५० करोड बढि दिए गोकर्ण रिसोर्टको जग्गा दिने हो ? रायमाझी

0

काठमाण्डौं – कम्युनिष्ट सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५० करोड बढि तिरे गोकर्ण रिसोर्टको जग्गा पाइने हो भनि नेपाली कांग्रेसका एक सांसदले प्रश्न राखेका छन् । उनले पैसा हुँदैमा किन्न पाउने भए आँफु ५० करोड बढि तिर्न तयार भएको घोषणा गरिदिए ।

आज राष्ट्रियसभाको बैठकमा कांग्रेस सांसद रमेशजंग रायमाझीले गोकर्ण रिसोर्टको जग्गा लिज वापत यति होल्डिङ्स प्रालिले दिएभन्दा ५० करोड बढी आफूले तिर्ने भन्दै भाडामा दिन सरकारसमक्ष प्रस्ताव गरेका छन् । उनले विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य अहिले भाडामा लिएको कम्पनीले भन्दा आफूले ५० करोड रुपैयाँ बढी दिने भन्दै आफूलाई नै भाडामा दिन सरकारलाई चुनौति दिए ।

उनले भने, ‘सरकारका मन्त्रीज्युहरु उपस्थित हुनुहुन्छ, सम्माननीय अध्यक्षज्यू र माननीयज्यू सबैलाई साक्षी राखेर म भन्न चाहन्छु, त्यो रिसोर्ट जति पैसामा दिएको छ त्यो भन्दा ५० करोड बढी म तिर्न तयार छु । सरकार दिन तयार छ मलाई? छैन, किन दिँदैन भने त्यहाँ ५० करोड भन्दा बढीको अनियमितता भएको छ ।’ उनले समय नसकिँदै नेपाल ट्रष्टको जग्गा गोकर्ण रिसोर्टलाई भाडामा दिने काममा ५० करोड बढी आर्थिक अनियमितता भएको दाबी गरे। प्रधानमन्त्री केही गिरोहको घेराभित्र मात्रै रमाउने गरेको र उनीहरुकै रिपोर्टिङका आधारमा मुलुकको विश्लेषण गर्ने गरिएको भन्दै उनले आपत्ति जनाए ।

सिंहदरबारबाट गर्नुपर्ने कामहरु पनि प्रधानमन्त्रीले बालुवाटारबाट गरेको भन्दै उनले आपत्ति जनाए । ‘प्रधानमन्त्रीको निवास हो बालुवाटार, प्रधानमन्त्रीको कार्यालय होइन बालुवाटार, प्रधानमन्त्री सिंहदरबार आउन छोडिसक्नुभएको छ । सिंहदरबारको आवश्यता परेन भने सिंहदरबारमा ताला लगाउने हो कि? प्रधानमन्त्री सुत्ने ठाउँमा मिटिङ गर्ने, भेटघाट गर्ने, अब प्रधानमन्त्रीले बाल्यकालमा लगाएका बस्त्रहरु प्रधानमन्त्री कार्यालय सिंहदरबारमा राख्ने हो ?’ सांसद रायमाझीले भने।उनले संविधानले गरेको व्यवस्था विपरित आएका विधेयकहरुलाई राष्ट्रियसभाले अस्वीकार गर्नुपर्ने बताए ।

सरकारले यति समुहलाई सरकारी जग्गा भाडामा दिएपछि चर्को आलोचना भइरहेको छ । यसप्रति सत्तारुढ दलकै केहि नेताले सरकारको आलोचना गरिरहेका छन् ।

Leave A Reply

Your email address will not be published.