काठमाण्डौं – नेपालको इतिहासमा २४० बर्ष (१०३बर्षे राणाशासन समेत) भन्दा बढी नेपालको शासन सत्ताको बागडोर सम्हालेको शाह बंशिय राजसंस्था नेपालको राजनैतिक परिदृश्यबाट नै गायब भएको पनि एक दशक नाघ्यो । यो एक दशकमा नेपालको राजनीतिले पनि नयाँ इतिहास निर्माण गरिसकेको अवस्था छ । संघीय गणतन्त्रात्मक शासन व्यवस्था, धर्म निरपेक्षता, समावेशी र समानुपातिक प्रणाली अहिले हाम्रा प्रमुख उपलब्धिको रूपमा रहेका छ्न् ।
तर २४० बर्षदेखी नेपालको सत्ताको बागडोर सम्हालेर अहिले राजनैतिक रुपमा मृत प्रायः देखिएको राजसंस्था फर्काउने कसरतमा सानादेखी निकै ठुलासम्म राजनीतिका खेलाडीहरु मैदानमा रहेको आकलन गरिएको छ । तर खेलाडी धेरै भएपनी दर्शक (जनसमर्थन) भने निकै न्यून रहेको यथार्थ कसैबाट छिपेको अवस्था छैन् । अहिले राजसंस्था पुनःस्थापन पक्षधरहरूलाई खट्किएको अभाव भनेको खेल संचालन गर्ने अम्पायर अर्थात सर्वस्वीकार्य नेतृत्वको हो । संवैधानिक राजसंस्था पुनःस्थापनको अभियानमा लागेका एक अभियान्ताले कुराकानीको क्रममा बताएको वाक्यांश हो यो । यसले पनि प्रष्ट पार्छ राजसंस्था पुनःस्थापन पक्षधरको सबैभन्दा ठूलो समस्या भनेकै सर्वस्विकार्य नेतृत्वको अभाव !
अहिले नेपालमा घोषित वा अघोषित रुपमा राजसंस्था (कसैले राजतन्त्र) पुनःस्थापन गर्नको लागि २ दर्जन जति समूहहरु कुनै न कुनै रुपमा क्रियाशिल रहेको बताईन्छ । राजसंस्था समर्थको उनै २२ से २४ से समूहका अगुवाहरु नै एक अर्काको समर्थन गर्ने कुरा त छाडौं उछितो काड्न समेत पछि नपर्ने एक राजावादी अगुवाको अनुभव छ । ‘यस्तो शैलीले पनि राजसंस्था पुनःस्थापन हुन्छ ? उनको प्रश्न छ ।
राजसंस्थाको ब्याज खान मात्रै आवरणमा धेरै झुन्डहरु सामेल भएको उल्लेख गर्दै राजा निकट रहेका एक राजसंस्था समर्थकले ‘राजाको नाम लिएर ब्याज खाएका एकीकृत राप्रपा र राप्रपाका नाममा पशुपति शमशेर र कमल थापाले घोडा चढेको देखेर अरुले पनि धुरी चढ्न खोजेका हुन्’ । राजसंस्था पुनःस्थापन यिनिहरुको प्राथमिकता मै नरहेकोु उनको भनाई छ । यिनिहरुको उदेश्य भनेको राजाको नाममा कसरी धेरै भन्दा धेरै लाभ हासिल गर्न सकिन्छ वा राजसंस्था पुनःस्थापन भै हाल्यो भने सबैभन्दा पहिला अवसर आफू वा आफ्ना आफन्तले पाउन भन्नकै खातिर राजावादी बनेका धेरै समूह रहेको उनको आकलन छ ।
हिन्दु अधिराज्य सहित राजसंस्था पुनःस्थापनको यो अभियानलाई संयुक्त मोर्चाको रूपमा संचालन गर्न सक्रियता पुर्वक लागिरहेका एक राजसंस्था समर्थकले राजावादी वा राजसंस्था पुनःस्थापनको नाममा लागिरहेका समूह र तिनको नेतृत्वको अवस्थाको बारेमा कुरा गर्दै संयुक्त मोर्चा बनाउन सबै सहमत रहेपनी त्यो आफ्नो नेतृत्वमै बन्नुपर्छ भन्ने अडानमा रहँदा सबैभन्दा ठूलो समस्या आएको र यसले राजसंस्था पुनःस्थापनको अभियानमा नै धक्का पुगेको धारणा राखे ।
हुन पनि राजसंस्था पुनःस्थापन वा हिन्दू अधिराज्यको स्थापनार्थ भनेरै राष्ट्रिय प्रजातन्त्र पार्टी र यसका अध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापन र हिन्दू राज्यको नाममा जनमतको दोहन मात्रै गरेनन् । २०७२ मा संविधान जारी भै सकेपछि आफैंले असहमत दर्ज गराएको संविधानकै आधारमा बनेको तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी नै हुन पुगे उपप्रधान सहित परराष्ट्रमन्त्री नै बनेर त्यो मात्रै होइन संघीयता कार्यान्वयनको लागि महत्त्वपूर्ण मानिएको प्रदेशको अस्थायी राजधानी तोक्ने काममा समेत उनको निकै ठूलो दिलचस्पी रह्यो ।
उनकै जोडबलमा बाग्मती प्रदेशको राजधानी हेटौंडा तोकीयो जुन अहिले स्थायी राजधानीमा रुपान्तरण भै सकेको छ । त्यसपछि नै राप्रपाको अधोगती सुरु भएको मान्नेहरुको जमात निकै ठूलो छ । त्यस्तै हाल एकीकृत राप्रपाका हर्ताकर्ता रहेका पशुपति शमशेर जबराको हाल पनि थापा भन्दा भिन्न नरहेको स्वयं राजावादीहरुनै बताउँछन् ।
त्यसपछि पनि पुरानै र नयाँ समेत गरेर राजसंस्थाको पुनःस्थापन र हिन्दू अधिराज्यको परिकल्पना गर्दै तयार गरिएका संघ संस्थाको संख्या भने दिनानुदिन बढिरहेको छ तर राजसंस्था पुनःस्थापन कुरा भने झन भन्दा झन पर धकेलिएको राजावादी हरुकै बुझाई छ । नेपाली कांग्रेससँग असन्तुष्ट हुँदै नेपाली कांग्रेस विपी नामक नयाँ राजनैतिक दल खोलेका काठमाडौ महानगरपालिकाका पूर्व मेयर हरिबोल भट्टराई राजसंस्था पुनःस्थापनको नेतृत्व गर्न सक्ने पात्र भएपनी उनको नेतृत्व क्षमता र आर्थिक स्रोत व्यवस्थापनमा कमजोर रहेकाले हामी पैसा खर्च गरेर हरिबोललाई नेता बनाउने भन्ने प्रश्न राजसंस्था समर्थकहरु नै गर्ने गर्छन । उनको उमेर र सक्रियताले पनि अब सम्पूर्ण राजावादी र हिन्दू राज्य पुनःस्थापन समर्थकको नेतृत्व गर्ने ल्याकत उनको छैन भन्नेहरुकै बाहुल्यता छ समर्थकहरुमा पनि ।
राजसंस्था पुनःस्थापन बिडों थाम्ने गरि पूर्वराजा ज्ञानेन्द्र शाहका नातामा सालो पर्ने निक्ष शमशेर पनि यो समूहको नेतृत्व गर्ने आंकाक्षा सहित मैदानमा आइपुगेका छन् । विश्वहिन्दू महासंघ कब्जा गरेर त्यसमार्फत राजसंस्था पुनःस्थापन गर्ने अभिप्राय स्वरुप विश्व हिन्दू महासंघको नेतृत्व हत्याउन निकै प्रयास गरेपनी त्यो सफल हुन नसकेपछि ॐ कार महाअभियान मार्फत राजसंस्था फर्काउने यात्रामा रहेका छन् । राजतन्त्रकै समयमा सञ्चारमन्त्री समेत बनिसकेका राणा राजसंस्था हटेको समयदेखि आजसम्म कहाँ थिए र अहिले राजसंस्था पुनःस्थापन हुन सक्ने संकेत देखिएपछि मात्रै सडकमा आएको राजावादीहरुकै आरोप छ ।
राजसंस्थाको विधिवत अन्त्य भएको यत्रो समय बितिसक्दा समेत राणा कहाँ थिए ? र के गर्दै थिए भन्ने प्रश्नको उत्तर उनकै समर्थकलाई पनि थाहा छैन । हिन्दू अधिराज्यको पुनःस्थापनको साथै राजसंस्था पुनःस्थापन गर्ने उनको अभियानलाई राष्ट्रिय एकता परिषदका शरदचन्द्र दाहाल लगायको समर्थन रहेपनी उनलाई नेता मान्न अरु समूह तैयार त छैनन् नै अस्मिता भण्डारी हर्ताकर्ता रहेको विश्वहिन्दु महासंघसँग त यो समूहको पानी बाराबारकै अवस्था छ ।
अर्कोतिर राजसंस्था पुनःस्थापनको लागि भन्दै स्वतन्त्र नागरिक समाज मार्फत आफ्ना गतिविधि सञ्चालन गर्दै आएका हेम विक्रम सिलवाल पनि राजसंस्था समर्थकलाई एक ठाउँमा ल्याउंँदै नेतृत्व गर्ने कोशिश गरिरहे पनि उनी जनमानसमा परिचीत नरहेको भन्दै पूर्व राजा ज्ञानेन्द्रका निजि सचीव देखि सञ्चार संयोजक मात्रै हैन सकृय राजतन्त्रात्मक कालमा प्रभावसाली रहेका व्यक्ति वा समूह नै उनको विरोधमा रहेको बताइन्छ । अहिले नै पनि सिलवाललाई रोक्न पूर्व राजालाई विन्तीपत्र चढाउन समेत एउटा समूह पुगिसकेको सार्वजनिक भएको छ । स्वतन्त्र नागरिक समाजकै ब्यानरमा राजसंस्था पुनःस्थापनका लागि भन्दै ७२ घण्टे सत्याग्रह गर्दा पनि उनको समर्थनमा अधिकांश राजावादी देखिएनन् ।
पशुपति खड्का हर्ताकर्ता रहेको शाही युवा शक्ति र आफुलाई सन्तोष राजावादीको रुपमा परिचय दिने सन्तोष पौडेलको नेतृत्वमा रहेको वीर गोर्खाली जस्ता युवा समूह पनि अरुलाई नेता स्वीकार गर्न तैयार छैनन् । सनातन संस्कृतिको नाममा गतिविधि सञ्चालन गर्ने तारा लुइँटेल, केशरबहादुर बिष्टको राष्ट्रिय शक्ति नेपाल, किशोरी महतोको प्रजातान्त्रिक गठबन्धन, चन्द्र बहादुर रमदान नेतृत्वको राष्ट्रवादी नागरिक समाज, अनिल बस्नेतको शिवसेना नेपाल मात्रै होइन देव प्रसाद त्रिपाठी नेतृत्वको हिन्दू अधिराज्य पक्षधर मातृभुमिका लागि नेपालीको हवीगत पनि अन्य भन्दा फरक छैन ।
राष्ट्रिय शक्तिका संयोजक रहेका बिष्टको हाइट र नेतृत्व क्षमता मात्रै हैन आर्थिक स्रोतमा समेत अब्बल रहेपनी पारिवारिक सञ्जालबाट बाहिर निस्कन नसकेको आरोप छ । सबै राजसंस्था पुनःस्थापनको पछि लागेकाहरु राजापछि आफू नै ठूलो भएको भन्ने भ्रम छ । भलै पूर्व राजा ज्ञानेन्द्रसँग उनिहरुको गोरु बेचेको समेत साइनो छैन नत पूर्वराजा ज्ञानेन्द्र नै उनिहरु प्रती विश्वस्त छन । तर पनि राजतन्त्र पुनःस्थापनको नेतृत्व आफूले मात्रै गर्न सक्ने भ्रमका कारण राजसंस्था पुनःस्थापनको कुरा भने अब असम्भव जस्तो देखिन थालेको धेरै राजावादीहरुकै स्वीकारोक्ति छ ।
राजसंस्था पुनःस्थापन समर्थकहरु अहिलेसम्म पूर्व राजा ज्ञानेन्द्रको सहयोग प्राप्त हुने आशामा कार्यक्रम सञ्चालन गरिरहे पनि आजको दिनसम्म पूर्व राजाले कुनै समूहलाई आर्थिक या अन्य कुनै सहयोग गरेका छैनन् । कमल थापा र पशुपति शमशेरको पनि सहयोग केही बर्षदेखी बन्द गरेको छ निर्मल निवासले । पूर्व राजा पनि २०४७ को संविधानको औचित्य सकिएको निष्कर्षमा पुगेका कारण पनि राजसंस्था पुनःस्थापन कुरा पनि जेलिदैं गएको बताइन्छ । २०४७ को संविधान पनि नेपाली कांग्रेसकै नेतृत्वमा बन्नु र २०७२ को संविधान पनि कांग्रेसकै नेतृत्वमा बनेकाले पनि प्रजातान्त्रिक शक्तिले बनाएको संविधानलाई अस्वीकार गर्ने ल्याकत उनको पनि देखिंदैन ।
पूर्व पञ्चहरुको कुरा सुनेर तत्कालीन कांग्रेस सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई कमजोर बनाउने दाउमा जेल हालेका खुमबहादुर खड्कालाई निर्मल निवासले निकै मिस गरेपनी उनको निधनसँगै राजतन्त्र पुनःस्थापना र हिन्दू अधिराज्य पुनःस्थापनको कुराको पनि निधन भएकोमा भने दुइमत नरहेको एक राजावादी नेताले टिप्पणी गरे ।
दरबारकै षड्यन्त्रमा जेल परेका खड्का नेपाललाई हिन्दू अधिराज्यका साथै राजसंस्था पुनःस्थापन गर्ने कुराको नेतृत्व गर्नसक्ने नेता रहेकोमा निर्मल निवास पनि पछिल्ला दिनमा सकारात्मक रहेपनी उनको निधनसँगै राजसंस्था पुनःस्थापन र हिन्दुराज्य पुनःस्थापनको कुराको च्याप्टर क्लोज भएको बताइन्छ ।