कोरोना भाइरसले विश्व आतंकित, आज विश्व स्वास्थ्य संगठनको बैठक बस्दै

0

काठमाण्डौं – चीनवाट फैलिएको कोरोना भाइरसले विश्वका धेरै देशलाई प्रभावित पार्दे लगेको छ । यो भाइरस संक्रमणका कारण ठुला देशहरु प्रभावित हुने संकेत देखिएपछि अहिले संसारभरका मानिसहरु चिन्तित वनेका छन् । यो गंभिर विषयमा छलफल गर्न विश्व स्वास्थ्य संगठनको वैठक आज विहिवार बस्न लागेको विभिन्न संचारमाध्यमहरुले जनाएका छन् ।

चीनको बुहान शहरबाट फैलिएको कोरोना भाइरसको प्रभाव बढ्दै गएको हो । बुहान कोरोना भाइरस मानिसबाट मानिसमा सर्ने भएकाले पनि यसको जोखिम विश्वभर देखिएको हो । चीनमा मात्र भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । यस्तै, ५०० जना भन्दा धेरै मानिस यस भाइरसबाट संक्रमित भएका छन् ।

बुहानबाट शुरु भएको यस भाइरसको प्रभाव बेइजिङ, मकाउ, ताइवान लगायत अन्य चिनियाँ शहरसम्म पुगेको छ । बुहानमा यसको असर अझै बढ्ने देखेर सार्वजनिक यातायात बन्द गरिएको छ । यस शहरका मानिसहरुलाई अन्य शहरमा यात्रा नगर्न आग्रह गरिएको छ ।

चीनमा मात्र नभइ यस भाइरसको असर अन्य देशमा समेत देखिएको छ । अमेरिका,थाइल्यान्ड, दक्षिण कोरिया, अष्ट्रेलियामा समेत कोरोना भाइरसको प्रभाव देखिएको छ । बेलायती वैज्ञानिकहरुले भने यस भाइरसको असर एक हजार भन्दा धेरै व्यक्तिहरुलाई भएको हुनसक्ने दाबी गर्दै आएका छन् ।

भाइरस फैलिँदै गएको अवस्थामा विश्वभर विमानस्थलहरुमा सावधानी अपनाउन शुरु भइसकेको छ । चिनियाँहरु अहिले नयाँ वर्षको विदामा धेरै संख्यामा चीनबाट अन्य देश घुम्न पुगिरहेकाले कोरोना भाइरस अन्य देशमा फैलिन सक्ने चेतावनी चिनियाँ अधिकारीहरुले नै दिइसकेका छन् । त्यसैले यस भाइरसको संक्रमण फैलिँदै गर्दा अधिकांश अन्तर्रा्ष्ट्रिय विमानस्थलहरुमा चीन हुँदै आउने यात्रुहरुको स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको छ ।

सिंगापुर, हङकङ, अमेरिका, बेलायत, भारतलगायतका राष्ट्रहरुमा पनि चीनबाट आउने यात्रुहरुको स्क्रिनिङ गर्न सुरु गरेको छ । नेपालमा पनि चीनबाट धेरै संख्यामा मानिसहरु आइरहने हुँदा यहाँ पनि सावधानी अपनाउनुपर्ने चिकित्सकहरुले माग गर्दै आएका छन् ।

पहिला यो भाइरस जनावरमा मात्रै देखिने गरिएको थियो । मानिसमा भने यो भाइरसको कुनै संक्रमण हुँदैन थियो । तर, बुहान प्रान्तबाट फैलिन शुरु भएको नयाँ किसिमको कोरोना भाइरस भने मानिसबाट मानिसमा सर्ने तथ्य मंगलबारमात्रै सार्वजनिक भएको छ । विशेषगरी श्वासप्रणालीबाट यो भाइरस मानिसबाट मानिसमा सर्ने गरेको पाइएको छ । यद्यपि, चिनियाँ वैज्ञानिकहरुले यस भाइरसको वास्तविक स्रोत अझै फेला पार्न सकेका छैनन् ।

भाइरसको संक्रमण अझै बढ्ने देखिएपछि विश्व स्वास्थ्य संगठनले विश्वभर आपतकाल घोषणा गर्न सक्ने बताइएको छ । बुधवार बसेको संगठनको बैठकले आपतकाल घोषणा नगरेपनि यस भाइरसको संक्रमण र महामारी फैलिनसक्ने अवस्था बारे अनुसन्धान रिपोर्टहरु माग गरेको थियो । बिहिवार पनि संगठनले विभिन्न विज्ञहरु डाकेर फेरि वैठक राखेको हो । ( स्रोत:विभिन्न समाचार एजेन्सीको सहयोगमा )

Leave A Reply

Your email address will not be published.