इरान अमेरिका सम्बन्ध इतिहासकै नाजुक मोडमा, मध्य पुर्व अशान्त

0

काठमाण्डौं – यतिबेला इरान र अमेरिकाबिचको सम्बन्ध इतिहासकै संवेदनशील मोडमा पुगेको छ र नाटकीय रुपले नाजुक मोडमा पुगेको बताईंदै छ । वाक युद्ध र अप्रत्यक्ष लडाइको इतिहास भएपनी प्रत्यक्ष आक्रमणकै तहमा अमेरिका उत्रिएपछि अहिले मध्य पुर्वको शक्ति सन्तुलनमा हलचल मच्चिएको छ ।

अमेरिकी हवाई आक्रमणमा इरानमा राष्ट्रिय हिरोको छवि बनाएका शिया लडाकुका जनरल सुलेमानी मारिएपछि इरानले पनि अमेरिकामाथी घातक हमला गर्नसक्ने सम्भावना उत्तिकै छ । इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनिले अपराधीहरुले कठोर बदलाको सामना गर्नुपर्ने बताईसकेका छन ।

प्रतिशोधको आवेगले इरान अमेरिका प्रत्यक्ष युद्धको सम्भावना तत्काल नदेखिएपनी नकार्न भने सकिने अवस्था पनि छैन । इरानमा विदेशमन्त्री भन्दा पनि शक्तिशाली मानिएका र सर्वोच्च नेताको प्रत्यक्ष सम्पर्क र इशारामा विदेशी भुमिमा इरानको क्षेत्रीय शक्ति विस्तारमा महत्त्वपूर्ण हिस्सा मानिने आफ्ना सैन्य जनरलको हत्याको बदला कुन किसिमको हुनसक्छ भन्ने कुरा अहिले केवल अनुमान मात्रै गर्न सकिन्छ प्रष्ट भन्न सकिने अवस्था भने छैन ।

सुलेमानी हत्याको बदला इरानले इराकमै लिन सक्ने सम्भावना भने प्रवल छ । अमेरिकाले केही दिनअघि इरान समर्थकहरुको आडमा इराक स्थित अमेरिकी दूतावासमा हमला गरेको प्रतिशोधको बदला स्वरुप जनरल सुलेमानीको हत्या गरेको थियो । त्यसको पृष्ठभुमिमा अमेरिकी ‘आरक्यू – ४ ए ग्लोबल हक’ ड्रोन खसालेको र तेल बोक्ने जहाजहरुमाथी भएको आक्रमणको दोष पनि अमेरिकाले इरानलाई नै जिम्मेवार ठहर्‍याएको थियो । यसैको जवाफ दिन अमेरिकाले इरानले सबैभन्दा संवेदनशील ठाउँमा प्रहार गर्ने योजना मुताविक नै अमेरिकी राष्ट्रपति ट्र्म्पको आदेशमै सुलेमानीको हत्या गरेको कुरा सार्वजनिक भै सकेको बिषय हो ।

सुलेमानीको हत्या पछि इराकमा अमेरिकाको भविष्यलाई लिएर पनि प्रश्न उठ्न थालेको छ । खासगरी अहिलेको इराक सरकारमा इरान र अमेरिकी प्रभाव उत्तिकै रहेको विश्वास गरिन्छ । अमेरिका इरान सम्बन्धको भुमरीमा अब इराक सरकार फस्ने निश्चित जस्तै छ । जसले इराकमा अझै अस्थिरता निम्त्याउन सक्ने चिन्ता पनि व्याप्त छ भने अर्कोतिर इराकमा अमेरिकाको छवि दिनानुदिन खराब बन्दै जानू पनि अमेरिकाको लागि अर्को चुनौती हो भने सुलेमानीको हत्यालाई लिएर चीन र रुसले पनि सार्वजनिक रुपमै असन्तुष्टि जनाईसकेकोले गर्दा पनि यो दुईपक्षीय मात्रै नभएर बहुपक्षीय हुने कुरालाई पनि अस्वीकार गर्न सकिदैन ।

अर्कोतिर इरानलाई दबाब दिएर नै सम्झौतामा ल्याउने अमेरिकी राष्ट्रपति ट्रम्पको रणनीतिले पनि अब खासै काम नगर्ने आकलन गरिदैंछ । त्यो सँगै अमेरिकी राष्ट्रपति ट्रम्पको मध्यपुर्वको रणनीतिको वास्तविक परिक्षणको अवधि पनि मानिदैंछ । यस्तोमा कम्तीमा इरानको जवाफी कार्वाहीको लागि अमेरिका कत्तिको तैयार छ भन्ने प्रश्न नै हो । बाराक ओबामाको कार्यकालमा ह्वाइटहाउसका लागि मध्य पुर्व र खाडीका सुरक्षा रणनीतिकार रहेका फिलिप गार्डनको भनाईमा सुलेमानीको हत्या अमेरिकाले गर्नु भनेको इरानको विरुद्ध ‘युद्धको घोषणा’ सरह भएको प्रतिक्रिया दिएका छन ।

यसले पनि अमेरिकाको पछिल्लो हवाई आक्रमण नै मध्यपुर्वमा तनाव र सम्भावित युद्धको कारण बन्ने देखिएको विश्लेषण गरिदैंछ । बग्दाद स्थित विमानस्थलबाट बाहिरिने क्रममा सुलेमानीसँगै इरान समर्थित बिद्रोही नेताहरू अमेरिकी हवाई हमलामा मारिएका थिए ।

अमेरिका इरान दुबै देशले ठूलो युद्ध नचाहेको भएपनी परिस्थितिले भने निकै भयावह क्षेत्रीय युद्धमा रुपान्तरण हुने खतरा देखिदैंछ । अमेरिका र इरान दुबैका रणनीतिक साझेदार हुनाले पनि यो युद्धको मुल्य पूरा विश्वले चुकाउनु पर्ने हुन सक्छ ।

इरानले अमेरिकासँग युद्ध भएमा हर्मुजाको स्ट्रेट बन्द गरिदिने बारम्बार चेतावनी दिदैं आएको छ । पर्सियन र ओमनी खाडीको नजिकैको हर्मुजा स्ट्रेट भएर विश्वको कुल २० प्रतिशत तेल निर्यात हुने गरेको छ । युद्धका समयमा इरानले त्यसलाई बन्द गर्ने हरसम्भव प्रयास गर्नेछ भने अमेरिकाका लागि यो मार्गलाई सुचारु गर्नु प्रमुख चुनौती हो ।

अर्कोतिर इरानको सबैभन्दा शक्तिशाली सैन्य दस्ता रिभल्यूसनरी गार्ड कपर्स (आईआरजीसी) छापामार युद्धमा विश्वमै अग्रणी मानिन्छ । सिरिया र इराकमा जारी युद्धका क्रममा पनि आईआरजीसीका सैनिक अधिकारी तथा सैनिक जवानहरूले युद्धको अनुभव पनि हासिल गरिसकेका कारण अमेरिकासँग युद्ध भएको खण्डमा अमेरिकाको लागी प्रमुख चुनौती नै यहि छापामार शैलीको युद्धकौशल हुनसक्छ । त्यो सँगै छिमेकी मुलुकहरु इराक, अफगानिस्तान, पाकिस्तान लगायतका मुलुकबाट पनि लाखौं शिया स्वयं सेवक लडाकुलाई जम्मा गरि अमेरिकाविरुद्धको युद्धलाई अगाडि बढाउन सक्छ ।

त्यसबाहेक धर्मको जगमा खडा भएको एकमात्र शिया मुलुक पनि हो । अमेरिकासँगको युद्धका बेला इरानले आफ्नो प्रभावमा रहेका विश्वभरका उग्रवादी शियाहरुलाई अमेरिकी निशानामा आक्रमण गर्नको लागि प्रेरित गर्न सक्छ । त्यसबाहेक इरानले अफगानिस्तान र पाकिस्तानका शिया लडाकुलाई हतियार उपलब्ध गराएर पनि त्यहाँ रहेका सैनिक निशानामा आक्रमणका लागि प्रयोग गर्ने प्रशस्त सम्भावना छ ।

विश्वकै चौथो ठूलो तेल भण्डार इरान र विश्वकै महाशक्ति अमेरिका बिचको युद्ध वा तनावको असर भने सिंगो विश्वले भोग्नुपर्ने अवस्था भने नआउला भन्न सकिन्न ।

Leave A Reply

Your email address will not be published.