कोरोना भाइरसका कारण हिमालय एयरलाइन्सले चीन उडान वन्द गर्यो

0

काठमाण्डौं – चीनमा अत्यधिक फैलिएको कोरोना भाइरसका कारण हिमालय एयरलाइन्सले त्यहाँका जोखिम शहरहरुमा आफ्ना उडान बन्द गरेको छ । एयरलाइन्सले चीनका तीन शहरको उडान तत्कालका लागि बन्द गर्ने निर्णय गरेको हो ।

नेपाली र चिनियाँ लगानी रहेको हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनका पाँच शहरमा उडान गर्दै आएको छ । पाँचमध्ये तीन शहरको उडान बन्द गरेको एयरलाइन्सले जनाएको छ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण हिमालयले आगामी माघ १८ (फ्रेबुअरी १ तारिख) गतेदेखि उडान स्थगित गर्ने निर्णय भएको छ ।

हिमालय एयरलाइन्स कर्मचारीका अनुसार, कोरोना भाइरसको प्रकोप पूर्ण रुपमा बन्द नहुँदासम्म चीनको स्यानजेङ, चाङसा र गुओइङ शहरमा उडान हुने छैन । हिमालयले मंसिर ३ गतेदेखि गुओइङ, मंसिर ५ गतेदेखि चाङसामा उडान सुरू गरेको थियो । तीन शहरको उडान बन्द गरेपनि बेइजिङ र छोइछिङ शहरको उडान भने जारी रहने श्रेष्ठले बताए । हिमालयले कात्तिक १० गतेदेखि सातामा तीन उडान गर्ने गरि बेइजिङ उडान सुरु गरेको थियो ।

सन् २०१४ अगस्टमा स्थापित हिमालय एयरलाइन्सले मलेसियाको क्वोलालम्पुर, साउदी अरबको दमाम, युएईको अबुदाबी, दुबई, बंगलादेशको ढाँका, कतारको दोहा र चीनका पाँच शहरमा उडान गर्दै आएको छ । हिमालयसँग एयरबस ए–३२० सिरिजका १५८ सिट क्षमताका तीन वटा विमान छन्। जसमा केही समय अघि एउटा एयरबस भियतनामको ब्याम्बो एयरलाई एक वर्षका लागि भाडामा दिएको छ ।

चीनको वुहान शहरबाट सुरू भएको कोरोना भाइरस महामारीका रुपमा विभिन्न देशमा फैलिएको छ । बिहीबारसम्म यो भाइरसका कारण चीनमा १७० जनाको मृत्यु भएको छ । आठ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । जसले गर्दा अन्य देशका विमानसेवा कम्पनीले पनि चीन उडान तत्कालका लागि बन्द गर्न थालेका छन्। जापान लगायतका केही देशले चीनमा रहेका आफ्ना नागरिकलाई विमान चार्टर गरेर फर्काएका छन् ।

चीनको वुहानमा रहेका नेपालीले पनि घर फर्किन इच्छा जनाएका छन् । उनीहरू उद्धारको पर्खाइमा रहेको समाचारमा जनाएको छ ।
विश्व स्वास्थ्य संघले संसारभर सतर्क रहन आग्रह गरेको छ । यो संसारका लागि नै खतरा रहेको औल्याउँदै सतर्कता अपनाउन आग्रह गरेको हो । चीनमा प्राणघातक बन्दै गएको कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिन थालेको छ । अहिले भने मानिसबाट मानिसमा सर्न थालेको छ । जसले गर्दा चीनमा संक्रमितको उपचार गरिरहेका १५ स्वास्थ्यकर्मी समेत बिरामी परेका छन् ।

Leave A Reply

Your email address will not be published.