‘सुतेकाे सरकारले सुखी र विकासको नारा दिएर भ्रम छर्याे’

0

काठमाण्डौं – कांग्रेस नेतृ डा. डिला संग्रौलाले सरकारले हरेक क्षेत्रमा भ्रस्टाचारीलाई संरक्षण गरेको बताएकी छन् ।

मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सांसद डा. संग्रौलाले मुलुकमा हरेक दिन सडक दुर्घटनामा सर्वसाधारणको ज्यान जाँदा समेत सरकार नतमस्तक बनेको बताउँदै उनले सरकारको चर्को आलोचना गरिन् ।

‘सरकारले कानमा तेल राखेर सुतेको छ’ उनले भनिन्, ‘निद्रामा परेको सरकारले सुखी नेपाली र समृद्ध नेपालको नारा दिएर जनतामा निराश फैलाउने र नागरिकमा भ्रम छर्ने काम गरिराखेकोे छ ।’ सरकारले अगाडि सारेको नाराले व्यवहारमा हास्यास्पद तुल्याएको उनको धारणा छ ।

आगामी ४ गतेदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनमा श्रम तथा वैदेशिक रोजगार क्षेत्रमा व्याप्त अव्यवस्था, अनियमतिता र शोषण अन्त्य गर्न आफूले आवाज उठाउने जानकारी समेत दिएकी छिन् ।

विज्ञप्तिमार्फत वैदेशिक रोजगार, सामाजिक सुरक्षा तथा प्रधानमन्त्री रोजगार कार्यक्रमको वर्तमान अवस्थाबारे तत्काल जानकारी गराउन सरकारसँग सांसद् संग्रौलाले माग समेत गरेकी छिन् । यस क्षेत्रका समस्याहरूको पहिचान गरी अल्पकालीन तथा दीर्घकालीन समाधानका कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ ।

वैदेशिक रोजगारी, सामाजिक सुरक्षा कोष र आन्तरिक श्रमका क्षेत्रमा देखिएका समस्या र समाधानको लागि सरकारले प्रभावकारी काम गर्नुपर्ने पत्रकार सम्मेलनमा वितरित दुई पृष्ठ लामाे प्रेस विज्ञप्तिमा औल्याएकी छन् ।

विशेष गरेर श्रम गन्तव्य मुलुकसँग विभिन्न सम्झौता तथा सहमती गरेपनि कार्यान्वयन हुन नसकेको, मलेशिया जाने कामदारसँग शुल्क लिएको, जापानसँग नेपाली कामदार पठाउन सम्झौ गरेपनि अझै नेपाली कामदारको रूपमा जापान जान नपाएको, युएइसँग भएको शून्य लागतको सम्झौताको अवस्थाबारे संसदमार्फत सरकारको जवाफ माग्ने उनले बताइन् ।

सामाजिक सुरक्षा कोषमा धेरैभन्दा धेरै रोजगारदाता (प्रतिष्ठान)लाई सहभागी गराउने योजना, रोजगारदाता र श्रमिकलाई उक्त योजनामा ल्याउन नसक्नुको कारण बारे पनि सरकारले जवाफ दिनुपर्ने उनको माग छ । स्वदेशमै रोजगारी सृजना गरी वैदेशिक रोजगारीलाई अन्त्य गर्ने योजनासहित आएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ले आर्थिक वर्षको मध्यसम्ममा पनि रोजगारी सिर्जना गर्न नसकेको उनको जिकिर छ ।

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ फोटो खिचाउने बाहेक कुनै काम नभएको बताउँदै कार्यक्रममा प्रदेश तथा स्थानीय सरकारको जिम्मेवारी र भूमिका स्पष्ट पार्नुपर्ने सांसद संग्रौलाको भनाई छ ।

Leave A Reply

Your email address will not be published.