केन्द्रीय सदस्यहरूको प्रश्नको जवाफ दिने बिषयमा ओली प्रचण्ड बालुवाटारमा रणनीति बनाउँदै

0

काठमाण्डौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी केन्द्रीय समितिको बैठकमा सदस्यहरूले उठाएका प्रश्नहरुको अध्यक्षद्वयले जवाफ दिदैंं बैठक सम्पन्न हुने कार्यसुची छ ।

गत बुधबार बाट सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको राजनैतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिनुका साथै समसामयिक बिषयमा केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नहरुको जवाफ दिनुपर्ने छ ।

केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने बिषयमा रणनीति बनाउन अहिले नेकपाका अध्यक्षद्वय ओली र प्रचण्ड बिच प्रधानमन्त्री निवासमा छलफल चलिरहेको छ । बैठकमा केन्द्रीय सदस्यहरूले प्रमुख रूपमा एमसीसी, सरकार र नेताहरूकै कार्यशैलीमा प्रश्न उठाएपछि अध्यक्षद्वय रक्षात्मक बन्न पुगेको आकलन गरिदैंछ ।

बैठकको उद्घाटन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले गर्ने र समापन कार्यकारी अध्यक्ष प्रचण्डले गर्ने आन्तरिक समझदारी भएपनि सरकारको कार्यशैलीलाई लिएर धेरै प्रश्नहरू उठेपछि त्यसको जवाफ नदिंदा गलत सन्देश जाने भन्दै प्रधानमन्त्री ओलीले समेत सम्बोधन गर्नुपर्ने अवस्था उत्पन्न भएको छ । त्यसैले सरकारका काम कार्वाही सम्बन्धमा उठेका प्रश्नको उत्तर ओलीले नै दिने तयारी गरेका हुन ।

त्यस्तै पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीभित्रका अनियमितता तथा भ्रष्टाचार, विधान उल्लंघन, गुटउपगुट, सरकार र पार्टीका बिचमा बढेको दुरी नेताहरूको कार्यशैली सहित राजनैतिक प्रतिवेदनमा उठेका लिखित तथा मौखिक प्रश्नको जवाफ दिने तयारी भै रहेको नेकपा स्रोतले जनाएको छ ।

४४५ सदस्यीय केन्द्रीय समितिमा छलफलका लागि १५ वटा समूह बनाइएको थियो भने समुहगत छलफल पछि आएका निष्कर्षलाई हरेक समुहका नेताले केन्द्रीय समितिको बैठकमा शुक्रबार र शनिबार ब्रीफिङ गरेका थिए भने प्रदेश अध्यक्षहरू र विभागीय प्रमुखहरूले पनि बैठकमा आ-आफ्ना धारणा राखेका थिए ।

Leave A Reply

Your email address will not be published.