कोहलपुरमा स्कूले विद्यार्थीमाथि गोली हान्ने प्रहरीलाई कारवाही गर्न कांग्रेसको माग

0

काठमाण्डौं – बाँकेको कोहलपुरमा आइतबार बिहान ना २ ख ९४५९ नम्बरको ट्रकले ठक्कर दिँदा घाइते भएकी स्थानीय त्रिभुवन उच्च माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत प्रगति चन्दको उपचार र चालकलाई कार्वा्हिको माग गर्दै सडक प्रदर्शनमा उत्रिएका विद्यालयका विद्यार्थी, अभिभावक र स्थानीय माथी प्रहरीले गोली प्रहार गरेको घटनाप्रति कांग्रेसले कडा शब्दमा निन्दा र भत्सर्ना गरेको छ ।

घटनाका दोषीलाई कारवाही गर्नुको सट्टा प्रहरी प्रशासन पीडित पक्षको न्यायका लागि सडकमा निस्कदाँ प्रहरीले बल प्रयोग गरी गोली हानेर अमानवीय चरित्र देखाएको कांग्रेसको ठहर छ ।

कांग्रेस पार्टीको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार बेलुकी एक प्रेस विज्ञप्ती जारी गर्दै बाँके घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै छात्रालाई ठक्कर दिएर सख्त घाइते बनाउने ट्रक चालकलाई कारवाही गर्ने र घाइतेको उपचार तथा जीवन रक्षाको ग्यारेन्टी गराउनुपर्ने बेला आवाज उठाउनेहरुमाथि बर्बर दमन र गोली हान्नु अमानवीयताको पराकाष्ठा भएको बताएका छन् ।


गोली हान्ने र हान्न आदेश दिनेलाई तत्काल नियन्त्रणमा लिई अनुसन्धान गर्न र कानूनबमोजिम कारवाही गर्न विज्ञप्तिमार्फत माग गरेका छन् । साथै गोली लागेर घाइते भएका सम्पूर्णको उपचारमा कमी आउन नदिन सरकारसँग माग गरेको छ । घाईतेहरुको शीघ्र स्वास्थ लाभको कामना गरिएको छ ।

यस्तै कांग्रेस नेतृ एवं सांसद डा. डिला संग्रौला पन्तले बाँके घटनाको कडा शब्दमा भत्सर्ना गर्दै गोली प्रहार घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कार्वाही गर्न माग गरेकी छन् ।

घाइतेको उपचार र न्यायको लागि आवाज उठाउने स्कूले बालबालिकाहरुमाथि सरकारले हतियारसहित प्रहरी लगाएर बल प्रयोग गर्नु निन्दनीय र भत्सर्नायोग्य भएको बताइन् ।

घाईतेको उद्धार, उपचार र घटनाका दोषीलाई कारवाही नगरेर उन्मुक्ति दिने हर्कत सरकारले देखाएमा कांग्रेस कडा रुपमा प्रस्तुत हुने उनले चेतावनी दिइन् । प्रहरी प्रशासनसँग मानवीयता हराएको कुरा घटनाले देखाइदिएको अनलाइपानासँगको कुराकानीमा सांसद डा. संग्रौलाले बताइन् ।

सहपाठी गम्भीर घाइते भएपछि दोषीलाई कारवाहीको माग गर्दै विद्यालयका विद्यार्थी सडकमा निस्किएका थिए । सोही क्रममा प्रहरीले गोली चलाउँदा विद्यार्थी सुशिल थापा, नारायण खत्री सख्त घाइते भएका छन् भने रबरको गोली लागेर दर्जनौं विद्यार्थी घाइते भएका छन् ।

Leave A Reply

Your email address will not be published.