प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा र रावलबीच सामाजिक सञ्जालमा जब जुहारी चल्यो…

0

काठमाण्डौं – तत्कालीन एमालेका उपाध्यक्ष हुँदा पूर्वगृहमन्त्री भीम रावलको कम्ती चल्ती थिएन । जब पार्टी एकीकरण भयो उनलाई कमजोर बनाइयो । अध्यक्ष केपी शर्मा ओलीबाट नै उनी पेलिए । स्थायी समितिमा भए पनि रावललाई सचिवालयमा राखिएन ।

बरु रावलभन्दा जुनियर नेता रहेका विष्णु पौडेललाई महासचिव नै घोषणा गरियो । रावललाई जम्माजम्मी दिइयो, प्रदेश ७ को जिम्मेवारी । रावल यसै पनि सत्ताभित्रका प्रतिपक्षी नेता भनेर चिनिन्छन् । स्थायी समितिको बैठकमा पनि उनले सरकारले गरेका कतिपय निर्णयको आलोचना मात्र गरेनन् गर्नै नहुने भन्नेसम्मको आवाज उठाए ।

त्यसो हुँदा समस्या पर्ने भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घरमा बोलाएरै सम्झाए । तर, के सीप लाग्थ्यो । रावल परे हठ्ठी । तर, रावललाई ओली पक्षका नेताले चेपुवामा पार्ने, हुर्मत लिने गरी लेख्ने, सामाजिक सञ्जालदेखि पार्टीमा आलोचना गर्न कहाँ छाड्थे र ?

यस्तै भयो ओलीका प्रेस सल्लाहकार सूर्य थापा र रावलबीच घोचपेच भएको छ । थापाले प्रवक्ताले गर्नुपर्ने काम रावलले गरेको आरोप लगाउँदै फेसबुकमा यहाँ यो एउटा दृष्टान्त मात्र प्रस्तुत गरिएको हो । पार्टीका निर्णयहरु पार्टी प्रवक्तामार्फत सार्वजनिक गरिने वैधानिक र व्यवहारिक जिम्मेवारी, परम्परा र अभ्यास रहिआएको छ । कमरेड भीम रावल सुदूरपश्चिम प्रदेश समन्वय कमिटी ईन्चार्ज रहनुभएको छ ।

अनि प्रवक्ताको काममा यो के को अभ्यास हो ? देखिदिए । यसले नेकपामा नयाँ बहस बनायो । यतिमात्र होइन, सिनियर नेताका सन्दर्भमा प्रधानमन्त्रीका प्रेस सल्लाहकारको यस्तो सार्वजनिक विचार राख्नु कति स्वभाविक होला भन्ने तर्क पनि भयो ।

उनले त, कार्यविभाजनमा जिम्मेवारी प्राप्त व्यक्तिहरु हरेकले आ–आफ्नो परिभाषित काम र जिम्माको हेक्का राख्नुपर्दछ कि ? जबकि सुदूरपश्चिम प्रदेशमा अरुले यस्तै गर्दा कमरेडलाई कति सैह्य हुन्छ ? यो तरिका त उचित हुँदै भएन लेखेका छन् ।

ईश्वर पोखरेलका खास मान्छे भनेर चिनिने थापा यसअघि पनि प्रचण्डका बारेमा लेखेका कारण विवादमा नतानिएका होइनन् । उनैले थप लेखेका छन्, कार्यविभाजनबाट निधारित जिम्मेवारी कुण्डल र बुलाकीजस्तो हुने, अनि जो पनि प्रवक्ताजस्तो बनेर प्रस्तुत हुने अराजकता हावी हुन्छ । रावल पनि के कम ।

रावलका तर्फबाट गोविन्द दुवाल नामको एकाउन्टबाट, सूर्य थापाजीको ट्वीटबारे भीम रावल के भन्नु हुन्छ ? भन्दै राखिएको एउटा पर्चा रिट्विट् गरेका छन् । इन्डो–पेसिफिक एम्सीसी शीर्षकमा लेखक भीम रावल रहेको उक्त पर्चामा भनिएको छ ।

अछाममा एउटा प्रसिद्ध उखान छ, ताल खुसेको थापाउदिन पटुका गड्याउदि भन्ने प्रसिद्ध उखान छ । अर्थात् लुगा तल झरिसक्यो, कम्मरमा पटुका कसेर के गर्ने ? सूर्य थापाले मलाई सुदूरपश्चिमको इञ्चार्ज भएकोले संचार माध्यममा नबोल्न उपदेश दिनुभएको रहेछ ।

आफू प्रचार विभागको उपप्रमुख भएकोेले अबदेखि अरुले संचार माध्यममा बोल्न नहुने आदेश जारी गर्नु भएको रहेछ । मलाई जिम्मेवारीको उपदेश दिने घृष्टता गर्ने अधिकार सूर्यजीले कहाँबाट पाउनु भयो त भन्नेबारे भने उहाँले खुलाउन भएन, जनप्रहारमा उल्लेख छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार भएपछि पार्टी अध्यक्षकै हैसियत प्राप्त भएको भ्रम परेको दाबीसमेत रावलले गरेका छन् । अहिले यही विषयले नेकपा तातेको छ । माओवादी र एमाले मिले पनि थापा र रावलचाहिँ किन नमिलेका होलान् भन्ने ठट्यौली पूर्वमाओवादीले गर्न थालेका छन् ।

Leave A Reply

Your email address will not be published.