नेकपा केन्द्रीय समिति बैठक : ‘हात्ती आयो हात्ती आयो फुस्सा’

0

काठमाण्डौं – पाँच दिनदेखि संघीय राजधानी काठमाडौमा जारी सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठक आजबाट औपचारिक रूपमा सम्पन्न भएको छ ।

प्रधानमन्त्री तथा सत्तारूढ पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री निवासमा केन्द्रीय सदस्यहरूलाई रात्रिभोज दिएसँगै सत्तारूढ नेकपाको केन्द्रीय समितिको बैठक सकिएको छ । सबै केन्द्रीय सदस्यहरूलाई रात्रिभोजमा सहभागी हुनका लागि ह्विप नै जारी गरिएको थियो । बालुवाटारमा हुने रात्रिभोजको खर्च पार्टी, सरकार वा प्रधानमन्त्री कसले व्यहोर्ने हो त्यो समेत कसैलाई सुइँको छैन । अहिले नै जनताको करको रकम दुरुपयोग हुन लागेको भन्दै सामाजिक सञ्जाल रंगीन थालिसकेको छ ।

सांसदहरूलाई मात्र बोलाइएको भनिएको रात्रिभोजमा अन्त्यमा आएर मात्रै सबै केन्द्रीय सदस्यलाई बोलाउने निर्णय भएको जनाइएको छ । नेकपाका अधिकांश केन्द्रीय सदस्य सांसद नै छन् ।

प्रचण्ड बहुमत सहित सत्ताको नेतृत्व गरेको सत्तारूढ पार्टीको केन्द्रीय समिति बैठकको चर्चा स्वभावैले धेरै हुने कुरा अस्वभाविक पनि होइन । त्यो पनि पार्टी एकतापछि औपचारिक रूपमा पहिलोपटक बसेको बैठकले पछिल्ला दिनमा निकै विवादित बन्दै गैरहेको सरकार र पार्टीका नेताहरूलाई केही हदसम्म भएपनि साइजमा ल्याउने ठानिएको केन्द्रीय समितिको बैठक अन्त्यसम्म आइपुग्दा “हात्ती आयो हात्ती आयो फुस्सा” भन्ने नेपाली उखान जस्तो मात्रै बन्न पुगेको विश्लेषण गरिदैंछ ।

नेकपाको केन्द्रीय समितिको बैठकले अबदेखि कुनै पनि कार्यक्रममा अध्यक्षद्वय प्रधानमन्त्री ओली र पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डको फोटो नराख्ने र स्थायी कमिटी सदस्य वामदेव गौतमलाई उपाध्यक्ष नियुक्त गर्नुबाहेक अन्य कुनै पनि गतिलो निर्णय गर्न नसकेको जानकारहरूले उल्लेख गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाको २९ बुँदे लिखित प्रस्ताव देखि पूर्व उपप्रधान तथा गृहमन्त्री भिम रावलको १० बुँदे फरक मतमा पार्टीका दुबै अध्यक्ष निरपेक्ष रहे वा यसमा कुनै टिप्पणी गरेनन् ।

बैठकको दौरान जतिसुकै पार्टी नेतृत्वको आलोचना गरेपनि बैठकको अन्त्यमा पार्टीका अध्यक्षद्वय ओली र प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसहमतिले पारित भएको घोषणामा ताली बजाउनु बाहेक एकल वा सामूहिक प्रतिरोध गर्ने साहस कुनै केन्द्रीय सदस्यमा देखिएन । प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डको निर्णय नै अन्तिम निर्णय हो भनेर व्यबहारिक रूपमा केन्द्रीय सदस्यले स्वीकार गरेको देखियो ।

केन्द्रीय समितिको समापन समारोहमा प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमले नै पार्टीका नेताहरू यो पक्ष र त्यो पक्षको भन्दै प्रचार गरेर पार्टी भित्रका गुटहरू सञ्चारमाध्यमले चलाएको जस्तो आरोप लगाउनु र आफू नेतृत्वको सरकारको बखान गर्नुबाहेक केन्द्रीय सदस्यले नै सरकारका गलत क्रीयाकलाप प्रती उठाएका प्रश्नमा मौन र वा त केहिमा प्रतिरक्षा गरेको जस्तो देखियो ।

केन्द्रीय सदस्यहरूले भ्रष्टाचार बढेको भन्दै पेचिला प्रश्न गरेपछि समस्यामा परेका ओलीले “भ्रष्टाचार बढेको होइन, भ्रष्टाचार गर्ने समातिएका हुन” भन्नेबाहेक अरू कुनै प्रश्नको तथ्यसंगत समाधान दिनुपर्ने आफ्नो दायित्व ठानेनन् ।

पछिल्ला दिनमा निकै विवादित बन्दै गएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अध्ययनका लागि वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा प्रदीप ज्ञवाली र भीम रावल सदस्य रहने गरि एउटा कार्यदल बनाएर झारा टार्ने प्रयास मात्रै भयो ।

यसअघि समूहगत छलफलको क्रममा केन्द्रीय सदस्यहरूले उठाएका तमाम प्रश्न प्रती सत्तारूढ दलको नेतृत्व मौन बस्यो भने केन्द्रीय सदस्यहरूले पनि त्यसलाई नेतृत्व समक्ष पुनः प्रश्न उठाउन आवश्यक ठानेनन् । भारतले अतिक्रमण गरेको नेपाली भू-भाग देखि लिएर नेताहरूको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग सम्मका कुरा उठेपनि ती निष्कर्षमा पुग्न सकेको देखिएन ।

मूल रूपमा तीन गुटमा विभक्त देखिएको सत्तारूढ नेकपाका केन्द्रीय सदस्यहरूले एक अर्का गुटको उछितो काढ्न बाहेक अन्य कुनै काम गर्न सकेको जस्तो देखिएन । यो पटकको केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री ओलीको गुट अल्पमतमा परेको सावित गर्नुबाहेक कुनै उल्लेखनीय परिणाम हासिल गर्न सकेन ।

आफू प्रतिकूल रहेको पार्टीको समीकरण बदल्ने प्रयासमा नै प्रधानमन्त्रीले सरकारी निवासमै केन्द्रीय सदस्यहरूलाई रात्रिभोजको लागि बालुवाटार निम्त्याएको चर्चा छ । यसकारण पनि सत्तारूढ नेकपाको केन्द्रीय समितिको बैठक चर्चित नेपाली उखान “हात्ती आयो हात्ती आयो फुस्सा” जस्तो मात्रै बन्न पुगेको छ ।

Leave A Reply

Your email address will not be published.