सुन्तला बेचेर गाउँमै लाखौं आम्दानी

0

रुकुम पूर्वका किसाले सुन्तला बेचेर गाउँमै लाखौं आम्दानी गर्दै आएका छन् । सुन्तलाबाट यो वर्ष अहिलेसम्म ३ लाख आम्दनी भएको किसान रामबहादुर पुनले बताए । यो वर्ष अहिलेसम्म २५ क्वीन्टल सुन्तला बिक्री गरेको उनको भनाइ छ । प्रतिकिलो एक सयमा सुन्तला बिक्री हुने गरेको प्रेमले बताए ।

सुन्तला खेतीका लागि पकेट क्षेत्र मानिने छिङ, नाथिगाढ, स्यालापाखा, धपेलगायतका किसानलाई सुन्तला बिक्री गर्न भ्याइनभ्याइ छ । यस क्षेत्रका अधिकांश किसानले सुन्तला बेचेर जीविका चलाउँदै आएको वडाध्यक्ष खर्कसिंह थापाले बताए ।

छोराछोरीको पढाइ, घरखर्चका लागि सुन्तला खेती भरपर्दाे स्रोत बन्दै आएको उनको भनाइ छ । ‘सुन्तला बेचेर आएको आम्दानीले तीन छोराछोरी पढाएको छु,’ स्यालापाखाका अर्का किसान सुनज बुढाले भने, ‘एक सिजनमा चार लाखसम्म आम्दानी हुन्छ ।’ बगैँचा बनाएर प्रतीघर दुईसय बढी सुन्तलाका बोट लगाएको उनले बताए ।

घरमा आउने पाहुँनालाई उनीहरूले उपहारको रूपमा सुन्तला दिने गरेका छन् । सुन्तला खेती नगरेको गाउँमा कुनै घर भेटिँदैन । व्यावसायिक सुन्तला खेती गर्न यी गाउँ धेरै सम्भावना भएका क्षेत्र भएको गाउँपालिकाको भनाइ छ । यहाँको उत्पादन भएका सुन्तला सदरमुकाम रुकुमकोट, छिमेकी जिल्ला रुकुम पश्चिम, दाङ, नेपालगन्ज, बुटवललगायत सहरमा पुग्ने गरेको छ ।

गाउँमै सडक सञ्जाल पुगेकाले उत्पादन भएका सुन्तला बिक्रीमा भने समस्या नभएको किसानको भनाइ छ । बोटबाटै ताजा सुन्तला खरिद गर्न पाएपछि व्यापारीहरु सुन्तला खरिद गर्न गाउँमै पुग्ने गरेको स्थानीय सर्जन थापाले बताए ।

स्थानीय सरकारले पनि यो गाउँलाई सुन्तला खेतीका लागि पकेट क्षेत्र घोषणा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन् । किसानलाई सुन्तलाका विरुवा वितरण, गोडमेल सम्बन्धि तालिम, किसानले उत्पादन गरेको सुन्तलालाई सुरक्षित राख्ने चिस्यान केन्द्र निर्माणलगायतका काम गर्दै आएको उनको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.