प्रधानमन्त्रीको निशानामा प्रचण्ड, सभामुख चयन कहिले ?

0

काठमाण्डौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र अहिले आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वार्थको शिकार कहिले को बन्नुपर्ने हो त्यसको अत्तोपत्तो कसैलाई छैन ।

प्रधानमन्त्री ओलीको अबको निशानामा नेकपाकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहेको संकेत मिलेको छ । पार्टी एकताको लामो समयपछि राष्ट्रपति र प्रधानमन्त्रीको निगाहामा प्राप्त कार्यकारी अध्यक्षको हैसियत प्राप्त गरेपछि पनि प्रधानमन्त्री प्रति बफादार रहेका कार्यकारी अध्यक्ष प्रचण्ड आफैं भने प्रधानमन्त्रीको निशानाबाट बच्न सकेनन् । त्यसको पछिल्लो उदाहरण हो सभामुख चयनमा देखिएको रस्साकस्सी ।

जसरी भएपनी पार्टी र सरकारको केन्द्रमा रहने प्रधानमन्त्रीको रणनीतिको अबको शिकार प्रचण्ड बन्दै छन् । संसद सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कार प्रयास गरेको कुरा सार्वजनिक भएसँगै निवर्तमान सभामुख कृष्णबहादुर महराले राजिनामा दिएसँगै संसद सभामुख विहिन छ ।

पुस ११ गते नै संसदको हिउँदे अधिवेशन आह्वान भएपनी सत्तारूढ नेकपाले आफैंसँग राख्न खोजेको सभामुख पदको लागि अहिलेसम्म उम्मेदवार छनौट गर्न सकेको छैन । सूचना टाँस गरेर लगातार संसद बैठक स्थगित भै रहेको छ । सार्वभौम भनिएको संसद समेत सत्तारूढ दलका २ अध्यक्षको शक्ति संघर्षको चपेटामा परेको छ ।

गत पुस ३ गते नै प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डबीच रिक्त रहेको सभामुख पदमा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई बनाउने अनौपचारिक सहमति भएको थियो । तर स्थायी कमिटी बैठक चलिरहेको समयमा भएको उक्त अनौपचारिक सहमतिबारे पूर्व माओवादी समूहका नेताहरूले पार्टीका कार्यकारी अध्यक्ष समेत रहेका स्थायी कमिटीको बैठकको अध्यक्षता गरिरहेका प्रचण्डलाई सभामुख पद पूर्व एमाले समूहलाई दिईसकेको हो भन्दै प्रचण्डलाई सोधेपछी सभामुखमा अनौपचारिक सहमति भएको कुरा स्वीकार गरेका थिए । उक्त कुराको खुलसासँगै पूर्व माओवादी समूहले सभामुख पद नछाड्न कार्यकारी अध्यक्ष प्रचण्डलाई चेतावनीकै शैलीमा सुझाव दिएका थिए ।

यहिबीचमा प्रधानमन्त्री भर्खरै आफ्नो स्वास्थमा सुधार भएर आफ्नो सरकारी निवास फर्किएर राष्ट्रपतिसँगको परामर्शमा नेम्वाङ सभामुख हुने पक्का नहुँदासम्म पूर्व एमाले समूहबाटै उपसभामुख रहेकी शिवमाया तुम्बाहाङ्फेलाई नै निरन्तरता दिन सुझाव दिएपछि प्रधानमन्त्री ओली पहिला सभामुखको लागि नेम्वाङलाई उम्मेदवार सिफारिस गरेर मात्रै उपसभामुख चयन गर्ने रणनीतिमा लागेकोले गर्दा पनि सभामुख चयन लम्बिएको नेकपाकै नेताहरुको भनाई छ ।

सुरुमा नेम्वाङको नाममा अनौपचारिक सहमति जनाएका पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड पनिपछि राष्ट्रपति र प्रधानमन्त्रीको रणनीति बुझेपछि पूर्व माओवादी समूहबाटै सभामुख बनाउनुपर्ने अडान प्रस्तुत गरेपछि सभामुख चयनको प्रक्रिया अलपत्र छ ।

यहिबीचमा सभामुखबारे आफू नबोल्ने भन्दै पन्छिरहेका नेम्वाङले समेत प्रचण्डले पूर्व माओवादी समूहबाटै सभामुख बनाउने प्रचण्डको अडानपछि आफूलाई सभामुख बनाउन दुबै अध्यक्ष सहमत भै सकेको सार्वजनिक गरेपछि प्रचण्ड थप रक्षात्मक बन्न पुगेका छन । नेम्वाङको उक्त अभिव्यक्ति पनि प्रधानमन्त्रीकै सल्लाहमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डमाथि दबाब दिने उदेश्यले नै नेम्वाङले उक्त अभिव्यक्ति दिएको ठानिएको छ ।

चालु हिउँदे अधिवेशनबाट जसरी पनि एमसीसी पारित गराउने योजनामा रहेका प्रधानमन्त्री ओली आफ्ना विश्वासपात्रलाई नै सभामुख बनाउने रणनीतिमा छन । यदि नेम्वाङलाई सभामुख बनाउन नसकेमा अहिलेकै उपसभामुख तुम्बाहाङ्फेलाई नै सभामुख बनाउने राष्ट्रपति र प्रधानमन्त्रीको साझा रणनीति हो ।

जसको पहिलो बाधक कार्यकारी अध्यक्ष प्रचण्ड नै हुन् त्यसैले पनि प्रधानमन्त्रीको निशानामा प्रचण्ड हुनु कुनै अस्वभाविक कुरा भने होइन । तर प्रधानमन्त्री ओलीलाई नचिढ्याईकन देशकै ठूलो र शक्तिशाली पार्टीको अध्यक्ष बन्ने रणनीतिमा भने ठूलो धक्का लाग्नसक्ने जानकाहरु बताउँछ्न ।

अर्कोतिर स्थायी कमिटीको बैठक बाटै एमसीसीको प्रस्ताव पारित गराउने प्रधानमन्त्रीको योजना असफल हुनुमा कार्यकारी अध्यक्ष प्रचण्डको भूमिका रहेको प्रधानमन्त्रीको आशंकाले पनि प्रचण्ड प्रधानमन्त्रीको निशानामा परेको आकलन गरिएको छ ।

एमसीसी ईण्डो प्यासिफिक रणनीतिको अंग नभएको अवस्थामा मात्रै स्वीकार गर्ने भन्दै प्रचण्डले स्थायी समितिमा आएको एमसीसीको प्रस्तावलाई सचिवालयमै फिर्ता पठाउने निर्णय गरेका थिए । तर प्रधानमन्त्री भने बहुमतकै आधारमा भएपनी स्थायी कमिटीको बैठकबाट उक्त प्रस्ताव अनुमोदन गर्नुपर्ने रणनीतिमा थिए । त्यसमा प्रचण्डले असहयोग गरेको प्रधानमन्त्रीको ठहर छ ।

उता प्रचण्डलाई भने पूर्व माओवादी समूहले महरालाई फसाउने र एमसीसी प्रकरणका नाइके भएको भन्दै कुनै हालतमा पनि नेम्वाङलाई सभामुख बनाउन नहुने धारणा राख्नु र प्रधानमन्त्री प्रती आफूले इमानदारी पुर्वक सहयोग गर्दा गर्दै पनि आफुलाई नै पेल्ने रणनीति बनाएपछि प्रचण्ड सशंकित भएका हुन ।

विगतको सहमति बमोजिम पनि सभामुख पूर्व माओवादी समूहले नै पाउनुपर्ने मत पनि बलियो छ ।त्यसैले पनि नेम्वाङलाई कुनै हालतमा सभामुख स्वीकार नगर्ने रणनीतिमा प्रचण्ड लागेको स्रोतले जनाएको छ । जसलाई पूर्व एमालेकै माधव नेपाल समूहको पनि सहायता रहेको विश्वास गरिएको छ ।

अर्कोतिर प्रचण्डका विश्वासप्राप्त भनिएका अग्नि प्रसाद सापकोटालाई कुनै हालतमा पनि सभामुख स्वीकार नगर्ने रणनीतिमा प्रधानमन्त्री छन् । प्रधानमन्त्रीको उक्त कदममा राष्ट्रपतिको पनि साथ छ । साथै सभामुख पद पनि पूर्व एमाले समूहले नै पाउने हो भने सत्तारूढ हुनाका बाबजुद पूर्व माओवादी समूहको भने कुनै संवैधानिक निकायमा प्रतिनिधित्व रहने छैन । पूर्व माओवादी समूहले पनि सभामुख पदलाई आफ्नो अभिष्ट बनाउँदा पनि प्रधानमन्त्रीको निशानामा प्रचण्ड परेका हुन् ।

अर्कोतिर संसदको हिउँदे अधिवेशनमा एमसीसी सहित केही आफुअनुकुलका महत्त्वपूर्ण निर्णय गराउनुपर्ने रणनीतिमा रहेका ओलीलाई आफूप्रतिका बफादारलाई नै सभामुख बनाउनै पर्ने बाध्यता छ । सापकोटा सभामुख हुने बित्तिकै प्रचण्डले असहयोग गर्नसक्ने आंशका पनि छ ।

महराको कार्यशैलीलाई लिएर ओलीले पटकपटक सार्वजनिक रुपमा असन्तुष्टि जनाएकै हुन् । यसले पनि सकेसम्म नेम्वाङलाई सभामुख बनाउने अन्तिम अभिष्टमा ओली लागेका छन । यसो हुन सम्भव नभएमा पूर्व एमाले समूहबाटै उपसभामुखलाई नै सभामुखमा निरन्तरता दिन राष्ट्रपतिको सुझाव रहेको बताइन्छ ।

राष्ट्रपतिकै सुझावका आधारमा प्रधानमन्त्री पनि अहिले नै उपसभामुखको राजिनामा गराउन इच्छुक नरहेको बताईदैंछ । यसले भने सार्वभौम भनिएको संसद बन्धक बन्दै गै रहेको छ । अहिलेसम्म पनि सभामुख चयन कहिले हुन्छ भनेर भन्न सकिने अवस्था छैन भने अर्कोतिर प्रधानमन्त्रीको निशानाको असर प्रचण्डलाई कस्तो पर्छ त्यो पनि हेर्न बाँकी नै छ ।

Leave A Reply

Your email address will not be published.