कोहलपुरका डीएसपी शाही हटाइएसँगै निषेधाज्ञा पनि हट्यो

0

काठमाण्डौं – बाँकेको कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीलाई हटाइएको छ । उपरीक्षक शाही हटेसँगै जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुरमा लगाइएको निषेधाज्ञा मंगलबारबाट हटेको छ ।

आइतबार बिहान नौ बजे कोहलपुर–६ मा ट्रकको ठक्करबाट स्थानीय त्रिभुवन नमूना माध्यमिक विद्यालयी छात्रा १२ वर्षीय प्रगति चन्द घाइते भएपछि आक्रोशित विद्यार्थी र स्थानीयले गरेको विरोध प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली हानेर दर्जन विद्यार्थीलाई घाइते बनाएको थियो ।

त्यसपछि स्थिति झनै तनावपूर्ण बन्दै उग्र बनेपछि स्थानीय प्रशासनले त्यसक्षेत्रमा निषेधाज्ञा लगाएको थियो । त्यसयता चलेको सर्वपक्षीय वार्तापछि सोमबार साँझ अबेर सहमति जुटेको थियो । सहमतिले ईप्रका प्रमुख डीएसपी शाहीलाई त्यहाँबाट हटाउने भएको थियो ।
सोही अनुरुप शाहीलाई मंगलबार नै त्यहाँबाट हटाएर नयाँ डीएसपी पठाइएको छ । शाहीलाई जिल्ला प्रहरी कार्यालय बाँकेको कार्यालयमा तानिएका छन् । बाँकेमा कार्यरत नायब उपरिक्षक शिवबहादुर सिंहलाई कोहलपुर इप्रकामा पठाइएको छ ।

यसअघि पनि तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कासँग दसैंका मनाउन खसी मागेको अडियो सार्वजनिक भएपछि उपरिक्षक शाही विवादित बन्दै आएका छन् । अडियोमाथि छानबिन गर्न दुई वटा समिति समेत गठन गरिएकाे थियाे ।

Leave A Reply

Your email address will not be published.