डोल्पा जिल्ला क्षेत्रफलको दृष्टिले नेपालकै सबैभन्दा ठूलो जिल्ला भए तापनि यो जिल्लाको जनसङ्ख्या भने ३६ हजारको हाराहारीमा मात्रै छ ।
विकासको मुख्य आधार मानिने सडक यातायातको सुविधा डोल्पासम्म पुगेको छैन । राज्यको विकट कर्णाली अञ्चलकै महाविकट डोल्पा जिल्लामा १५ श्ययाको एउटा जिल्ला अस्पताल, २१ वटा उपस्वास्थ्य चौकी र दुई वटा स्वास्थ्य चौकी रहेका छन् । भौतिक संरचनामा मात्र सीमित यी स्वास्थ्य संस्थाले नियमित स्वास्थ्य सेवा दिन नसकेको विषयमा जिल्लामा बेला बेला चर्चा परिचर्चा हुने गर्दछ ।
गाउँका स्वास्थ्य चौकी वर्षमा एक दिन पनि नखुलेपछि स्वास्थ्य उपचारका लागि तीन दिन पैदल हिँडेर सदरमुकामस्थित जिल्ला अस्पताल आउनुपर्ने बाध्यता उपल्लो डोल्पाली र तल्लो डोल्पाका केही गाविसका सर्वसाधारणले झेल्दै आएका छन् । वर्षमा एकपटक पनि कर्मचारी कार्यालय जाने गरेको नपाइएका जिल्लाको उत्तरी भेगका धो, छार्का, तिन्जे, मुकोट, साल्दाङ, फोक्सुन्दोलगायत गाविसमा रहेका स्वास्थ्य तथा उपस्वास्थ्यचौकी दिनानुदिन जीर्ण बन्दै गइरहेका छन् ।
वर्षमा एकपटक पनि कर्मचारी कार्यालयमा नपुग्ने गरेपछि कार्यालय कै अत्तोपत्तो छैन । गाउँघरमा नियमित लगाउनुपर्ने खोप पनि म्याद नाघेपछि चलाउने गरेको स्थानीयवासीले बताउने गरेका छन् । सामान्य स्वास्थ्य उपचारका लागि स्वास्थ्य चौकी पुग्दा जहिले पनि ताला लगाइएको हुन्छ ।
गाउँको उपस्वास्थ्य चौकीमा तीनजना कर्मचारीको दरबन्दी छ तर कर्मचारी कार्यालय मै नबस्ने भएपछि बिरामी परेका बेला उपचारका लागि तीन दिन हिँडेर सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको फोक्सुन्दो गाविसका स्थानीयवासी निमा लामाले बताउनुभयो । गाउँको नजिकै भनिएको स्वास्थ्य चौकीबाट बिरामी परेका बेला अहिलेसम्म एक ट्याबलेट सिटामोलसम्म नपाएको गुनासो उहाँले रासससँग गर्नुभयो । विद्यालय नजिकै अस्पताल भएपनि कर्मचारी स्वास्थ्य चौकीमा नबस्ने गरेपछि विद्यार्थी बिरामी परेका बेला सामान्य उपचारका लागि जिल्ला पु-याउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।
जनताका लागि राजनीति गर्छु भन्नेहरु सामान्य बिरामी पर्दा पनि उपचारका लागि देश बाहिर पुग्ने गर्छन् । यही मुलुकका कतिपय डोल्पाली भने सिटामोल नपाएरै मर्ने गरेको तितो यथार्थ रहेको स्थानीयवासी उमाकान्त न्यौपानेले बताउनुभयो । जिल्ला अस्पताल डोल्पामा राम्रो एक्स–रे मेसिन नभएकाले एक्स–रे, रगत परीक्षणलगायतका परीक्षणका लागि जिल्ला बाहिर नै जानुपर्ने बाध्यता रहेको छ ।
विगतमा गाविसमा प्रसूतिगृह नभएकै कारण एक महिलाको सुत्केरी भएको १० दिनमा र त्यसको केही दिनपछि बच्चाको पनि मृत्यु भएको घटनाको स्मरण गर्दै इलाका स्वास्थ्य चौकी लिकुका अहेब मेघराज बरालले भन्नुभयो – “अहिले गाविसमै प्रसूतिगृह भएकाले महिलालाई सफल प्रसूति गराउन सहज भएको छ ।”
त्यस्तै डोल्पा भौगोलिक रुपमा विकट भएकाले एक गाविसबाट अर्को गाविस जान एक दिनदेखि दुई दिनको समय व्यतित गर्नुपर्दछ । मुस्किलले गाउँगाउँबाट उपचारका लागि आएका सर्वसाधारण उपचारबिना नै फर्किने गरेका छन् ।
कहिले स्वास्थ्य चौकी नै नखुल्ने, खुले पनि जीवनजल, सिटामोललगायतका औषधि नै नपाइने गुनासो माझफालका स्थानीयवासीले गरेका छन् । डोल्पामा रहेका स्वास्थ्य तथा उपस्वास्थ्य चौकीको हालत पनि एकदमै दयनीय छ ।
जिल्लाका अधिकांश उपस्वास्थ्य चौकीमा वर्षांअघिदेखि ताला लगाइएकाले आफूलाई दुःख लागेको स्थानीय लोकेश खत्रीले बताउनुभयो ।
नेपाल सरकारले देशका विकट ग्रामीण बस्तीमा स्वास्थ्योपचारका लागि करोड लगानी गरे तापनि उचित प्रकारको अनुगमन तथा निरीक्षणको अभावले सरकारी लगानीको सही सदुपयोग नभएको समेत उहाँले बताउनुभयो । सदरमुकामदेखि नजिकै पर्ने भएर त्रिपुराकोट, लिकुका साथै जुफाल र दुनै गाविसमा रहेका स्वास्थ्य चौकी भने अरुभन्दा केही फरक छन् । ती स्वास्थ्य चौकीले थोरै भए पनि सर्वसाधारणलाई सेवा प्रदान गरिरहेको स्थानीयवासीले बताउने गरेका छन् ।
उपल्लो डोल्पामा सरकारी निकायको उपस्थिति भए नभएको पनि केही जानकारी नभएको उपल्लो डोल्पालीले बताएका छन् । डोल्पालीले यस्ता कर्मचारीलाई कारबाहीका लागि पटक–पटक गृह प्रशासनमा माग गरेपनि स्थानीय प्रशासनले कारबाही गर्ने नगरेको नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बूढाले बताउनुभयो । जिल्लामा आबद्ध विभिन्न राजनीतिक दलको ध्यान पनि यतातिर गएको छैन । ती नेता चुनाव आएपछि विभिन्न आश्वासन बाँड्दै जनताको घरदैलोमा भोट माग्न पुग्दछन् तर आफ्नो स्वार्थ पूरा भएपछि जनताको समस्या बुझ्न फर्केर आउँदैनन् । सम्बन्धित निकायले कार्यालय नजाने कर्मचारीलाई कारबाही गर्न खोजे पनि उल्टै उनीहरुले राजनीतिक संरक्षण पाउने प्रवृत्तिले गर्दा पनि कर्मचारी छाडा भएको उहाँको भनाइ छ ।
औषधि लिन दिनहँ नजिकैको स्वास्थ्य चौकी जाँदा औषधि छैन भन्ने मात्रै जवाफ पाउने गरेको र त्यहाँ म्याद नाघेका औषधिहरु राख्ने गरेको त्रिपुराकोट वडा नं ९ करेलीकाँडाका स्थानीयवासी रत्नमति बोहराको गुनासो छ । एक गर्भवती महिलाले नौ महिनामा २८० ट्याबलेट खानुपर्ने भनी स्वास्थ्यकर्मीले भने पनि आफूले नौ महिनामा पाँच चक्कीमात्र पाएको उहाँले बताउनुभयो । यहाँका अधिकांश स्वास्थ्य चौकी कार्यालय सहयोगीको भरमा चलिरहेका छन् भने केही स्वास्थ्य चौकीमा त कार्यालय सहयोगीले नै औषधि वितरण गर्ने गर्दछन् ।
डोल्पामा राम्रो सेवा दिइरहेको स्वास्थ्य चौकी स्वयम् पनि महिनामा केही दिन मात्रै खुल्ने गर्छ र खुले पनि दिनमा एक घन्टामात्र खुल्छ । डोल्पाको एकमात्र जिल्ला अस्पतालमा बिरामीका लागि १५ श्यया रहेको छ भने दुईवटा एमबिबिएस डाक्टरको दरबन्दी यहाँ रहेको छ । यस अस्पतालमा एकजना मात्र डाक्टर बस्छ ।
जिल्ला अस्पताल डोल्पामा कहिलेकाहीँ मात्र डाक्टर बस्ने गर्दछन् भने अधिकांश समय अस्पताल डाक्टरविहीन हुने गर्दछ । अस्पतालमा डाक्टर नभएपछि धेरैजसो बिरामीको स्वास्थ्य परीक्षण सिनियर अहेब वा अनमिले नै गर्ने गर्दछन् । अस्पताल परिसरको वातावरण पनि स्वच्छ नभएकाले उपचारका लागि पुगेका बिरामी उपचारको साटो आफैँ बिरामी भएर फर्कने गरेका छन् ।
अस्पताल व्यवस्थापनका लागि बर्सेनि लाखौँ रुपैयाँको बजेट आउने गर्छ तर यसको सही सदुपयोग हुन सकेको छैन । लाखौँ मूल्य तिरेर उपचारका लागि ल्याइएका एक्स–रे लगायतका मेसिन जिल्ला अस्पतालमा बेवारिसे रुपमा फालिएका छन् ।
जिल्ला अस्पताल तथा डोल्पाका सबै स्वास्थ्य चौकीमा औषधि ढुवानीको जिम्मा पाएका ठेकेदारले समयमै औषधि नपु-याउँदा पटक–पटक औषधिको अभाव हुने गरेको छ । स्वास्थ्य प्रमुख र ठेकेदारको मिलेमतोले गर्दा औषधि ढुवानीमा ढिलाइ हुने र म्याद गुज्रन लागेको औषधिमात्र डोल्पा आइपुग्ने स्थानीय जनताको गुनासो छ । जिल्ला अस्पतालको हालत त यस्तो छ भने सदरमुकाम दुनैदेखि ७०-८० कोस टाढा पर्ने स्वास्थ्य चौकीको अवस्था कति सोचनीय होला ? अनुमान लगाउन सकिन्छ ।
केन्द्रबाट समयमै औषधि नपठाई दिँदा गाविसमा औषधिको अभाव हुने गरेको त्रिपुराकोट गाविसका अहेब कविप्रसाद उपाध्यायले बताउनुभयो ।
स्वास्थ्य मुख्य जिम्मेवारी लिएर बसेको जनस्वास्थ्य कार्यालय डोल्पाका बैठक कोठामा लाखाँै रुपैयाँ मूल्य बराबरको म्याद गुज्रिएको औषधि थन्क्याइएको खुलासा भएको छ ।
गाउँघरमा नियमित स्वास्थ्य सेवा दिँदै आएपनि र तोकिएको समयमा घन्टौँ हिँडेर एक गाउँबाट अर्को गाउँमा गई भिटामिनलगायतका औषधि वितरणमा अहोरात्र खटिए पनि आफूहरुले समयमै पारिश्रमिक नपाएको गुनासो त्रिपुराकोट गाविसकी स्वयम्सेविका दुर्गा देवी न्यौपानेको छ । यसमाथि आफूहरुले गरेको श्रमको ज्याला थोरै भएपनि जिल्लाले पठाउने गरेपनि अहेबले बाटैमा खाइदिने उहाँ दुखेसो पोख्नुहुन्छ ।