गाउँपालिका अध्यक्ष अपहरण, श्रीमती फेला

0

काठमाण्डौं – अज्ञात समुहले दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई अपहरण गरेको छ । उनकी श्रीमती इलालाई समेत अपहरण गरेका थिए । इलालाई भने अपहरणकारीले जंगलमा छोडिदिएका छन् ।

दुवैजना आइतबार बिहानपख ठाँटीकाँध गाउँपालिका वडानम्बर २ श्रीपाटामा रहेको घरबाटै अपहरणमा परेका थिए । गाउँपालिका अध्यक्ष शाही नेकपा जिल्ला कमिटी सदस्यसमेत हुन् भने उनकी श्रीमती इला नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष हुन् ।

दैलेख घर भएका नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले इलालाई अपहरणकारीले बीच जंगलमा छाडेको र धीरबहादुर शाहीलाई भुवानथानतिर लगेको जानकारी दिएका छन् ।

उनीहरुलाई अपहरणकारीले बिजारेको जंगल हुँदै कालीकोटतर्फ लगेको स्थानीय बताउँछन् । उनीहरुको खोजीका दैलेखका साथै सुर्खेत र कालिकोटका सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ ।

अपहरणमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको संलग्नता रहेको अनुमान छ । यसको पुष्टि भइसकेको छैन । अपहरणको कारण पनि खुलेको छैन । यसअघि गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीका भाइ हस्तबहादुर शाहीलाई विप्लव समूहले अपहरण गरेर छाडेको थियो ।
प्रहरीले भने यस बिषयमा अनभिज्ञता प्रकट गरेको छ । ‘हामीले सोधखोज गरिरहेका छौं, कस्ले किन अपहरण गर्यो, वा अपहरण हो वा के हो, बुझ्दैछौं,’ प्रहरी स्रोतले भन्यो ।

Leave A Reply

Your email address will not be published.