अनि म कसरी सागको समर्थन गरौं सरकार ?

0

तुलसी नेपाल – यतिबेला राजधानी काठमाडौ सहित पूरा देश दक्षिण एशियाली खेलकुद (साग) को आयोजनामा व्यक्त छ । खेलाडी, खेलमैदान दर्शक अनि आम जनता आफ्नै आँगनमा आयोजित खेलको भरपुर मजा उठाउन ब्यस्त छन् । अनि म अमिलो मन लिएर भित्तामा राखीएको टेलिभिजनको स्किनमा खेल नियाल्दै छु । अनि बेलाबेलामा आफ्नो मोबाइल तिर पनि नजर दौडाउँदै छु ।

म अर्थात् एक खेल प्रेमी युवा दिनभरको कामको ब्यस्तता रातभरको निन्द्राको पर्वाह नगरी एल क्लासीको, म्याड्रीड डर्वी वा लण्डन डर्बी मात्रै होइन च्याम्पियन्स लिग देखि युरोकप वा ओलम्पिकक सम्म नछुटाउने मेरो नजरले मेरो आँगनमा हुन लागेको साग कसरी छुटाउन सक्छ होला । तर मेरो आफ्नै मातृभुमीमा आयोजित सागले पटकपटक मेरो मस्तिष्कलाई सोच्न बाध्य बनाउँछ म यो सागको समर्थन कसरी गरौं ।

४० भन्दा बढी पदक जितेर खेलाडीहरुले देशको नाम उच्च पारिरहेका छन् । मार्सल आर्टका खेलहरुमा त मेरो देश यतिबेला दक्षिण एशियाको बाघ बनेर देखा परिरहेको छ । ट्रायाथलन, डुवाथलन लगायतका खेलहरुको प्रदर्शनपनि लोभलाग्दो नै छ । महिला भलिबलवा हातमै आईपुगेको स्वर्ण पदक गुमेको कुरा पनि मलाई राम्रोसँग याद छ । खेलाडीको उत्कृष्ट प्रदर्शन र पदक तालिकामा शिर्ष स्थानमा हुनका बाबजुद पनि म यो सागलाई समर्थन गर्न भने सकिरहेको छैन ।

यसका केही ठोस कारण छन् । पहिलो त साग आयोजना गर्दा आयोजकले उच्चस्तरीय समितिमा रहने मन्त्री देखि राखेपका पदाधिकारी सहित सबैलाई दौरा, सुरुवाल र कोट मात्रै होइन जुत्ता समेत सिलाउने ब्यबस्था गर्नुभयो । त्यो सार्‍है सर्‍हानिय काम हो । तर उद्घाटन सत्रको मार्चपासका क्रममा मेरा देशका क्रीकेट खेलाडिले ट्याकसुटमा मार्चपास गर्नुपरेको दृश्य मेरा आँखा अगाडि दौडिरहेको देख्दा देख्दा देख्दै म सागको कसरी समर्थन गरौं सरकार, स्वर्ण पदक बिजेता ट्रायाथलन र डुवाथलनका खेलाडीले प्रतियोगिता जित्न भन्दा पनि साईकलको टायर पमचट हुन्छ कि भनेर मेरा देशका खेलाडीको पदक जितेपछिको अभिव्यक्ति सुन्दा सुन्दै म सागको कसरी समर्थन गरौं सरकार ? के मेरो देशका मन्त्रीहरु एक जोर राष्ट्रिय पोशाक आफैं सिलाएर लाउन सक्ने आर्थिक अवस्था थिएन भनेर बुझ्नुपर्‍यो । डुवाथलनमा स्वर्ण पदक बिजेता खेलाडीले थोत्रो साईकल मात्रै चढ्नु परेन अपितु आयोजकले उनलाई उपलब्ध गराएको ड्रेस समेत ठिक नहुँदा मागेर लगाएको ड्रेसले पदक दिलाउँदा तपाईहरुलाई लज्जाबोध भएन ? दौरासुरुवालको नाप लिन मन्त्रीको कार्यकक्ष अगाडि घण्टौ उभिनेहरुले के मेरा देशका खेलाडीहरुको अगाडि उभिने समय नपाएको कुरा देख्दा देख्दै यो सागको म समर्थन कसरी गरौं सरकार ?

सार्वजनिक जिवनमा कहिल्यै दौरासुरुवाल नलगाएका हाम्रा सालिन गृहमन्त्री राम ब. थापा दौरासुरुवालमा ठाँटिएर उद्घाटन समारोहमा सहभागी हुँदा मलाई रमाईलो नै लाग्यो तर पछि मेरा देशका खेलाडीको सेवा सुबिधा काटेर लगाईएको त्यो दौरासुरुवाल देख्दा देख्दै म कसरी सागको समर्थन गर्न सक्छु सरकार ? मेरो आपत्ती तपाईहरुले लगाउनु भएको सेतो रङको दौरासुरुवाल, कालो टोपी, कालो जुत्ता मा होईन तर मेरा देशका खेलाडीको नाममा तपाईहरुले गर्नुभएको देख्दा तपाईहरुको नियत माथी प्रश्न गर्नै पर्ने बाध्यता आईलागेको मात्रै हो । तपाईहरुमध्य एक जनाले मात्रै दौरासुरुवाल र कालो कोट, कालै टोपी र कालो जुत्ता नलगाईदिनु भएको भए मेरा देशका एक जना खेलाडीले आफ्ना खेल सामाग्री र पोशाकको जोहो हुन सक्थ्यो भन्ने जान्दाजान्दै म यो सागको कसरी समर्थन गरौं सरकार ?

पुर्व निर्धारित समयमा साग आयोजना हुन नसकेर पटकपटक मिती सर्दै आयोजना भएको सागलाई हाम्रो छिमेकी भारतले त्यति महत्व दिएन, फुटबलमा सहभागी केही देशले फुटबलको खेल तालिका प्रती सार्वजनिक आपत्ति नै जनाए । सागको लागि अन्य देशसँग सहि कोअर्डिनेशन गर्न नसक्ने अनि ब्यबस्थापकिय रुपमा अस्तब्यस्त भएको यो सागलाई म कसरी समर्थन गरौं सरकार ? आखिर भारतलाई हराउँदै नेपाली फुटबल टिमले जितेको स्वर्णको महत्त्व कति थियो भन्ने कुरा नाकाबन्दीको समयमा भारतमा नेपाली फुटबल टिमको जितको उत्साह काठमाण्डौंको हर गल्लीमा भएको उत्साह यसपटक नहुने जान्दाजान्दै म यो सागको कसरी समर्थन गरौं सरकार ?

र अन्त्यमा, आफ्नो देशमा खेल्न योग्य एउटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला तैयार नभएर भुटानमा घरेलु खेल खेल्नुपरेको जान्दाजान्दै साग आयोजनाको नाममा ४० भन्दा धेरै भिभिआईपीको लत्ताकपडामा मेरो कर खर्चिएको देख्दा, बर्षौ पुरानो एयर राइफल लिएर सुटिङमा सहभागी मेरा खेलाडीको अवस्था, बिग्रीएको थोत्रो साईकल र मागेको ड्रेस लगाएर संवरण जितेको देख्दा देख्दै मेरो मनले यो सागलाई समर्थन गर्न सकेन सरकार, रिसानी माफ रहोस् ।

Leave A Reply

Your email address will not be published.