सभामुखमा नेम्वाङ र सापकोटाको रस्साकस्सी, कसले मार्ला बाजी ?

0

काठमाण्डौं – आगामी शुक्रबार अपरान्ह संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ । अधिवेशनको मिती नजिकिएसँगै रिक्त रहेको संघीय संसदको सभामुखको दौड पनि सुरु भएको छ ।

संसदमा पूर्ण बहुमत रहेको सत्तारूढ नेकपाको स्थायी कमिटी बैठक पनि लगातार चलिरहेको छ । संविधानत सभामुख र उपसभामुख सत्तारूढ नेकपाले राख्न मिल्ने अवस्था पनि छैन । उपसभामुख अन्य दललाई सुम्पेर सत्तारूढ नेकपा सभामुख आफैंसँग राख्ने योजनामा छ ।

अहिले उपसभामुख रहेकी डा. शिबमाया तुम्वाहाङफेलाई राजिनामा गराउने प्रधानमन्त्रीको योजना पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन । योसँगै सभामुख पदको लागि अग्रपंक्तिमा नेकपाका २ नेताहरू संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटा रहेका छन् ।

अहिलेसम्म नेकपाको स्थायी कमिटीमा सभामुख नियुक्ति कुराले औपचारिक प्रवेश नपाएपनि सभामुख पदका लागि दौडधुप भने सुरु भएको छ । सभामुखको दौडमा रहेका नेकपाका स्थायी कमिटी सदस्य सापकोटाले अनलाइनपानासँगको कुराकानीमा भने ‘अहिलेसम्म पार्टीमा सभामुख पदको विषयलाई लिएर कुनै चर्चा वा छलफल भएकै छैन । बाहिर आएका विषयवस्तु फगत हल्ला मात्रै हुन् । विषयले औपचारिक रूपमा बैठकमा प्रवेश पाएपछि मात्रै यसै भन्न सकिन्छ ।’

नेकपाको जारी स्थायी कमिटी बैठकमा सदस्यहरुले सभामुख चयन प्रक्रियालाई नलम्ब्याउन नेताहरुको ध्यानाकर्षण गराएपनी नेताहरुले भने अहिलेसम्म औपचारिक रुपमा मुख नखोलेपनी आ–आफ्नो पक्षबाट सभामुख बनाउनको लागि दौड भने सुरु भइसकेको छ । यसको लागि खुमलटार र बालुवाटार निकै सक्रिय रहेको स्रोतले दावी र्गयो ।

पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना बिश्वासप्राप्त संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङलाई सभामुख बनाउने योजनामा अडिग छन् भने पार्टीका पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डको जोड भने आफ्ना विश्वासप्राप्त नेता सापकोटालाई जुनसुकै हालतमा सभामुख बनाइछाड्ने योजनामा छन् । यसकै तयारीस्वरुप सोमबार प्रचण्ड निवास खुमलटारमा प्रचण्डकै अग्रसरतामा पूर्वमाओवादी केन्द्र पक्षको गोप्य बैठक समेत बसेको थियो ।

यसै विषयमा सभामुखका अर्का दावेदार संसदीय दलका उपनेता नेम्वाङसँग प्रतिक्रिया लिने अनलाइनपानाको प्रयास भने सफल हुन सकेन । अनलाइनपानासँग खुलेर कुराकानी गरेका नेता सापकोटाले भने भोलिसम्म नेकपाको स्थायी कमिटी बैठकमा यो विषयले पनि प्रवेश पाउने दावी गर्दै स्थायी कमिटीको बैठकले स्पष्ट पार्ने उनको भनाई छ । स्थायी कमिटीको बैठकको निर्णय उपसभामुखले पनि स्वीकार गर्ने उनको संकेत थियो ।

उता प्रधानमन्त्रीसहितको पूर्वएमाले समूह भने कुनै मूल्यमा सभामुख पद गुमाउन नहुने दाउमा छ । यसका लागि संसदीय दलको उपनेतामा पूर्वमाओवादी केन्द्र पक्षका नेतालाई नियुक्त गर्न समेत प्रधानमन्त्री ओली एवं पूर्वएमाले पक्ष तयार छ ।

अर्कोतिर पूर्वएमाले पक्षले सभामुख नपाउने परिस्थितिमा भने वर्तमान उपसभामुख तुम्बाहाङफेलाई नै सभामुख बनाउन ओली पक्षकै केही नेताले प्रधानमन्त्री ओलीलाई सुझाव दिइरहको छन् ।

संसद सचिवालयमा कार्यरत कर्मचारीलाई बलात्कार प्रयासको मुद्दामा कारागार चलान भएका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि सरकारलाई सहयोग नगरेको आरोप लगाइरहेका प्रधानमन्त्री ओली भने कसरी आफ्ना विश्वासपात्रलाई ल्याउन सकिन्छ भनेर रणनीति बनाउन व्यस्त रहेको स्रोतले जनाएको छ ।

उता नेकपामा माधव नेपाल समूह भने कुनैपनि मुल्यमा हातमा आउन तैयार सभामुख पद छाड्न नहुने निष्कर्षमा पुगेको छ । उपसभामुख तुम्बाहाम्फेलाई राजिनामा नदिनको लागि दबाब दिइरहेको यो समूह भने उपसभामुखले कुनै हालतमा राजिनामा नदिने र अन्त्यमा ओली र प्रचण्ड दुबै समुह सभामुखको लागि लडे पनि आफ्नो सहमति बिना सभामुख हुन नसक्ने भन्दै प्रधानमन्त्री ओलीलाई तुम्बाहाङफेलाई नै निरन्तरता दिनको लागि दबाब दिन लागिपरेको बताइन्छ ।

Leave A Reply

Your email address will not be published.