प्रचण्डको खतरानक रणनीति : प्रधानमन्त्रीमा नेपाल आफू एकल अध्यक्ष

0

काठमाण्डौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले २०७७ को अन्त्यमा एकताको महाधिवेशन गर्ने निर्णय पारित गरेसँगै सत्तारूढ नेकपा भित्र नयाँ समीकरण बन्ने प्रक्रिया सुरु भएको बताइन्छ ।

सभामुख प्रकरणबाट ओरालो यात्रामा रहेका नेकपा अध्यक्ष एबं प्रधानमन्त्री केपी शर्मा ओली अहिले पनि ओरालो यात्रालाई नै निरन्तरता दिन बिबश देखिएका छन् । पहिलोपटक पार्टीको सचिवालय देखि स्थायी कमिटी र केन्द्रीय समितिमा समेत प्रधानमन्त्री ओली गुट निकै कमजोर रहेको तथ्य सार्वजनिक भै सकेको कुरा हो भलै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमले पार्टी नेताहरूको अंशबण्डा गरिदिएको सार्वजनिक आरोप लगाएपनि यथार्थमा ओली अहिले अल्पमतमा रहेको कुरा कसैबाट छिपेको छैन ।

कतिसम्म भने आफ्नो चाहाना विपरीत पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको कार्यकारी अधिकार दिन बाध्य भएका ओलीको ओरालो यात्राको सुरुवात त्यही समयमा भएको बताइन्छ । कार्यकारी अध्यक्षको पद पाएसँगै कार्यकारी अध्यक्ष प्रचण्डले विस्तारै पार्टीमाथी नियन्त्रण जमाउँदै गएका छन् भने प्रधानमन्त्री ओली दिनानुदिन कमजोर बन्दै गएका छन् ।

झन भैंसेपाटी भेलापछि त ओली विरोधी समूह नै नेकपामा शक्तिशाली देखिएको छ । कतिसम्म भने केन्द्रीय समितिको बैठकको एजेन्डा नै नबनाइएको अमेरिकी मिलेनियम कर्पोरेशन च्यालेन्ज (एमसीसी) सम्बन्धि अध्ययन कार्यदल गठन सम्बन्धि प्रस्ताव केन्द्रीय समितिबाट नै अनुमोदन गर्दै प्रधानमन्त्री ओलीको चाहाना बेगर नै एमसीसी विरोधी समूह निर्णायक हुने गरि कार्यदल गठन गरेर प्रचण्डले ओलीलाई आफ्नो हैसियत देखाएको त सर्वविदितै छ ।

प्रचण्डको रणनीति यतिमै सिमित छैन, बारम्बार सरकारले पार्टी हैन पार्टीले सरकार चलाउनुपर्ने अभिव्यक्ति दिदैं आएका प्रचण्डले पछिल्लो समय निकै बदनाम र विवादित बन्दै गएको ओली नेतृत्वको सरकार विरुद्ध संसदीय दलमा माधवकुमार नेपाल मार्फत अविश्वासको प्रस्ताव दर्ता गराउने सम्भावना रहेको बताइन्छ ।

वामदेव गौतम र पूर्व प्रधानमन्त्री नेपाल समूहको साथ मिल्दा अध्यक्षमा विजयी बन्नसक्ने कुरा राम्रोसँग बुझेका कार्यकारी अध्यक्ष प्रचण्डले उपयुक्त समयमा ओली विरुद्ध आफ्नो योजना कार्यान्वयन गर्ने सम्भावना अधिक छ । पार्टी एकताको सुरुवातमा ओलीलाई नचिढ्याएरै नेकपाको एकल अध्यक्ष बन्ने रणनीतिमा ओलीको सहयोगबाट सम्भावना नभएपछि ओली विरुद्ध प्रचण्ड अहिले खुलेर लागेको बताइन्छ ।

पार्टीको एकल अध्यक्ष बनिसकेकोपछि पनि नेपाल समुह विरुद्ध कुनै चाल चाल्न गार्‍हो नहुने ठम्याइ प्रचण्डको छ जसमा उपाध्यक्ष वामदेव गौतमको समेत साथ हुने आकलन गरिएको छ । अहिले नै ओली विरुद्ध कुनै चाल चल्दा पनि प्रचण्डको समूहमा स्पष्ट बहुमत हुने देखिन्छ । यसअघि ओली समूहको कट्टर समर्थक रहेका महासचिव विष्णु पौडेल समेत नेपाल समूहतिर ढल्केको बताइन्छ । गत माघ १९ गते नेपाल निवास कोटेश्वरमै पुगेर पौडेलले २ घण्टा नेता नेपाल सँग गोप्य छलफल समेत गरेका थिए ।

प्रचण्डको उक्त रणनीति विरुद्ध प्रधानमन्त्री ओलीले कस्तो चाल चल्छन त्यसले नै सत्तारूढ नेकपाको आगामी यात्रा स्पष्ट हुने देखिएको छ । त्यसको पहिलो कदम स्वरुप प्रधानमन्त्री ओलीले पूर्व एमाले समूहका नेताहरूलाई भेटवार्ता गर्न थालेको र सक्रियता बढाउन थालेको विश्लेषण गरिएको छ । तर कमजोर स्वास्थ र पार्टीभित्रकै नेताहरूको अविश्वासका कारण ओलीको उक्त चाल सफल नहुने विश्लेषण गरिएको छ ।

Leave A Reply

Your email address will not be published.