बालुवाटारमा ओली प्रचण्डबीच छलफल, संसदीय दलको बैठकमा ओली नजाने

0

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल जारी छ । पार्टी, दल र संसद् सदस्यहरूलाई निर्देशन दिनुपर्ने भएकाले दुई अध्यक्षबीच कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।

“शुक्रबार दिउँसो २ बजे संसदीय दलको बैठक बस्दैछ । संसदीय दलको बैठकमा सांसदहरूलाई दिने निर्देशनका विषयमा दुई अध्यक्षबीच कुराकानी भएको हो । स्थायी कमिटीको बैठकमा अध्यक्षले निष्कर्ष दिन बाँकी छ । त्यही विषयमा उहाँहरूबीच भेट, छलफल भएको हो,” प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।

एपेन्डिसाइटिसको शल्यक्रियापछि पार्टी काममा त्यति सक्रिय नभएका अध्यक्ष ओली संसदीय दलको बैठकमा पनि उपस्थित हुने छैनन् । पार्टी स्थायी कमिटीको बैठकमा पनि ओली गएका छैनन् । “संसदीय दलको बैठकमा प्रधानमन्त्री उपस्थित हुनुहुन्न,” प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री उपस्थित नहुने भएपछि प्रचण्डले नै पार्टीका तर्फबाट सांसदहरूलाई निर्देशन दिनेछन् । भेटमा सभामुख चयनका विषयमा पनि प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्डबीच कुराकानी भएको सचिवालय सदस्य बताउँछन् । सभामुखबारे दुई अध्यक्षबीच टुङ्गो नलागे पनि केही दिनमै त्यसलाई टुङ्ग्याउने गरी छलफल अगाडि बढेको सचिवालयको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.