काठमाण्डौं – सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाहीका जिल्ला इन्चार्ज कुमार पौडेल हत्या प्रकरणमा मृतक पौडेलकि आमा दुर्गा देवी पौडेलले जिल्ला प्रहरी कार्यलय सर्लाहीमा १० जना विरुद्ध किटानी जाहेरी दर्ता गराएकि छिन ।
तत्कालीन सर्लाहीका एसपी गोपालचन्द्र भट्टराई सहित तत्कालीन सिडिओ, पौडेलको शव पोष्टमार्टम गर्ने डा. विरेन्द्र मण्डल सहित कुमार पौडेलको हत्यामा संलग्न रहेको आशंका गरिएका अन्य प्रहरी अधिकारी तथा नगरपालिकाका मेयर सहित १० जना विरुद्ध किटानी जाहेरी दर्ता गरिएको हो ।
कुमार पौडेलको हत्यापछि स्थलगत अनुगमनमा गएको इन्सेक र एड्भोकेसी फोरमको संयुक्त अध्ययनले समेत पौडेल मुठभेडमा नमारिएको प्रतिवेदन सार्वजनिक गरेको थियो भने राष्ट्रिय मानवअधिकार आयोगले समेत पौडेलको हत्या सुनियोजित भएको भन्दै दोषिहरूलाई कार्वाही गर्न सिफारिस गरेको थियो ।
पौडेलको गत असार ५ गते अन्दाजी २ बजे लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेहीस्थित जंगलको पश्चिम किनारमा रहेको उत्तर दक्षिण बाटोमा प्रहरीको गोलि लागि मारिएका थिए ।