सांसददेखि मेयरमा पराजितलाई ओली–प्रचण्डको तक्मा

0

काठमाण्डौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभाका लागि उम्मेदवारहरुको नाम टुंगो लगाएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले आगामी माघ ९ गते हुने निर्वाचनका लागि १६ जना उम्मेदवारको नाम टुंगो लगाएको हो ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्य उपस्थित उक्त बैठकले नाम टुंगो लगाएकामध्ये सांसददेखि मेयरमा पराजित भएका समेत परेका छन् ।

बैठकले तय गरेको नाममा इन्दु गौतम, देवेन्द्र दाहाल, गोपी अछामी, तुलसा दाहाल, राधेश्याम पासवान, गंगा बेलवासे, डा. बेदुराम भुसाल, भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, विमला घिमिरे, गोपाल भट्टराई, जगप्रसाद शर्मा, सुमित्रा बिसी, मायाप्रसाद आचार्य, तारामान स्वाँर र शारदा भट्ट रहेका छन् ।

जसमध्ये नेकपाका प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा पराजित व्यक्ति हुन् । उनी गत आमनिर्वाचनमा गोरखा २ मा बाबुराम भट्टराईसँग पराजित भएका थिए । यस्तै भगवती न्यौपाने पनि मेयरमा पराजित भएकी हुन् । उनी तनहुँको भानु नगरपालिकाको मेयरमा उदयराज गौलीसँग पराजित भएकी थिइन् ।

नेकपा प्रवक्ता श्रेष्ठलाई अर्थमन्त्री बनाउनकै लागि राष्ट्रिय सभाको उम्मेदवार बनाइएको स्रोतले जनाएको छ । वर्तमान अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल एक महिना मात्र बाँकी छ । उनी अर्थमन्त्रीमा पुनः नदोहोरिने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.