदा उनको यो भनाइलाई जापानवासी नेपालीले विश्वास गर्न सकेका छैनन् । एनआरएन सम्बद्ध विभिन्न सङ्घसस्थाले सिंहको स्वास्थ्यमा सुधार आएपछि पीडितलाई न्याय दिलाएरै छाड्ने अठोट व्यक्त गरेका छन् ।

Leave A Reply

Your email address will not be published.