प्रधानमन्त्री प्रेसप्रति अनुदार कि अभिमानी !

0

काठमाण्डौं – २०६२ सालको मध्यतिर नेपालमा प्रेस स्वतन्त्रताको चर्को आन्दोलन चलिरहेको थियो । अर्कोतिर ब्यबस्था परिवर्तनको आन्दोलन दलहरुले गरिरहेका थिए । पत्रकारहरुको आन्दोलनमा नागरिक समाजको पुर्ण समर्थन थियो । आन्दोलनको अग्रमोर्चामा नेपाली कांग्रेस सहित हाल सत्तारुढ नेकपाका कार्यकर्तादेखि पत्रकार थिए । तत्कालिन परिस्थितिलाई मध्यनजर राखेर राजा ज्ञानेन्द्र शाहको निर्देशनमा त्यतिबेलाका संचारमन्त्रीले मिडियालाई आंशिक नियन्त्रण गरेका थिए । तत्कालिन माओवादी युद्ध चरमोत्कर्षमा पुगेको कारण देखाएर प्रेसलाई ब्यवस्थित गरिएको सरकारले कारण देखाएको थियो ।

त्यतिबेला केपी शर्मा ओली पार्टीमा दोस्रो तहका नेता थिए । तत्कालिन एमाले महासचिब माधवकुमार नेपाल र झलनाथ खनालको अगुवाईमा पार्टी आन्दोलनमा होमिएको थियो । नेतृत्व नेपाली कांग्रेसले गरेपनि एमाले र भुमिगत रुपमा रहेको माओवादीको त्यो आन्दोलनमा समर्थन थियो । त्यो बेला सबै नेताले प्रेस स्वतन्त्रताका बारेमा बोल्दा केपी शर्मा ओली भने मौन थिए । देशभर प्रेस स्वतन्त्रताको आन्दोलन चलिरहेका वेला केपी शर्मा ओली भने मौनताका विच आन्दोलनको विपक्षीमा थिए । खरो आलोचक तथा लेखक खगेन्द्र संग्रौलाले त्यो बेला ओलीको आलोचना मात्र गरेनन्, दरवारिया कम्युनिष्ट भनेर आरोप लगाए । ओलीलाई लगाइएका ती आरोपजन्य लेखहरु देशका प्रमुख मिडियाका अखवारका पानामा छापिएका थिए । तत्कालिन एमाले भित्र शान्ति प्रक्रियामा माधवकुमार नेपालको प्रमुख भुमिका थियो । त्यो बेला कांग्रेस, एमाले र माओवादीले ओलीलाई शान्ति प्रक्रियामा खासै सहभागी गराएनन् । किनकी ओली यी सबै परिवर्तनमा अलि अनुदार हुन् कि भन्ने त्यहि वेला आलोचना शुरु भइसकेको थियो ।

परिवर्तनले कोल्टे फेर्दे गयो । ओली विभिन्न खुड्किला पार गर्दे पार्टीको अध्यक्ष वन्न पुगे । दोस्रो संविधानसभाको चुनाव र संविधान निर्माणपछि उनि देशको शासन संचालन गर्ने प्रधानमन्त्री वन्न सफल भए । उनको पहिलो प्रधानमन्त्री कार्यकाललाई विपक्षी नेपाली कांग्रेसले पनि निकै प्रशंसा गरेको थियो । त्यसपछि संघीयतामा आधारित विभिन्न तहका निर्वाचनमा उनको पार्टी देशको प्रमुख पार्टी वन्न पुग्यो । त्यहि नतिजाका कारण अहिले नेपाल कम्युनिष्ट पार्टी सत्तामा छ ।

तर, जब नेकपाले सत्ता चलाउन पायो अनि सरकारको काम भनेको प्रेसलाई गाली गर्ने र नियन्त्रणमै शक्ति खर्चन थाल्यो । सत्तारुढ दलका मन्त्रीदेखि वडा सदस्यसम्मका नेकपाका नेताहरु प्रेसप्रति विस्तारै अनुदार वन्दै गए । पछिल्लो पटक प्रधानमन्त्री ओली यति आक्रमक भएकी उनको यो वोली अहिले चौतर्फी आलोचनाको घेरामा परिसकेको छ । ‘मुटु भएका सम्पादक छैनन्’ भनेर उनले दिएको यो अभिब्यक्तिलाई उनि स्वंयले ब्याख्या गरेर पत्रकारले सरकारको प्रशंसा गरेन भन्ने अभिब्यक्ति दिएका छन् । प्रधानमन्त्रीको यो अभिमान हो वा अनुदार पुरानो शैली हो अथवा पत्रकारसंग गरिएको याचना हो अवका प्रेस मञ्चहरुमा वहस चल्दै जानेछ । प्रधानमन्त्रीका पछिल्ला यि अभिब्यक्तिवाट संचारकर्मी निम्न ५ प्रश्नको उत्तर सरकारसंग खोजेका छन् ।

१, प्रधानमन्त्री ज्यूले समृद्धिका नारा ल्याएर जनतालाई कसरी भ्रममा पारिदिनुभो, पछिल्ला विवरण हेर्दा प्रष्ट हुन्छ । महालेखा नियन्त्रकको विवरण अनुसार यो आर्थिक वर्षमा पुँजीगत खर्च १३.७ प्रतिशत मात्रै भएको छ । यो विकासको दर पनि हो । यो बर्ष आधा गइसक्यो । तर विकास खर्च जम्मा १३ प्रतिशत । अर्थात नेपालमा ८७ प्रतिशत विकासका काम ढप्प छ अहिले । गत वर्ष यहि दिनहरुमा विकास खर्च १८ प्रतिशत भएको थियो । तपाईहरुले आलोचना गर्ने कांग्रेस सभापति शेरवहादुर देउवा प्रधानमन्त्री भएकै वेला हेर्ने हो भनेपनि १४.३५ प्रतिशत विकासका काम भएको रिपोर्टले देखाउँछ । अब भन्नुस, तपाईलाई हामी कुन मनले प्रशंसा गरौं ? प्रधानमन्त्री ज्यू तपाईं, प्रेसप्रति अनुदार कि तपाईंको अभिमान ?

२, सरकारी अस्पतालमा उपचार गर्ने ठाउँ छैन । गतिलो उपचार ब्यवस्था छैन । फोहोर र दुर्गन्धले कुनै पनि सरकारी अस्पताल बसिसक्नु छैन । स्कुलतिरको कुरा गरौं । सरकारी स्कुलहरुमा बिद्यार्थी घटेका मात्र छैनन्, गुणस्तरीय पढाइ र सुविधा द्रुतगतिमा घट्दै गएका छन् । पैसा हुनेले नीजि अस्पतालमा उपचार गर्न जान्छ । नीजि स्कुलमा पढाउन पठाउँछ । अहिले नेपालमा गरिब र धनीको दुरी झन झन बढिरहेको विश्वका हरेक प्रतिवेदनले देखाइरहेको छ । अब भन्नुस, तपाईलाई हामी कुन मनले प्रशंसा गरौं ? प्रधानमन्त्री ज्यू तपाईं, प्रेसप्रति अनुदार कि तपाईंको अभिमान ?

३, ठुला जहाज खरिददेखि सुनकाण्डका भ्रष्टाचारीहरु खोइ ? हिजोका राज खलकका जग्गा सार्वजनिक मात्र गर्नु मात्र भएन, मनपरी ढंगले बांडिदिनुभयो । यति समुह त देखिएको मात्र हो । तपाईंका अन्य कार्यकर्ताले यस्ता सार्वजनिक जग्गा कति हडपेका छन् र जनता सताइएका छन् । कहिल्यै आँखा खोल्नु भएको छ ? बोल्दा भ्रष्टाचारमा शुन्य सहनशीलता भनिदिनुभो । तर अहिले इतिहासमै सर्वाधिक भ्रष्टाचार गर्ने सरकारमा दरिएको छ तपाईको यो शासन । किन जनतालाई पटक पटक झुठ बोलिरहनुहुन्छ । के यस्ता झुठको हामी साँची बसौं । अब भन्नुस, तपाईलाई हामी कुन मनले प्रशंसा गरौं ? प्रधानमन्त्री ज्यू तपाईं, प्रेसप्रति अनुदार कि तपाईंको अभिमान ?

४, सरकारले नगरेका कामको प्रशंसा प्रेसले गर्न सक्दैन । खोक्रो प्रशंसाको आसा नगर्नुहोस । यसवाट तपाईं मुक्ति पाउनु भएको छैन । यदि प्रेसले जर्वजस्ती तपाईंको प्रशंसा गर्नुपर्ने तपाईको अपेक्षा होइन भने किन हरेक पटक प्रेसलाई मात्र दोष दिनुहुन्छ ? अब भन्नुस, तपाईलाई हामी कुन मनले प्रशंसा गरौं ? प्रधानमन्त्री ज्यू तपाईं, प्रेसप्रति अनुदार कि तपाईंको अभिमान ?

५, तपाईंको पहिलो प्रधानमन्त्री कार्यकालमा प्रेसले कति तारिफ गरे त्यो वेलाका शब्दहरु खोजेर हेर्नुस । उत्तर तर्फका नाका खुलाउने तपाईंको प्रयास सकारात्मक थियो । त्यसमा प्रेसले तपाईंलाई मजाले प्रचार गरिदिएकै हुन् । त्यसपछि तपाईंको दोस्रो कार्यकालको यो अवधी आँफैले मुल्याकंन गर्नुभयो भने आँफुले आँफैलाई आलोचना गर्न थाल्नुहुनेछ । हामी कुन आधारले तपाईलाई प्रसंशा गर्ने साहस देखाऔं ? अब भन्नुस, तपाईलाई हामी कुन मनले प्रशंसा गरौं ? प्रधानमन्त्री ज्यू तपाईं, प्रेसप्रति अनुदार कि तपाईंको अभिमान ?

Leave A Reply

Your email address will not be published.