कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयन सुरु

0

कर्णाली प्रदेश सरकारले ‘कर्णाली उज्यालो कार्यक्रम’ कार्यान्वयन सुरु गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रबीच कार्यक्रम कार्यान्वयनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएसंगै कार्यान्वयन प्रक्रिया सुरु भएको हो ।

मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको प्रमुख आतिथ्यतामा भएको हस्ताक्षर कार्यक्रममा कर्णाली उज्यालो कार्यक्रमका र्यान्वयनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव लक्ष्मीकुमारी वस्नेत र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले हस्ताक्षर गरेका थिए ।

कार्यक्रम कार्यान्वयनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कार्यान्वयन इकाई स्थापना गर्ने र प्राविधिक सहयोग वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले उपलव्ध गराउने भएको छ ।

पहिलो चरणमा आर्थिक तथा प्राविधिक कारणले निर्माण कार्य पुरा हुन नसकेका कर्णालीका विभिन्न जिल्लामा रहेका लघु तथा साना जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न गरिनेछ । तीआयोजना सम्पन्न गर्न प्रदेश सरकारले कर्णाली उज्यालो कार्यक्रममार्फत बजेटको व्यवस्था गर्न सचिव वस्नेतले बताइन् ।

हस्ताक्षर कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीका ग्रामीण क्षेत्रमा राष्ट्रिय विद्युत् प्रशारण लाइन विस्तार गर्न केही समय लाग्ने भएकोले लघु तथा साना जलविद्युत् आयोजनाको निर्माण आवश्यक रहेको बताए ।

मुख्यमन्त्री शाहीले यसअघि राज्यको करोडौं बजेट लगानी भएका तथा केही आर्थिक एवं प्राविधिक सहयोगको अभावमा निर्माण हुन नसकेका आयोजनामा लगानी गर्दा राज्यले गरेको लगानी खेर नजाने र जनताले पनि छिटो उज्यालो पाउने भएकोले प्रदेश सरकार त्यस्ता आयोजनामा लगानी गर्न तयार भएको बताए ।

कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताउँदै मुख्यमन्त्री शाहीले कार्यान्वयनमा ढिलासुस्ती र लापरबाही नगर्न निर्देशनसमेत दिएका छन् । कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकारले ५० करोड ९ लाख बजेट विनियोजन गरिएको छ ।

Leave A Reply

Your email address will not be published.