वामदेवलाई उपाध्यक्ष बनाउन विधान संशोधनको तयारीपछि नेकपाभित्र विवाद

0

काठमाण्डौं – निकै लामो रस्साकस्सीपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले पूर्वएमालेका उपाध्यक्ष समेत रहेका नेता वामदेव गौतमलाई उपाध्यक्ष बनाउने अन्तिम तयारी गरिएको र विधान संशोधनको लागि स्थायी समितिमा प्रस्ताव पेश गर्ने तयारी गरिएको छ ।

झण्डै एक वर्षपछि बस्न लागेको स्थायी कमिटी बैठक बस्न लागेको छ । आगामी २९ मंसिरमा तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए । सोमबार बसेको नेकपा सचिवालय बैठकले विधान संशोधनको लागि स्थायी कमिटीको बैठकमा प्रस्ताव पेश गर्ने निर्णय गरेसँगै नेकपाभित्र नयाँ विवाद सतहमा आएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत साउनमै वामदेवलाई उपाध्यक्ष बनाउने प्रस्ताव गरेपनि आजसम्म त्यो विषयले औपचारिकता पाउन सकेको छैन । यसअघि पार्टीको विधानमै नभएको पद सिर्जना गरेर गौतमलाई उपाध्यक्ष बनाउन खोजिएको भन्दै नेकपाभित्रैबाट आलोचना भएपछि वामदेवको उपाध्यक्ष बन्ने चाहना पनि अधुरै रहेको थियो ।

वामदेवलाई उपाध्यक्ष बनाउने विषयमा प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल सकारात्मक भएपनि पूर्व माओवादी केन्द्र (माके) समूह र माधवकुमार नेपाल समूहको भने असहमति रहेको कुरा सार्वजनिक रुपमै सुनिन थालेको छ ।

स्थायी कमिटी बैठकमा उक्त प्रस्ताव पुगेसँगै अहिलेसम्म ६०/४० कै भागबन्डामा अल्झिएको नेकपाबाट पूर्वएमाले समूहबाट मात्रै उपाध्यक्ष बनाउन खोजिएको भन्दै असन्तुष्टी चुलिएको छ । भने अर्कोतिर पूर्वएमाले समूहको माधव नेपाल समूह पनि भिम रावललाई उपाध्यक्ष बनाउने दाउमा रहेकाले स्थायी कमिटीमा विधान संशोधनको प्रस्ताव पुगेसँगै नयाँ विवादको बिजारोपण हुने पक्का छ ।

रिक्त रहेको सभामुख पदमा पनि पूर्वएमाले समूहबाटै नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई बनाउने चर्चा चलेसँगै एकताको भावना बिपरीत पार्टी र शिर्ष नेतृत्व चल्न थालेको पूर्वमाके नेताहरुको बुझाई छ । आफुहरुले पाउनुपर्ने सभामुख पद पनि पूर्वएमाले पक्षले पाउने र उपाध्यक्ष पनि त्यही पक्षले पाउने हो भने सहमतिमै राजनैतिक नियुक्ति एकताको भावना विपरीत भएको पूर्वमाओवादी नेताहरुको बुझाई छ ।

कार्यकारी अधिकारसहितको अध्यक्षको मोहमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले आफूहरूको पक्षमा लविङ गर्न नसकेको पूर्वमाके नेताहरुको मत छ । त्यो पक्षबाट उपाध्यक्षका स्वभाविक दाबेदार पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले मुख नखोले पनि सभामुख बन्न लालायित रहेको कुरा पूर्वमाके पक्षधर नेता अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, ओनसरी घर्ती लगायले तिब्र असन्तुष्टी राखेको खबर बाहिरिएको थियो ।

वामदेवलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी कमिटीमा प्रवेश गरेसँगै एक बर्षदेखी गुम्सीएर बसेका विवादहरु सतहमा आउने सम्भावना देखिएको छ । खासगरी पुर्व एमाले समुहबाट पार्टी एकता बिरोधी अभिव्यक्ति आईरहेको भन्दै पूर्वमाके पक्षधर नेताहरु असन्तुष्ट मात्रै नभएर प्रतिरोधकै तहमा उत्रिएको अवस्था छ ।

वामदेवलाई उपाध्यक्ष बनाउन बिधान संशोधनको प्रस्ताव पेश गरेसँगै नेकपाभित्रको शक्ति संघर्षको अवस्था कस्तो हुनेछ भनेर २९ मंसिरसम्म भने कुर्नुको विकल्प देखिंदैन ।

Leave A Reply

Your email address will not be published.