बन्दीलाई रेडियो सेट

0

फलेवास (पर्वत), २९ असार । पर्वत जिल्ला कारागारका बन्दीले पहिलो पटक सञ्चार सामग्री पाएका छन् । बन्दी जीवन बिताइरहेकाहरु पनि सूचनाको पहुँचमा रहन पाउन् भन्ने उद्देश्यले विगत एक वर्षअघिदेखि सदरमुकाम कुश्माबजारबाट प्रसारण हुँदै आएको सामुदायिक रेडियो कुसुम ९० मेगाहर्जले आफ्नो प्रथम वार्षिकोत्सवका अवसरमा रेडियो सेट प्रदान गरेको हो ।
रेडियोको अभावमा बाह्य गतिविधिबाट विमुख बन्नुपरेको अवस्थालाई ध्यानमा राखेर रेडियोले पुरुष बन्दीगृह र महिला बन्दीगृहलाई छुट्टाछुट्टै एक-एक थान रेडियो प्रदान गरेको हो । रेडियोका स्टेसन म्यानेजर गणेश पौडेलले कारागारका चौकीदार मेजन सुनारलाई रेडियो सेट हस्तान्तरण गर्नुभएको थियो । सञ्चार सामग्रीको अभावमा सूचना र सञ्चारको पहुँचबाट टाढा रहनुपरेको अवस्थामा रेडियो कुसुमले सञ्चार सामग्री दिएर ठूलो गुन लगाएको भन्दै चौकीदार सुनारलगायतका कारागारका बन्दी हर्षित बनेका छन् ।
कुल २५ जनाको क्षमता रहेको यस कारागारमा अहिले ६५ बन्दी राखिएका छन् । रेडियो कुसुमले वार्षिकोत्सवकै अवसरमा पर्वत जिल्ला अस्पतालमा रहेका बिरामीलाई फलफूल र दूध वितरण पनि गरेको छ ।

Leave A Reply

Your email address will not be published.