इराकबाट अमेरिकी सेना फिर्ता नहुने अमेरिकी रक्षामन्त्रीको भनाई

0

एएफपी – इराकबाट अमेरिकी सेना फिर्ता हुँदैछन् भन्ने कुरालाई अमेरिकी रक्षामन्त्रीले अस्वीकार गरेका छन ।

एक अमेरिकी सैन्य जनरल इराकबाट सेना फिर्ता हुनुपर्ने सुझाव दिँदै लेखेको पत्रपश्चात् पेन्टागनका प्रमुख मार्क एस्परले अहिले फौज फिर्ता गर्ने बेला नभएको स्पष्ट पारे ।

अमेरिकी सैन्य जनरलले लेखेको पत्रमा अमेरिकाले आगामी दिनहरुमा फौजलाई स्थानान्तरण गर्ने उल्लेख गरिएको बताइएको छ ।

इराकी संसदले इराकबाट अमेरिकी फौज फिर्ता हुनुपर्ने भनी सङ्कल्प प्रस्ताव पारित गरेपछि उक्त पत्र लेखिएको थियो ।अमेरिकी रक्षामन्त्रीले उक्त पत्र अहिले अमेरिकाले राखिरहेको अडानसँग नमिल्ने बताए ।

इराकमा इरानी सैन्य जनरल कासिम सुलेमानीको हत्यापश्चात् अमेरिकी सेनामाथि बढेको खतराबीच यस्तो अन्यौल सिर्जना भएको छ ।

इराकी प्रधानमन्त्रीले आफू पनि अमेरिकी सेना फिर्ता हुनुपर्ने पक्षमा रहेको बताएका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले इराकबाट आफ्नो सेना फिर्ता गर्नुपरेमा इराकमाथि कडा प्रतिबन्धहरू लगाउने चेतावनी दिएका थिए ।

गत शुक्रबार अमेरिकी सेनाको विशेष प्रकृतिको कारबाहीका क्रममा इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख कमाण्डर कासिम सुलेमानी मारिएका थिए ।

मारिएका ती सुलेमानीलाई अमेरिकाले विगतदेखि नै ‘आतङ्ककारी’ समूहको नाइके भएको बताउँदै आएको थियो । यो आक्रमण अमेरिकाको तयारीमा नै भएको बताइएको छ । जुन कुरा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले नै पुष्टि गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै उनको हत्याको निर्देशन दिएका बताइएको छ । आक्रमणका लागि ट्रम्पको निर्देशन रहेको अमेरिकाले नै बताएको छ ।

यता इरानका सर्वाेच्च नेताले अमेरिकी आक्रमणमा आफ्नो सेनाको जनरल मारिएपछि यसको कडा बदला लिने चेतावनी दिएका छन ।

इरानी सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीले यस्तो प्रतिक्रिया दिएका हुन । शुक्रवार इराकको बग्दादमा इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानी मारिएपछि उनले अमेरिकाविरुद्धमा कडा रूपमा बदला लिने बताएका हुन ।

इरानले देशभरी नै तीन दिनसम्मका लागि राष्ट्रिय शोकको पनि घोषणा गरेको थियो । त्यस्तै इरानी रक्षामन्त्री जावेद जारिफले शुक्रबार अमेरिकी सेनाले गराएको यो घटनालाई अन्तरराष्ट्रिय आतङ्कवाद भनी आरोप लगाएका छन ।

शुक्रबार भएको यस सैन्य कारबाहीपछि उत्तेजकरूपमा व्यवहार नगर्न र संयमता अपनाउन विभिन्न देशले आग्रह गरिरहेका छन् । यस कारबाहीको चीन, रुस र सिरियाले यस हवाई आक्रमणको आलोचना गरेका छन् तर युरोपेली सङ्घले भने थप हिंसा भड्किन नदिन सबै पक्षलाई संवेदनशील भएर संयमता अपनाउन आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.