काठमाण्डौं – ललिता निवास प्रकरणमा संलग्नहरूलाई राजनैतिक प्रतिशोधको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ ।
आज (शुक्रबार) बसेको कांग्रेस संसदीय दलको बैठकले संसद अवरुद्ध जारी राख्ने निर्णय गरेको हो ।
आफ्ना उपसभापति विजयकुमार गच्छदार विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि आक्रोशित बनेको कांग्रेसले हिजो (बिहीबार) को प्रतिनिधिसभाको बैठक पनि अवरुद्ध गरेको थियो ।
संसदीय दलको बैठकबाट कांग्रेसका नेताहरूलाई मात्रै छानीछानी मुद्दा लगाउने अख्तियारको कदम राजनैतिक प्रतिशोध भएको पनि कांग्रेसको ठहर छ । यो सँगै अख्तियारको विरुद्ध सदन र अन्य माध्यमबाट पनि अख्तियारको गलत कदमको शसक्त विरोध गर्ने समेत निर्णय गरेको छ ।
बैठकमा भ्रष्टाचारको आरोप विशेष अदालतमा मुद्दा दायर भएसँगै सांसद पदबाट निलम्बनमा परेका उपसभापति गच्छदार पनि सहभागी थिए । बैठकमा गच्छदारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ओली आयोगमा रूपान्तरण भएको र ओलीको निर्देशन अनुसार नै अख्तियारले काम गरिरहेको उल्लेख गर्दै त्यसको पहिलो शिकार आफू भएको र भोलि अरूपनि शिकार हुनसक्ने बताएका थिए ।
कांग्रेसको सदन अवरोधलाई साथ दिन अन्य प्रतिपक्षी दल राजपा र समाजवादीलाई पनि आग्रह गर्ने निर्णय गरेको छ । संसद बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ ।