अब मर्ने कि के गर्ने ?

0

काठमाण्डौं – रामविलास महतोले जीवनमै पहिलो पटक राजधानी काठमाडौं टेक्दा आँसुका बलिन्द्र धारा झार्नुपर्यो । उनी घुम्न या कुनै रहरले काठमाडौं आएका होइनन्, घरखेत नै लिलाम हुने अवस्था आएपछि आफ्नो पसिनाको मुल्यको अपहरण गर्नेलाई खोज्न आएका हुन् ।

महतो उखु खेती गर्ने किसान हुन् । बारीका उखु चिनी उद्योग हुँदै कहाँ कहाँ पुगीसक्यो, उनको पोल्टामा ५ रुपियाँ पनि परेको छैन । ऋण खोजेर न्यायका लागि काठमाडौं आएका उनी माइतीघर मण्डलामा भएको प्रदर्शनमा सरिक भए, आफ्नो पसिनाको मोल माग्दै ।

सर्लाहीका महतोले आँसु झार्दै भनेका छन्,‘मालिक भाग्यो, अब मर्ने कि के गर्ने रु’ सरकारले आफ्ना पीडा सुनेर भगौडा चिनी मिल सञ्चालकसँग भुक्तानी गराइदिए हुन्थ्यो भन्ने उनको अपेक्षाले काठमाडौंसम्म डोहोर्यायो ।

चिनी मिलमा धर्ना, अनशन बस्दा कतैबाट पनि सम्बोधन हुन नसकेपछि संघीय सरकारमार्फत आफ्ना अप्ठेरो अवस्थालाई सुल्झाउने काम हुन्छ कि भनेर उनीलगायतका ७ औं हजार किसान काठमाडौंमा छन् । महतोको झैं उनीहरूका पनि आँखा टिलपिल छन् । २७ लाखसम्मको भुक्तानी लिन बाँकी छ, एउटा किसानले ।

अन्नपूर्ण मिल, महालक्ष्मी मिलका सञ्चालकहरू ‘किसानमारा’ नियत राख्ने व्यक्ति हुन् । अति भएपछि सरकारको ध्यानाकर्षण गराउनका निम्ति पीडित काठमाडौं आएका हुन् । राजनीतिक दलमा पहुँच र पदमा रहेका सञ्चालकले प्रभावका आधारमा नै किसानलाई पीडा दिँदै आएको उनीहरूले सुनाएका छन् ।

यहाँसम्मकी संसदका समितिमा पनि आफ्ना पीडा सुनाएर न्यायको खोजी गरेका छन् । तर कृषिमन्त्री घनश्याम भुसालले उद्योग मन्त्रालयमार्फत पाएको जानकारीअनुसार मिल सञ्चालक सम्पर्कमा छैनन् भन्ने जवाफ दिए । खोजी गर्ने आश्वासन पनि दिएका छन् ।

अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवालले सर्लाहीका हज्जारौं किसानको रकम दिएका छैनन् । किसानलाई मर्कामा राख्ने अग्रवाल अहिले सम्पर्कमा पनि छैनन् ।

उखु किसानहरूले सरकार र उद्योगबाट तीन अर्ब भन्दा बढी भुक्तानी पाउन बाँकी छ । त्यसका लागि पनि घचघच्याउन आएको किसानहरूले सुनाएका छन् ।

त्यसो त राष्ट्रिय सभामा सत्ता पक्षका सांसदले किसानका मर्का बोले, प्रतिपक्षका तर्फबाट राजपा र संघीय समाजवादीका नेताले कुरा उठाए । मुख्य भनिएको प्रतिपक्षी कांग्रेसका कोही सांसदले यस विषयमा कुरा उठाएनन् । न नेताले उठाएका छन् ।

किसान ठगी गर्ने उद्योग महालक्ष्मी सुगर्सका सञ्चालक वीरेन्द्र कनोडिया नेपाली कांग्रेसमा प्रभाव जमाउने ठाउँमा रहेका छन् । प्रदेश ५ को कांग्रेस संसदीय दलका उपनेता समेत रहेका कनोडियाले मात्र २१ करोड भन्दा बढी रकम किसानलाई भुक्तानी गर्न बाँकी छ । अग्रवालबाहेक कनोडियासम्म सरकारको तत्काल पहुँच हुँदा उनलाई पक्राउ गरी भुक्तानी गराउन सक्ने आधार पनि रहेको कतिपयले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.