‘कालापानी जाऔं’ अभियान सञ्चालन गर्ने

0

काठमाण्डौं – मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले भारतीय सरकारले नेपाली भूमिमाथि अतिक्रमण गरेको विरोधमा ‘कालापानी जाऔं’ अभियान चलाउने भएको छ ।

यही मंसिर २६–२९ सम्म बसेको पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकले सीमामा भारतीय हस्तक्षेपविरुद्ध चरवद्ध संघर्ष गर्ने निर्णय लिएको पार्टीले जनाएको छ ।

महासचिव किरणले पूर्ण बैठकबाट लिएका ८ बुँदे निर्णय सार्वजनिक आइतबार प्रेस विज्ञप्तिमार्फत गरेका छन् । वर्तमान कम्युनिस्ट नामधारी सरकार राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्या समाधान गर्न असफल भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

महासचिव किरणद्वारा वर्तमान राजनीतिक परिस्थिति, पार्टी कामको समीक्षा र आगामी कामको रुपरेखाबारे उल्लेखित राजनीतिक प्रतिवेदनमाथि परिमार्जनसहित सर्वसम्मत पारित भएको जनाउँदै संगठन र संघर्र्षका क्षेत्रमा कतिपय सीमा, समस्या र कमी कमजोरी रहेपनि पार्टी काममा प्रगति हुँदै गएको विज्ञप्तिमा जनाइएको छ ।

भारतीय सरकारबाट आफ्नो नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपाली भू–भागलाई भारतमा गाभिएर परिस्थितिलाई गम्भीर तुल्याएको औल्याउँदै राष्ट्रिय स्वाधीनता र पहिचान सहितको संघीयतालगायत उत्पीडित वर्ग र जनतन्त्र तथा जनजीविकाका समस्यालाई लिएर एकल सङघर्ष गर्ने, आवश्यक अनुसा मिल्ने पक्षसित कार्यगत एकता वा संयुक्त मोर्चा गर्ने निर्णय लिएको जनाइएको छ ।
पुस महिनाभर अन्तरक्रिया, कार्यगत एकताका लागि छलफल चलाउने, माघ महिनामा संयुक्त मोर्चा र जबस मोर्चासहित शहरहरुमा विरोध प्रदर्शन तथा तेस्रो चरणमा देशभक्त जनतान्त्रिक मोर्चा (देजमो) र जबस मोर्चाहरुको संयुक्त पहलमा ‘कालापानी जाऔं’ अभियान चलाउने निर्णय लिएको जनाइएको छ ।

त्यस्तै विकसित पुँजीवादी देशहरुमा पनि संयुक्त राज्य अमेरिकाले गरिरहेको अनियन्त्रित हरित ग्यास उत्सर्जनका कारण विश्वभर पैदा भएको वातावरणीय असन्तुलन र त्यसले निम्त्याउने खतराबारे जनतालाई सूचित गराउने र त्यसविरुद्ध आवाज उठाउने भएको छ ।

Leave A Reply

Your email address will not be published.