सार्स महामारी भन्दा भयानक भयो कोरोना महामारी, हुबेइमा मात्रै ७८८ जनाको मृत्यु

0

चीनमा महामारीका रुपमा फैलिएको नोवेल कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या सन् २००३ मा फैलिएको सार्स महामारी भन्दा बढी भएको छ ।

चीनको हुबेइ प्रान्तमा मात्रै ज्यान गुमाउनेको संख्या ७८८ पुगेको छ । हुबेइ प्रान्तको वुहानमा गएको डिसेम्बरमा पहिलो पटक नोवेल कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

हुबेइका स्वास्थ्य अधिकारीका अनुसार सो प्रान्तमा मात्रै हालसम्म नोवेल कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७८८ पुगेको हो ।

चीनका अरु क्षेत्र तथा हङकङ र फिलिपिन्समा गरी नोवेल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको कुल संख्या ८११ पुगेको छ ।

सन् २००३ मा फैलिएको सार्स (सिभर एक्युट रेस्पिरेटरी सिन्ड्रोम) महामारीका कारण ७७४ जनाको ज्यान गएको थियो । सार्सको संक्रमण दुई दर्जन भन्दा बढी देशमा फैलिएको थियो ।

नोवेल कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ३७ हजार १९८ भन्दा बढी रहेको छ । संक्रमित हुने मध्ये अधिकांश चीनका छन् ।

जनवरीको अन्तिम हप्ता विश्व स्वास्थ्य संगठनले नोवेल कोरोना भाइरसको संक्रमणलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

हुबेइमा शनिबार थप ८९ जनाको मृत्यु भएपछि सो प्रान्तमा नोवेल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ७८८ पुगेको हो । योसहित चीनमा कुल ८०९ तथा हङकङ र फिलिपिन्समा एक–एक जनाको ज्यान गएको छ ।

नोवेल कोरोनाका कारण हुबेइको राजधानी वुहान सबैभन्दा बढी प्रभावित भएको छ । महामारीका कारण वुहान शहर बन्द अवस्थामा छ ।

Leave A Reply

Your email address will not be published.