कांग्रेसको संस्थापन इतर पक्षका नेताको सक्रियता बढ्यो

0

काठमाण्डौं – नेपाली कांग्रेसका संस्थापनइतर पक्षका नेताहरु शनिवार दिनभरि सक्रिय वने । पछिल्लो पटक संस्थापन पक्षसंग असन्तुष्टि राखेका यी नेताहरुले पार्टी भित्रको विवाद सार्वजनिक रुपमा पनि ब्यक्त गर्न थालेका छन् ।

शनिवार बरिष्ठ नेता रामचन्द्र पौडेल चितवनमा र अर्का केन्द्रीय सदस्य डा. शेखर कोइराला विराटनगर पुगेर संस्थापन पक्षसंग असन्तुष्ट पोखेका छन् ।

केन्द्रीय सदस्य कोइरालाले लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन आफ्नो पार्टी सक्षम रहेको बताएका छन् । नेपाल तरुण दल क्षेत्र नं ६ मोरङद्वारा शनिबार (१९ पुस) आयोजित तरुण भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस लोकतन्त्रलाई धरापमा पार्ने शक्तिसँग जुध्न तयार रहेकामा जोड दिए ।

नेता डा. कोइरालाले देशमा महँगी र भ्रष्टाचारलाई नियन्त्रण गरी आम जनतालाई अनुभूति दिने किसिमको काम गर्न सरकारलाई सुझाव दिँदै जनताले सरकार कहाँ छन् खोज्न नपरोस् भन्ने दिशातर्फ सरकार गम्भीर हुनुपर्ने धारणा राखे । युवा शक्तिले देशलाई अग्रगामी दिशातर्फ लैजानुपर्ने उनको तर्क थियो ।

नेपाली कांग्रेस विराटनगर महानगरपालिका समितिका सभापति एवं महानगरपालिका प्रमुख भीम पराजुलीले युवाहरुको सक्रियताबाट नै नेपालको विकास तीव्र गतिमा हुनेमा जोड दिए भने कांग्रेस महासमिति सदस्य वसन्त भट्टराई, प्रदेशसभा सदस्य केदार कार्की, शिवनारायण गनगाईं, विराटनगर महानगरपालिका उपप्रमुख इन्दिरा कार्कीलगायतले पनि आआफ्नो मन्तव्य राखेका थिए ।

उता, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चाहिँ पार्टीको पछिल्लो निर्णय सच्याउनुपर्ने भन्दै कांग्रेस शीर्ष नेतृत्वप्रति गुनासो पोखेका छन् । शनिबार भरतपुर विमानस्थल (चितवन)मा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पुस ११ गते गरिएको निर्णय सच्याउनुपर्ने जिकिर गरे ।

‘पार्टी सभापतिको कार्यशैलीप्रति म सहमत छैन, मैले प्रस्तुत गरेका सहमतिका बुँदाहरु टुङ्गो लगाउनुपर्छ, अनिमात्र पार्टी एक हुन्छ । उहाँले पार्टीमा छलफल र सल्लाह गरौँला भन्दाभन्दै सभापतिले एकलौटी गरेका छन्,’ पौडेलको दुखेसो छ ।

ज्ञातव्य छ, पौडल समूहको बहिष्कारका बीच नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले एक वर्ष म्याद थप गर्दै १४औँ महाधिवेशनको मिति तोकेको थियो । उनले भने, ‘पार्टीमा केही समस्या छन्, समाधानका लागि मैले नौबुँदे एजेन्डा प्रस्तुत गरेको थिएँ, त्यसमा छलफल हुँदै गर्दा एकलौटी निर्णय भयो ।

म पार्टीलाई सुधार गर्दै जनताको भरोसाको केन्द्र बनाउने मिशनमा छु, विकल्प कार्यकर्ताले खोज्छन् ।’ नेतृत्वको असक्षमताका कारणले नै बलियो प्रतिपक्षको भूमिका खेल्न नसकिएको आरोप पनि उनले लगाए ।

तर, सभापति देउवासंग जति नै असन्तुष्ट देखाएपनि पौडेल पक्षका नेताहरु देउवातिर लाग्न थालेका छन् । १३ औँ महाधिवेशनमा पौडेल समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका डा. नारायण खड्का, आनन्दप्रसाद ढुंगाना र गोविन्द भट्टराईले यतिबेला सभापति देउवा ‘क्याम्प’ रोजेका छन् ।

गएको आम चुनावमा पार्टीले लज्जास्पद हार बेहोर्दा पनि देउवाले नैतिक जिम्मेवारी नलिएको भन्दै पौडेल क्याम्पबाट बसाइँ सरेका चीनकाजी श्रेष्ठ र नरहरि आचार्य पनि फेरि देउवा क्याम्प मै फर्किएका छन् । यो क्याम्प परिवर्तनले संस्थापनइतर पक्षलाई फेरि पनि धक्का पुग्ने संकेत देखिएको छ ।

Leave A Reply

Your email address will not be published.